मेरी आमा

जब खगेन्द्र संग्रौलाले आमाको काजकिरिया गरेनन्

person explore access_timeभदौ ८, २०७९ chat_bubble_outline0

श्रीमती जमुना गुरुङसहित खगेन्द्र संग्रौला पहिलोपटक छोरी काखमा बोकेर आमाको हातको टीका थाप्न गए, मोरङको रञ्जनीमा । त्यहाँ संग्रौलाका दाइ र भाइको घर थियो । परिवार र समाजको स्वीकृतिबिना अन्तर्जातीय विवाह गरेका संग्रौलालाई एउटै चिन्ता थियो– आफ्नो विवाहलाई लिएर आमाले कस्तो प्रतिक्रिया गर्ने हुन् ? 


गोडा ढोग्ने चलन अनुसार खगेन्द्रपछि जमुनाले आमालाई ढोगिन् । भावमुद्रा हेर्दा आमाले असहज मानेको देखिएन । खगेन्द्रको मनमा अझै सन्देह थियो– भान्सामा आमाले के पो गर्ने हुन् ! बुहारीलाई अलग्गै राखेर खान दिने हुन् कि ! आमाले त्यसो गरे जमुनाले के सोच्लिन् ! 



साँझको खाना खाँदा भान्सामा आमाले बुहारीलाई कुनै विभेद गरिनन् । बाहुन छोरो र गुरुङ बुहारीले सँगै बसेर आमाका अगाडि खाना खाए । सामान्य किसिमले दसैं बित्यो । 



पछि खगेन्द्रकी आमा छोरा–बुहारी र नाति–नातिनी भेट्न काठमाडौं आइन् । त्यतिबेला खगेन्द्र दम्पती काठमाडौंको हाँडीगाउँमा बहिनी पर्ने देवी ओलीको घरमा डेरा गरी बस्थे । आमा आउनेबित्तिकै खगेन्द्रको मनमा अनेक आँधी उर्लन थाले । बुहारीले पकाएको आमाले खाने हुन् कि होइनन् ! नखाने भए उनका लागि छुट्टै चुलो बनाइदिनुपर्ने हो कि, एउटै चुलोमा आफैँले पकाएर पो खाने हुन् कि ? सोध्ने कसरी ? 

दसैंमा जाँदा जमुनाले भान्सामा खाना पकाएकी थिइनन्, आमाले दिएको खाना अन्य सदस्यसँग बसेर खाएकी मात्रै थिइन् । जमुनाले पकाएको खाना आमाले खान्छिन् वा खान्नन् भन्नेमा खगेन्द्र यकिन थिएनन् ।

असमञ्जसमै साँझ पर्‍यो । खगेन्द्रले यसो कुराको पोयो बाट्दै सोधे, ‘आमा ! भात कसो गर्ने हो ?’

कुरो नबुझेर आमाले सोधिन्, ‘तैँले के सोध्या ?’ 

‘होइन, भात आफैँ पकाउने हो कि ?’ उनले अप्ठेरो मान्दै सोधे ।

आमाले सहजै भनिन्, ‘आ... बुहारीले पकाएको खाने नि !’ 

परम्परावादी बाहुन परिवारका छोराछोरीले जात फरक पारेर विवाह गर्नु त्यो बेला कल्पनाभन्दा बाहिरको कुरा थियो । त्यसमाथि खगेन्द्रका हजुरबुवा गाउँका मुखिया थिए । राणाकालीन सामन्ती परिवारकी बुहारी भई सारा परम्परागत शोषण र निषेधकारी नियम मानेर आफ्नो जवानी ढलाएकी थिइन् खगेन्द्रकी आमाले । जातीय विभेदमा आधारित जंगबहादुरको मुलुकी ऐनका कारण समाजमा जातीय छुवाछुत टड्कारो थियो । यही यथार्थ वस्तुस्थितिको आँखाबाट संग्रौलाले आमालाई बुझेका थिए, आमा भने नपत्याउँदो गरी क्रान्तिकारी निस्किन् । आमामा यस्तो बोध र बुझाइको विकास कसरी सम्भव भयो ? खगेन्द्र भन्छन्, ‘खै, त्यो म जान्दिनँ । आमा सोझी थिइन्, म यति मात्र जान्दछु ।’

खगेन्द्रको बुझाइमा आमाको परिभाषा के होला ? अलिकति जीवन भोगाइ र अलिकति दर्शन मिलाएर उनी आमाको परिभाषा गर्छन्, ‘यो तेरो बाउ हो भनेर वा अरुले चिनाइदिनुपर्छ । आमालाई चिनाउनुपर्दैन । आमामाथि कुनै दुविधा हुँदैन, आमा अकाट्य सत्य हुन् । बाउचाहिँ सामाजिक, प्राविधिक वा विश्वासका सत्य हुन् । आमा अन्तरंग सत्य हुन् ।

संग्रौलाको आजसम्मको जीवन सामाजिक न्याय र परिवर्तनका लागि लेखेर, बोलेर र देशदौडाहामा घुमेर बित्दो छ । उनको व्यावहारिक जीवन पनि उस्तै छ । शनिबार चावहिलस्थित आफ्नै घरको पिँढीमा आफ्नो ज्ञान, अनुभव र अध्ययनको आँखाबाट उनले आमालाई सम्झिए । 

नेपाली आख्यान र व्याख्यानको दुनियाँमा यमानको नाम बनाएका संग्रौलालाई जन्माउने आमा कस्ती थिइन् होला ! हामीलाई जान्ने जिज्ञासा थियो र आमाकै विषयमा कुरा गर्न हामीले उनको समय लिएका थियौँ । 

खगेन्द्रको बुझाइमा आमाको परिभाषा के होला ? अलिकति जीवन भोगाइ र अलिकति दर्शन मिलाएर उनी आमाको परिभाषा गर्छन्, ‘यो तेरो बाउ हो भनेर वा अरुले चिनाइदिनुपर्छ । आमालाई चिनाउनुपर्दैन । आमामाथि कुनै दुविधा हुँदैन, आमा अकाट्य सत्य हुन् । बाउचाहिँ सामाजिक, प्राविधिक वा विश्वासका सत्य हुन् । आमा अन्तरंग सत्य हुन् । आमाको शरीरभित्रको रगत विकसित भएर हाम्रो शरीर बन्छ । आमाको दूधबाट हामीमा प्राण सञ्चार हुन्छ । जगत्सँग सम्पर्क गर्ने भाषा सर्वप्रथम आमाबाटै सिकिन्छ । मानिसको मनोभावना र व्यक्तित्वको प्रारूप आमाको काखदेखि नै निर्माण हुन्छ । सृष्टिको मूल स्रोत भनेकै आमा हुन् ।’

खगेन्द्रकी आमाले पनि १० सन्तानलाई जन्म दिइन्– पाँच भाइ छोरा, पाँच बहिनी छोरी । खगेन्द्र आमा–बाका पाँचौँ सन्तान हुन् । एकपछि अर्को सन्तान जन्माउन, त्यसलाई हुर्काउनमै खगेन्द्रकी आमाको पूरै जवानी खर्च भयो ।

चिठीको जवाफ आएन

स्नातकपछि, ०३०/३१ सालतिर, खगेन्द्र तनहुँको बन्दीपुरमा मास्टरी गर्थे । जमुना त्यहीँको अस्पतालमा स्टाफ नर्स थिइन् । यी दुवै प्रेममा परे, र प्रेमलाई सामाजिक रूपमा अनुमोदन गर्न दुवैले बिहेको निर्णय गरे । यो अन्तर्जातीय प्रेम विवाहलाई मागी विवाहमा परिणत गर्न सम्भव थिएन, तत्कालीन सामाजिक थितिका कारण । तैपनि उनले घरमा चिठी लेखे । चिठी विवाहको अनुमतिका लागि थिएन, केवल जानकारीका लागि थियो । उनको चिठीको जवाफ दिन परिवारले आवश्यक ठानेन, संग्रौलाले यसलाई मौन स्वीकृति अथवा मलुवा असन्तुष्टि सम्झे । 

यता जमुनाको परिवारबाट भने यो अन्तरजातीय नाताप्रति घोर आपत्ति प्रकट भयो । बाले जमुनालाई स्पष्ट भने– ‘बाहनुसँग बिहे गरिस् भने तैँले मलाई बाउ भन्नुपर्दैन, म तँलाई छोरी भन्दिनँ ।’ भारतीय सेनाका हवल्दार जमुनाको बुवाको समाजमा एक खालको प्रतिष्ठा थियो । फरक जातको केटासँग विवाह गर्न आँटेर छोरीले आफ्नो इज्जतमा दाग लगाउने भई भन्ने उनलाई चिन्ता थियो । 

​परिवारको स्वीकृतिबिनै खगेन्द्र र जमुनाले मन्दिरमा विवाह गरे । पछि उनीहरूकी छोरी जन्मिइन्– डेजी । अब भने जमुनाका बाबुआमालाई नातिनीको मुख हेर्ने इच्छा हुन थाल्यो । पहिले जमुनाकी आमा आइन्, त्यसपछि बाबु आए । खगेन्द्र भन्छन्, ‘पछि त म उहाँहरूको प्रिय ज्वाइँ भएँ । हाम्रो सम्बन्ध यति सुमधुर बन्यो कि ससुराबा मेरै घरमा बिते ।’ 

खगेन्द्रले प्रतिकूल अवस्थामा विवाह गरेका थिए । उनलाई अहिले लाग्छ– ‘मेरी आमा साक्षर भएकी भए मेरो चिठीको जवाफमा केही त लेख्थिन् होला । उनको सल्लाह–सुझाव, विरोध वा समर्थन कस्तो हुन्थ्यो होला ?’ 

महिनावारी हुँदाका तीन दिन फुर्सद

खगेन्द्रको जन्म पाँचथर, सुभाङको गुरुङछापका मुखिया खान्दानमा भएको हो । उनका ७ भाइ बाजेहरूमध्ये जन्तरे (छैटौँ भाइ) चाहिँ गाउँका नामी मुखिया थिए । समाजमा जन्तरे मुखियाको प्रभाव र रवाफ चर्को थियो । कतै जाँदा खगेन्द्रलाई सोधिन्थ्यो– ‘जन्तरे मुखियाको के पर्ने हौ ?’

‘नाति पर्ने हुँ’ भनेपछि उनले मेजमान, सम्मान सबै पाउँथे । खगेन्द्रका बाहरू दश भाइ थिए । दश भाइमा अंशबन्डा हुँदा उनका बाको भागमा उति धेरै जायजेथो परेन । 

खगेन्द्रकी आमाले पनि १० सन्तानलाई जन्म दिइन्– पाँच भाइ छोरा, पाँच बहिनी छोरी । खगेन्द्र आमा–बाका पाँचौँ सन्तान हुन् । एकपछि अर्को सन्तान जन्माउन, त्यसलाई हुर्काउनमै खगेन्द्रकी आमाको पूरै जवानी खर्च भयो । ‘दश सन्तानलाई गर्भमा बोकेरै मेरी आमाका आठ–नौ वर्ष बिते । उनको जीवनका बाँकी वर्षहरू पनि जन्मेका बच्चाको स्याहार र घरधन्दामै बिते,’ खगेन्द्र आफ्नी आमाका दुःख सम्झन्छन्, ‘मेरी आमा एक प्रकारले परिवारकी दासी र घरको चारसुरभित्रकी कैदीजस्ती थिइन् ।’ 

एउटा रोचक कुरा के छ भने खगेन्द्रका बाकी एक विधवा सम्धिनी थिइन्, तिनको नाम थियो घारे । खगेन्द्रका बा तिनलाई घारे सम्धिनी भन्थे । सधैँ सेता लुगा लाउने घारे–सम्धिनीको रवाफ र आत्मविश्वास अलि कडै थियो । उनी मात्रै खगेन्द्रका बाको खाटमा बस्ने आँट गर्थिन् । 

खगेन्द्रले थाहा पाउँदा नै आमाका काखमा प्रायः तीन बच्चा हुन्थे– एउटा ६ महिना वर्ष दिनको, एउटा दुई–तीन वर्षको र अर्को ५–६ वर्षको । तीनैजना बच्चाले आमाको काखमा बस्न मन गर्थे, त्यसका लागि झगडा गर्थे । आमाले सबै सन्तानको मन बुझाएर घरधन्दा सम्हाल्थिन् । घरमा कहिलेकाहीँ अलिकता मासु ल्याउँदा आमा सबै सन्तानको चित्त बुझाउँथिन् । खगेन्द्रलाई अहिले लाग्छ– आमाले एक बिसौली मासु पकाएर हामी सबैलाई कसरी पुर्‍याउँथिन् होला !

खगेन्द्रका बा ज्योतिषी थिए । उनी काला बाटुला ढुंगाको औतारमा पाञ्चायन देवीदेवताको नित्य पूजा गर्थे । हरेक दिन खगेन्द्रकी आमाको पहिलो काम हुन्थ्यो, पँधेराबाट पानी ल्याएर ती देवीदेवताका औतारहरुलाई नुहाइदिनु । घर लिपपोत गर्न, थालबटुका चोख्याउन, पखाल्न, पानी ओसार्न, खाना पकाउन, भाँडा माझ्न लगायतका काम सिध्याउन उनका लागि दिन छोटो हुन्थ्यो । ‘मेरी आमालाई महिनाको तीन दिन मात्र फुर्सद हुन्थ्यो, हरेक महिना महिनावारी भएका बेला,’ खगेन्द्र भन्छन्, ‘अहिले यसो सम्झँदा लाग्छ– ती दिन आमाका लागि उत्सव जस्तै हुन्थे । महिनामा तीन दिन भए पनि आमा दैनिक सुसेधन्दाबाट विश्राम पाउँथिन् । पर सरेपछि आमा अछुत मानिन्थिन्– चुलो टेक्न नमिल्ने, पानी छुन नमिल्ने, कथित कर्म चलेकाहरुलाई छुन नमिल्ने । त्यो ‘अछूत’ अवस्थामा आमालाई पलपलको श्रमको बोझबाट क्षणिकै भए पनि मुक्ति मिल्थ्यो, चैनले सास फेर्न पाउने मुक्ति ।’

आफूलाई चित्त नबुझेका कुरामा आमा चर्को स्वरमा बोलेको, आमाले आफ्ना इच्छा प्रकट गरेको वा कुनै कुरामा गुनासो गरेको खगेन्द्रका कानले कहिल्यै सुनेनन् । उनले आमामा सधैँ धैर्य, सहनशीलता र घरधन्दाप्रतिको लगनशीलता मात्रै देखे ।

यस्तो बेला साना छोरीहरू र व्रतबन्ध नभएका छोराहरुलाई आमाको वरिपरि बस्ने मौका मिल्थ्योे । आमा घर छाडेर कहीँ गएको खगेन्द्रलाई ज्यादै कम थाहा छ । गाउँमा आफन्तकहाँ कतै पुराण लगाउँदा पुराण सुन्नका लागि आमाले एकाध घन्टा घर छाड्न पाउँथिन् । गाउँमा कोही आफन्त सिकिस्त भए अन्तिमपटक मुख हेर्न आमा पुग्थिन् । तीन–चार वर्षमा आमा एकपटक दुई दिनको बाटो हिँडेर माइत जान पाउँथिन् । खगेन्द्र भन्छन्, ‘त्योबाहेक घरबाट आमा कहिल्यै कहीँ जान पाउँदिनथिन् । गाउँका महिलाहरू बारी र खेतमा काम गर्न जान्छन् । यसो फुर्सद हुँदा सास फेर्न हाट भर्न जान्छन् । तर घरधन्दाकी कैदी मेरी आमालाई फुर्सदै हुँदैनथ्यो ।’

आफूलाई चित्त नबुझेका कुरामा आमा चर्को स्वरमा बोलेको, आमाले आफ्ना इच्छा प्रकट गरेको वा कुनै कुरामा गुनासो गरेको खगेन्द्रका कानले कहिल्यै सुनेनन् । उनले आमामा सधैँ धैर्य, सहनशीलता र घरधन्दाप्रतिको लगनशीलता मात्रै देखे । यसको कारणमा खगेन्द्र भन्छन्, ‘मुखिया खलक भनेको सामन्ती परिवार हो । सामन्ती परिवारमा घरमूली पुरुष राजा हुन्छ । यस्तो परिवारका लागि सबैभन्दा ठूलो हुन्छ भगवान्, भगवानमुनि राजा, त्यसपछि बाउ । हाम्रो घरमा बाउ मात्रै बोल्थे । हामी सबै चुपचाप । बाउसँग आँखा जुधाएर हेर्न पनि डर लाग्थ्यो । राज्यका लागि राजा जस्तो हो, परिवारका लागि बाउ त्यस्तै ।’ 

बा घरबाट कतै निस्केका बेला खगेन्द्रकी आमाको बोली फुट्थ्यो । आगो ताप्न अँगेनाछेउमा र भात खान चुलामा बाका लागि छुट्टै ठाउँ थिए । बा बस्ने पिरा छुट्टै, बाले भात खाने थाल छुट्टै, यी दुवै ठुल्ठूला थिए । बाहिर पिँढीमा बाका लागि खाट थियो । खाटमा खगेन्द्रका बा वा ठुलाबडा पुरुषहरु मात्रै बस्थे । महिलाहरू त्यो खाटमा बस्दैनथे । 

एउटा रोचक कुरा के छ भने खगेन्द्रका बाकी एक विधवा सम्धिनी थिइन्, तिनको नाम थियो घारे । खगेन्द्रका बा तिनलाई घारे सम्धिनी भन्थे । सधैँ सेता लुगा लाउने घारे–सम्धिनीको रवाफ र आत्मविश्वास अलि कडै थियो । उनी मात्रै खगेन्द्रका बाको खाटमा बस्ने आँट गर्थिन् । 

यस्तो आँट महिला महलकी घारे सम्धिनीमा कसरी आयो होला ? खगेन्द्र भन्छन्, ‘विधवा भएपछि घरको सारा कारोबार उनैले हेर्नुपर्‍यो । परिवारको सगर उनैले थाम्नुपर्‍यो । घरमूली पुरुषले झैँ उनले अनेक काममा गाउँ घुम्नुपर्‍यो । खेत धाउनुपर्‍यो । हाटबजार जान उकालो लाग्नुपर्‍यो । नाना किसिमका समस्यासँग जुध्नुपर्‍यो । व्यक्तिसँग, समाजसँग, प्रकृतिसँग जुध्नुपर्‍यो । मलाई लाग्छ, घारे सम्धिनीको रवाफ र आत्मविश्वासको मुहान उनले झेलेका यी अनेकओली झैझमेला र उनले वहन गरेको पारिवारिक जिम्मेवारी हो । सिंगो परिवारको सत्ता थाम्न चाहियो नि आँट र ठाडो शिर !’ 

बा घरमा नभएका बेला कहिलेकाहीँ खगेन्द्रकी आमा त्यो खाटमा बस्न पुग्थिन् । बस्नुअघि चनाखा दृष्टिले यताउता हेर्थिन् । मानौँ, त्यो खाटमा बसेर उनले ठूलै अपराध गर्दै छन् । 

आमाले बोल्ने, हाँस्ने र दुःख परेका बेला रुने हक र फुर्सद पाएको खगेन्द्रले कहिल्यै देखेनन् । एकपटक आमाका दाइ अर्थात् उनका मामा बितेको खबर आयो । यो खबर उनका बाले ल्याएका थिए । त्यतिबेला उनकी आमा जाँतो पिस्दै थिइन् । खबर सुन्नेबित्तिकै आमा जाँतो घुमाउँदै रोइन्, खगेन्द्र पनि कुरै नबुझी आमासँगै रोए । आमा रोएपछि पक्कै केही नराम्रो भयो भन्ने उनलाई परेछ ।

०१५ सालको चुनावको दिन आयो । बा र दाइहरु भोट हाल्न गए । यता घरमा खगेन्द्रकी नौ महिनाकी कान्छी बहिनीलाई बिमारले चाप्यो । आमाले उनलाई अह्राइन्, ‘कान्छा, ऊ... पर गएर त्यो जडिबुटी लिएर आइज त ।’ छोरी काखमा हुनाले आमाले खगेन्द्रलाई अह्राएकी थिइन् । बाह्र वर्षका अटेरी खगेन्द्रले आमालाई टेरेनन् । आमाको पालो उनलाई गालामा प्याट्ट हिर्काइन्, उनी हुँक्कहुँक्क रोए । 

१ फागुन ०५२ मा माओवादीले जनयुद्धको उद्घोष गर्‍यो । पत्रपत्रिकामा दरबारविरुद्ध लेख्ने भएकाले फागुन ६ गते खगेन्द्रलाई चावहिल चोकबाट अपहरणको शैलीमा पक्राउ गरियो । ‘पक्राउपछि मलाई बेपत्ता पारेर मार्ने अवस्था थियो,’ खगेन्द्र तत्कालीन परिस्थिति सम्झन्छन्, ‘कान्तिपुर दैनिक, अनेक साप्ताहिक अखबार र विभिन्न मानव अधिकार संस्थाले ठूलो स्वरमा हल्ला मच्चाएकाले म जिउँदै बाहिर निस्केँ ।’ 

सिकिस्त बहिनीलाई रोगले झन्झन् चाप्दै लग्यो । घाँटी घ्याघ्र्यार भयो, उनका आँखा पर्लक्क पल्टिए र उनको सास गयो । आमा कोकोहोलो मच्चाउँदै रुन थालिन्, खगेन्द्र पनि आमासँगै रोए । बहिनी बितेपछि उनको मनमा लाग्यो– मैले त्यो जडिबुटी ल्याएको भए बहिनी बाँच्थिन् कि ! अहिले पनि यदाकदा यो घटनाको सम्झना हुँदा उनलाई भित्र कतै पिरोल्छ । 

लोग्ने मान्छेले जुठो भाँडो छुन नहुने, गाग्री छुन नहुने, भान्साको काम गर्न नहुने रुढ सामाजिक मान्यता थियो । यस्ता काम गर्दा उसको नाक काटिन्थ्यो । के आमालाई घरको कामधन्दा नसघाएकोमा खगेन्द्रलाई खेद छ ? उनी भन्छन्, ‘समाज अलि उदार भएको भए, संस्कृति अलि मानवीय भएको भए, र नारी र पुरुषको बीचमा आधारभूत समानताको नाता भएको भए, छोराहरूले पनि घरधन्दमा हात बढाउँथे होलान् । म पनि आमालाई सघाउँथे हुँला । के गर्ने, त्यो जमाना त्यस्तै थियो !’ 

 


आमाका अर्ति र खगेन्द्रको अध्ययन

१ फागुन ०५२ मा माओवादीले जनयुद्धको उद्घोष गर्‍यो । पत्रपत्रिकामा दरबारविरुद्ध लेख्ने भएकाले फागुन ६ गते खगेन्द्रलाई चावहिल चोकबाट अपहरणको शैलीमा पक्राउ गरियो । ‘पक्राउपछि मलाई बेपत्ता पारेर मार्ने अवस्था थियो,’ खगेन्द्र तत्कालीन परिस्थिति सम्झन्छन्, ‘कान्तिपुर दैनिक, अनेक साप्ताहिक अखबार र विभिन्न मानव अधिकार संस्थाले ठूलो स्वरमा हल्ला मच्चाएकाले म जिउँदै बाहिर निस्केँ ।’ 

त्यसपछि खगेन्द्र काँकडभिट्टा गए, जहाँ जेठा दाइको घरमा उनकी आमा बस्थिन् । छोराको तीलचामले कपाल मुसार्दै उदेकको लबजमा आमाले भनिन्, ‘तँलाई त मारे होला भन्थे, ज्युँदै आइछस् त !’ साँघुरो घरमा खगेन्द्र र आमा सुत्ने कोठा एउटै भयो । राति अबेलासम्म पढ्ने उनको बानी थियो । आमाले सोधिन्, ‘कान्छा, तँ सुत्या छैनस् ? हैन, तेरो अझै जाँच दिन बाँकी छ र ?’

उनकी निरक्षर आमालाई लाग्दो हो— पढ्नु भनेको अक्षर चिन्नु, जाँच दिनु, पास हुनु, जागिर खानु र पैसा कमाउनु मात्र हो । जाँच पास भइसक्या भए छोरो आँखा बिगार्न किन रातभरि पढ्थ्यो ?

०००

खगेन्द्रका ज्योतिषी बा समेतले गाउँमा गुरुकुल शैलीको स्कुल खोलेका थिए । बा धुलौटोबाट छोराछोरीलाई कखरा चिनाउँथे । २०१३ सालमा गाउँमा आधुनिक काइदाको मिडिल स्कुल खुल्यो, र खगेन्द्र त्यसमा भर्ना भए । उनको भेगका मानिसले हाइस्कुल पढ्न तमोर नदीपारि तेह्रथुमको आठराई पुग्नुपथ्र्यो । पारि चुहानडाँडाको भानु हाइस्कुलबाट उनले एसएसली गरे । र त्यहीँको वीरेन्द्र इन्टर कलेजबाट आईए गरे । त्यसपछि उच्च शिक्षाका लागि उनी काठमाडौं आए । 

अँ, पहिलोपटक धेरै दिनका लागि आमालाई छाडेर खगेन्द्र गएको त्यही तमोर नदीपारि हो, हाइस्कुल पढ्न । आमाले अलिकति पुवा पकाइन् । र छोरो हिँड्ने बेलामा पुवाको पोको दिँदै भनिन्, ‘बाटामा भोक लागेपछि यो खानू । नाउ (डुंगा) चढ्नुपर्छ, नदीमा ठूलो भेल हुन्छ, नडराउनू, नबग्नू, फर्केर आउने गरी जानू । तँ अर्काको घरमा जाँदै छस्, त्यहाँ घुर्की लाउन पाइँदैन, धाक लाउन पाइँदैन, रोइकराइ गर्न पाइँदैन, भलादमी भएर बस्नू । जे दिन्छन्, त्यो खानू । झगडा नगर्नू, ठूलो मान्छे हुने गरी पढ्नू ।’ 

आमाबाट खगेन्द्रले के सिके त ? उनी उत्तर दिन्छन्, ‘मैले अघि पनि भनेँ– मेरी आमाको सबैभन्दा ठूलो गुण धैर्य, सहनशीलता र पारिवारिक जिम्मेवादीप्रतिको लगनशीलता थियो । त्यो धैर्य र सहनशीलता कति मेरी आमाको नैसर्गिक गुण थियो, कति बाहिरी परिस्थितिबाट थोपरिएको बाध्यता थियो । मैले आमाबाट सिक्नुपर्ने धैर्य र लगनशीलता सिकिनँ ।

आमाको अर्ति मानेर खगेन्द्र भलादमी भएर बसेनन्, विद्रोही भएर उठे । उनले पाठ्यक्रमका पुस्तक मात्रै पढेनन्, बाहिरी पुस्तक पनि पढे, समाज पढे । समाजका विभेद र विकृतिविरुद्ध उनी बोल्न थाले, शासकका शोषण र समाजको अज्ञानतालाई औँल्याउन थाले । 

उनले आठराईमा हाइस्कुल पढ्दा त्यहाँ कोही सुटुक्क कांग्रेस भनेर चिनिन्थे, कोही सुटुक्क कम्युनिस्ट भनेर चिनिन्थे । त्यहाँ साहित्यिक गोष्ठीहरू र वादविवाद प्रतियोगिताहरु हुन्थे । विद्यालय र कलेजका वार्षिकोत्सवमा नाटक–प्रहसन देखाइन्थे । जाग्दो जनचेतनासँगै बालविवाह लगायत कुप्रथाको विरोध हुन थाल्यो । अन्याय, अत्याचार गर्ने मुखियाविरुद्ध आवाज उठ्न थाल्यो । 

यस्ता गतिविधिले खगेन्द्रको चेतनाको आयाम बढाउँदै लग्यो । संयोगले उनलाई पढाउने एक शिक्षक भानुभक्त पोखरेल, जो वाम झुकावका रहेछन् । यो कुरा खगेन्द्रलाई पछि थाहा भयो । यिनै गुरुहरुको संगतबाट प्रेरित भई उनले साहित्यका पुस्तक पढ्न थाले । समाज सुधार, सामाजिक आन्दोलन, परिवर्तन इत्यादिमा उनको रुचि बढ्दै गयो । पछि ०२३ सालमा आईएको जाँच दिन उनी काठमाडौं आए । उनको भाषामा त्यतिबेला काठमाडौं एक किसिमले लाल भएको थियो । चीनमा माओको नेतृत्वमा लालक्रान्ति सम्पन्न भई सांस्कृतिक क्रान्ति चलिरहेको थियो । 

सूचना, विचार, कला, प्रविधि आदि फैलाउने चिनियाँ सामग्रीहरू काठमाडौंमा प्रशस्त आउँथे । ती सामग्री कतिपय सित्तैमा पाइन्थे, मोल तिर्नै परे पनि ती निकै सस्ता थिए । काठमाडौंँ आएपछि उनको संगत लाल विद्यार्थीसँग हुन थाल्यो । उनी भन्छन्, ‘अनि आफू पनि लाल भइयो, अथवा हुन खोजियो ।’

पत्रपत्रिकामा खगेन्द्रका कविता–कथा छापिए । पछि पुस्तकहरू प्रकाशित भए । तर, उनकी आमालाई यसबारे कुनै पत्तो भएन । कसैले आमालाई तिम्रो छोरो लेखक भएछ त भने होलान् । आमाले अमिनीको लेखन्दास भन्ने त सुनेकी हुँदी हुन्, उनलाई लेखक भनेको के थाहा ? खगेन्द्रको मनमा खट्किरहन्छ– मेरी आमा साक्षर भएकी भए मेरा लेख–रचना पढ्थिन् होला । हामीबीच कुरा गर्ने विविध विषय बन्थे होला । ‘आमा र मबीच त्यति धेरै बातचित हुँदैनथ्यो । बात मार्ने विषय भनेकै त्यही घर–व्यवहार, वरपर, नातागोता, इष्टमित्र, तलमाथि, सुखदुःख, सहकाल, अनिकाल आदि हुन्थ्यो । देश दुनियाँ, समाज, राजनीति, दर्शन, कला, क्रान्ति जीवन, मृत्यु इत्यादिबारे लामो बातचित हुने कुरै थिएन । कुरा गर्नलाई कुरा सकिएर हामीबीच सन्नाटा छाउँथ्यो । र, मलाई आमा निरक्षर र अशिक्षित भएकोमा बडो नरमाइलो लाग्थ्यो । 

आमाबाट खगेन्द्रले के सिके त ? उनी उत्तर दिन्छन्, ‘मैले अघि पनि भनेँ– मेरी आमाको सबैभन्दा ठूलो गुण धैर्य, सहनशीलता र पारिवारिक जिम्मेवादीप्रतिको लगनशीलता थियो । त्यो धैर्य र सहनशीलता कति मेरी आमाको नैसर्गिक गुण थियो, कति बाहिरी परिस्थितिबाट थोपरिएको बाध्यता थियो । मैले आमाबाट सिक्नुपर्ने धैर्य र लगनशीलता सिकिनँ । सिक्न खोजेको भए म योभन्दा धेरै राम्रो लेखक बन्दो हुँ । मेरा आदर्श त बाबु थिए । बाबु घर खर्चको जोहो गर्थे । मैले बाबुबाट केही अहंकार सिके हुँला, केही तामस सिके हुँला, केही मुखियापन सिके हुँला ।’

‘आमाको नामै गलत लेखेँछु’

जीवनको उत्तरार्द्धतिर बिरामी परेपछि आमा चावहिलस्थित खगेन्द्रको घरमा आइन् । त्यहीँ ८३ वर्षको उमेरमा उनले संसार छाडिन् । आमाको मृत्यु हुँदा खगेन्द्रले आधा शताब्दी उमेर काटिसकेका थिए । भौतिकवादमा विश्वास गर्ने उनलाई आमाको काजकिरियामाथि विश्वास थिएन । यसमा उनको भनाइ साधारण थियो– ‘आमालाई हेर्ने भनेको बाँचुञ्जेल हो । आमा मरेपछि कोरामा बसेर, पिण्डपानी दिएर, गौदान गरेर हुनेवाला केही छैन । यो संस्कारमा मेरो विश्वासै नभएकाले आफ्नो विश्वास विरुद्ध म आमाको काजकिरिया किन गरुँ ?’ 

खगेन्द्रका दाजुहरुले आमाको काजकिरिया गरे । उनी दाजुहरूलाई सघाएर कोराबाहिरै बसे । ०२१ सालमा बुवाको निधन हुँदा उनको व्रतबन्ध भएको थिएन र काजकिरिया गर्नुपरेन । उनी आमाको किरिया नबस्दा एकाघरका दाजुभाइ र दिदीबहिनीको त्यति आपत्ति भएन । फुपूहरू लगायत आफन्त र समाजका परम्परावादी विचारका मानिसले भने भयङ्कर विरोध गरे । खगेन्द्र भन्छन्, ‘म त यस्तो घेराउमा परेँ कि मेरो सानो सार्वजनिक नाम र प्रतिष्ठा नहुँदो त मलाई लुछेर थला पार्थे । मेरो मौनव्रतले गजप काम गर्‍यो । कराउनेहरु आफैँ थाकेर धारेहात लाउँदै बाटो लागे ।’ 

यस कुराले खगेन्द्रलाई शान्त रहन दिएन । काजकिरिया माथिको मिथ्या विश्वास र यसका माध्यमबाट शोकाकूल जनमाथि थोपरिने थप पीडा र ठगीबारे केही लेख्न उनले जरुरी ठाने । खगेन्द्र भन्छन्, ‘शुरुमा मैले काजकिरिया किन गरिनँ’ भनी एउटा सानो चिठी पठाएँ ऊबेलाको हिमालय दैनिक पत्रिकामा । त्यो पत्रिकामा मेरो स्तम्भ थियो— आजाद चौतारी । अखबारका रचना–सम्पादक थिए मित्र गोविन्द अधिकारी, जो अहिले बाह्रखरी अनलाइनमा छन् । ‘प्रिय गोविन्द’ भनी सम्बोधनमा लेखिएको चिठीमा मैले आमाको काजकिरिया नगर्नुको कारण उल्लेख गरेको थिएँ ।’

त्यो चिठीमा खगेन्द्रले आमाको नाम नर्वदादेवी लेखेछन् । चिठी छापिएर झापा पुग्यो । खगेन्द्रका दिदी–बहिनीहरू चिठी पढेर रोए । किन ? आमाको नामै गलत छापिँदा उनीहरूको मन दुखेछ । ‘मलाई त आमाको नामै थाहा रहेनछ । आमाको नाम थाहा पाउनुपर्ने कुनै कारण नै थिएन,’ खगेन्द्र भन्छन्, ‘सन्तानको न्वारनमा आमाको नाम नचाहिने । कुनै पनि कर्मकाण्डमा आमाको नाम नचाहिने । नाम चाहिने नै रहेछ भने पनि त्यसको हेक्का राख्नुपर्ने कुनै कारण नहुने । तमसुक, लेनदेन कारोबारमा आमाको नाम नचाहिने । अनि मलाई आमाको नाम थाहा होस् कसरी ? पढेको भए शिक्षाको माध्यमले नाम चिनिन्छ । त्यहाँ नाम लेखिन्छ, नाम बोलइन्छ, हाजिरी हुन्छ । प्रमाणपत्रमा नाम लेखिन्छ । तर मेरी आमाले स्कुल जान पाएकी भए पो !’ 

खगेन्द्रकी आमाको नाम भागिरथा रहेछ । नर्वदा भनेको नदीको नाम हो, भागिरथा भनेको पनि नदीकै नाम हो । खगेन्द्रको मनमा आमाको नाममा नदीको विम्ब बनेछ र सम्झेछन्– नर्वदादेवी । नवप्रतिभा मासिकले छापेको समवेदनामा पनि नर्वदादेवी संग्रौला नै लेखिएछ ।

त्यसपछि खगेन्द्रले ‘आमा र यमदूत’ किताब लेखे । यो किताब हिन्दु कर्मकाण्डको हतियाररुपी गरुड पुराणको आलोचनात्मक चिरफार हो । उनको बुझाइमा गरुड पुराण मानव मस्तिष्कद्वारा रचित सबैभन्दा विभेदकारी र अमानवीय किताब हो । यसले यसै पनि प्रियजनको मृत्युबाट मनमा ठूलो चोट लागेकाहरुलाई झनै आहत तुल्याउँछ र तिनको आहत एवं दमित मनोदशालाई अझ धुजाधुजा पार्दैै दान–दक्षिणाका नाउँमा तिनलाई ठग्छ । आमा र यमदूतहरुमा खगेन्द्रले गरुड पुराणको निर्मम चिरफारसँगै आफूले आमाको काजकिरिया नगर्नुको स्पष्टीकरण र काजकिरिया नगर्दा झेल्नुपरेको हुर्मतको शब्दचित्र उतारेका छन् । 

०००

शनिबार एकाध घन्टाको बसाइमा खगेन्द्रले आमाको विचार र व्यवहारको एउटा कारुणिक विम्ब हाम्रा सामु प्रस्तुत गरे । सुन्दै जाँदा हामीलाई भने यस्तो लाग्दै थियो– संग्रौलाभन्दा कतै उनकी आमा त क्रान्तिकारी होइनन् ? समाजले बनाएको विधि र परम्पराको सुरुङ र साङ्लोमा उनकी आमा बाँचेकी थिइन्, र उनले त्यहीँबाट संसारलाई नियालेकी थिइन् । तैपनि जातभेद नगर्ने उनको त्यो अद्भुत समझ र आँट आफैँमा एउटा क्रान्ति होइन र ? 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।