सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पढाइले प्रौढ महिलाहरुको आत्मविश्वास बढायो

बुधबार, ०८ भदौ २०७९, ०६ : ५२
बुधबार, ०८ भदौ २०७९

अंक अक्षर लेख्न, पढ्न र चिन्न नसकेका कारण धेरै ठक्कर पाएकी म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटकी संगिता छिनालको अहिले आत्मविश्वास बढेको छ । उज्यालो बैकल्पिक विद्यालयको कक्षा १० मा पढ्ने संगितालाई शिक्षा हाँसिल गरेपछि सहरका चोकमा गएर ठाउँ नचिन्दा अलमलिनुपर्ने, मोवाइल चलाउन अरुको सहायता लिनुपर्ने समस्या हटेको छ । 

“बिहे गर्दा कक्षा १ सम्म मात्र पढेको थिए, एबीसी लेख्न पनि जानेको थिइन । कुनै सहरमा जाँदा कहाँ आइपुगेको छु भन्ने बुझ्न अरुलाई सोध्नुपर्थ्यो । निकै समस्या हुन्थ्यो,” उनले भनिन्“अङ्ग्रेजीबाट नाम लेख्ने र लेखेको कुरा पढ्न सक्ने भएको छु । अरुले बोलेको बुझ्न सक्छु । पहिले भन्दा अहिले धेरै सजिलो भएको र खुसी लागेको छ ।”
 
संगिता जस्तै विद्यालय जाने उमेरमा पढ्न नपाएका र बीचैमा पढाई छाडेकाहरूको लागि बेनीको उज्यालो बैकल्पिक विद्यालय एसईई तहसम्मको शिक्षा हाँसिल गर्ने थलो बनेको छ । ८ वर्षअघि स्थापना भएको विद्यालयमा हालसम्म १०० जना भन्दा बढीले पढेका छन् । 

९ जनाले पछिल्लो दुई वर्षमा एसईई उत्तिर्ण गरेका छन् । हाल विभिन्न कक्षामा पढ्ने ४० जना सबै महिला छन् । भर्ना भएका केही विद्यार्थीले लेखपढ गर्न जानेपछि पढाइलाई निरन्तरता दिएनन् । घरायसी कामधण्दा सकेर झोलाभरी कापी किताब बोकेर बिहान ११ बजे विद्यालय आउने आमाहरू दिउँसो ३ बजे घर फर्कन्छन् । 

“खेती किसान, घरको व्यवहार, घाँस, दाउरा गर्ने चलन थियो । इच्छा भएर पनि पढ्न पाइएन,” कक्षा १० मा पढ्ने ५० वर्षीय डिलकुमारी पुनले भनिन् “बालबच्चाले पढेर सके । अहिले फुर्सद मिल्यो । उमेर ढल्किए पनि पाएको अवसर सदुपयोग गरेर एसईई उत्तिर्ण गर्ने लक्ष्य राखेकी छु ।”

भर्ना हुन आउने विद्यार्थीको क्षमता पहिचान गरी कक्षामा राख्ने र पढाउने गरिएको छ । तत्कालीन शिक्षा कार्यालय मार्फत बेनी सामुदायिक माविलाई मातृ विद्यालय मानेर स्थापना भई समुदाय स्तरबाट विद्यालय सञ्चालन गरिएको हो । 

७ जना शिक्षकहरुको तलबभत्ता बेनी नगरपालिकाले उपलब्ध गराउने यस विद्यालय सञ्चालनमा स्थानीयबासी, विभिन्न संघ संस्था र प्रवासीहरूले पनि सहयोग गरेका व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष राजेश शाक्यले बताए।  

“१६ वर्ष भन्दा बढी उमेरका बीचैमा पढाई छाडेकाहरूका लागि स्थानीय युवाहरुको अग्रसरतामा विद्यालय सञ्चालन गरेका हौ,” उनले भने “बेनी सामुदायिक माविलाई मातृ विद्यालय बनाएका छौ । विज्ञान र कम्प्युटर ल्याब स्थापना गर्न सामाजिक विकास मन्त्रालयले सहयोग गरेको थियो ।”

सामाजिक विकास कार्यालयको भवनमा सञ्चालन भएको विद्यालयमा आफ्नै पूर्वाधार, दिगो आर्थिक स्रोतको अभाव तथा शिक्षकहरुलाई तालिमको आवश्यकता देखिन्छ । सुरुवाती चरणमा बेनी पुस्तकालयको भवनमा कोठा भाडामा लिएर कक्षा सञ्चालन गरिएको विद्यालय तीन वर्षअघि तत्कालीन महिला तथा बालबालिका कार्यालयको खाली भवनमा सारिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप