शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नवौँ राष्ट्रिय खेलकुद : पोखरा रंगशालामा स्वास्थ्य केन्द्र सञ्चालन

मङ्गलबार, ०७ भदौ २०७९, २३ : ००
मङ्गलबार, ०७ भदौ २०७९

आसन्न नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा खेलकुद स्वास्थ्य केन्द्रलाई नियमितरुपमा सञ्चालन गरिने भएको छ । राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदद्वारा गठित स्वास्थ्य उपसमितिको बैठकले राष्ट्रिय खेलकुदलगायत प्रदेश र जिल्ला छनोटलाई मध्यनजर गर्दै खेलाडीको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्र नियमित सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य उपसमितिको बैठकमा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले स्वास्थ्य केन्द्रमा खेलाडीको सहज पहुँच र उनीहरुको प्राथमिक उपचारका लागि ध्यान केन्द्रित गर्न उपसमितिका सदस्यलाई आग्रह गरे । खेलाडीको प्राथमिक उपचारका लागि स्वास्थ्य केन्द्रलाई थप प्रभावकारी बनाउन आवश्यक मापदण्ड बनाई तयारीमा जुट्नसमेत उनले आग्रह गरे । उपसमितिको बैठकमा सिनियर फिजियोथेरापिष्ट तथा सल्लाहकार डा खड्गसिंह गुरुङ, नेपाली सेना फूलबारी ब्यारेकका सेनानी जीवन पौडेल, सोही ब्यारेकका स्वास्थ्य प्राविधिक सुवेदार राजेश केसी, उपसमितिका सदस्य शुभकन्या गुरुङ, राजन बडगामी, किरण गुरुङ र मुना थापा बैठकमा सहभागी थिए ।

पोखरा रङ्गशालामा सञ्चालन हुने स्वास्थ्य केन्द्रमा हाल एक जना  स्वयंसेवी  परिचारिका  नियुक्त गरिएको छ भने थप चिकित्सक र फिजियोथेरापिष्टसहितको जनशक्तिका लागि आवश्यक पहल भइरहेको प्रदेश खेलकुद परिषद्ले जनाएको छ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुदको तयारी तीव्र पारिएको छ । गण्डकीका विभिन्न जिल्लामा खेलाडी प्रशिक्षण सुरु भएको छ भने निर्माणाधीन खेल पूर्वाधारलाई पूर्णता दिन लागिएको छ ।

पोखरा रङ्गशालामा राष्ट्रिय खेलकुद मूल आयोजक समितिको कार्यकारी सचिवालयको स्थापना गरी आवश्यक व्यवस्थापकीय र प्रशासनिक कार्य सुरु भएको छ । प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापन, प्रचारप्रसार, स्वास्थ्य, स्वयंसेवक व्यवस्थापनलगायत विभिन्न उपसमितिमार्फत काम अघि बढाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप