शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा बढ्यो तस्करी : व्यवसाय नै धरापमा परेको गुनासो

मङ्गलबार, ०७ भदौ २०७९, २० : २८
मङ्गलबार, ०७ भदौ २०७९

काँग्रेसका प्रभावशाली नेता एवं अहिलेका गृहमन्त्री वालकृष्ण खाणको निर्वाचन क्षेत्र रुपन्देहीको सिद्धार्थ नगरपालिका, शुद्धोधन गाउँपालिका, ओमसतिया, सियारी लगायतका स्थानहरूमा चोरी तस्करी बढ्दो छ । नेपाल र भारतको सीमा क्षेत्रमा पर्ने रुपन्देहीको दक्षिणी इलाकामा चोरी तस्करी झन् बढेको भन्दै गत आइतबार भैरहवाका उद्योगी व्यवसायीले पत्रकार सम्मेलन नै गरेका थिए ।

व्यवसायीहरूले खुला सिमानाको कारण चोरी तस्करी झन् बढेकोले आफ्नो व्यवसाय धरापमा परेको भन्दै चोरी तस्करी रोक्न प्रहरी प्रशासनसँग आग्रह गरेका थिए । उनीहरुले प्रहरीलाई पत्र समेत पठाएर ध्यानाकर्षण गराएका छन् । व्यवसायीहरुका अनुसार भारतसँग सीमा जोडिएका क्षेत्र रुपन्देहीको फरेनी, वैकुण्ठपुर, मर्चवार, महेशपुर, लुम्बिनी, भगवानपुर, ककरहवा लगायतका नाकाबाट खाद्यवस्तु, कपडा, हार्डवेयर, मोटरपार्टस, मोबाइल, इलेक्ट्रिक सामानहरूको चोरी तस्करी हुने गरेको छ ।

छड र सिमेन्टबाहेक अन्य सबै खालका सामानहरू यी नाकाबाट तस्करी हुने गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताए । रातोपाटीको जिज्ञासामा न्यौपानेले भने, ‘सानादेखि ठुला चोरी तस्करीहरू यी नाकाबाट हुने गरेका छन्, यस्तो कार्य प्रहरी प्रशासनको सहयोगबिना सम्भव छैन ।’ प्रहरी प्रशासनले चोरी तस्करी रोक्न थप सक्रियता देखाउनुपर्ने उनको भनाई छ ।

चोरी तस्करीका गुणस्तरहीन सामानले  लाखौँ राजश्व तिरेर नेपाली बजारमा चलाइएको व्यापारलाई असर गरेको भन्दै व्यवसायीहरूले सीमा क्षेत्रमा चोरी तस्करी रोक्न आग्रह गरेका हुन् । भैरहवाको गल्लामण्डी तथा बैंक रोड क्षेत्रका ट्रान्सपोट व्यवसायीले समेत अवैध रूपमा सामान ओसारपसार गर्न सघाएको व्यापारीहरूकै गुनासो छ । व्यवसायीको दबाबपछि फरेनी नाकामा लाग्ने बजार भने हाललाई प्रहरीले बन्द गराएको उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले बताए । 

धेरैजसो चोरी निकासी सीमा क्षेत्रमा रहेका प्रहरी चौकीका प्रहरीसँग ‘सेटिङ’ मिलाएर गरिने आरोप लाग्दै आएको छ । तर जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पहिले भन्दा सीमा नाकामा कडाइ गरिएको दाबी गर्दछन् । रेग्मीले भने, ‘हामीले यहाँ भन्दा कडाइ कति गर्नु, अब उद्योगी व्यवसायी साथीहरूलाई पनि अनुगमनमा लैजानु पर्ला ।’ सीमा क्षेत्रमा हुने चोरी निकासीलाई आफूले सकेसम्म निरुत्साहित गर्ने प्रयास गरिरहेको उनले उल्लेख गरे ।

केही दिनअघि बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सिमानाका कडाइ गर्न माग गर्दै भैरहवा भन्सार कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो । भन्सारमा खुकुलो हुँदा सीमावर्ती क्षेत्रमा नेपाली व्यवसायी मारमा परेको भन्दै संस्थागत रूपमा चेकजाँचलाई कडाइ गर्न माग व्यवसायीले गरेका थिए । रुपन्देहीको ६० किलोमिटरको पूर्वपश्चिम क्षेत्रमा सीमा नाकाहरू छन् । यी नाकाबाट दैनिक रूपमा प्रहरीको ‘मिलेमतोमा’ साना ठुला चोरी निकासी हुने गरेका छन् । साना चोरी निकासीको लागि तस्करहरूले साइकल तथा मोटरसाइकल प्रयोग गर्ने गर्दछन् भने ठूलो चोरी निकासीको लागि गाडी नै प्रयोग हुन्छन् । गत केही महिनाअघि भारतबाट भन्सार छलेर पोखरा लैजाँदै गरेको मोटरपाट्स बोकेको एक गाडी तिलोत्तमाको मंगलापुर प्रहरीले समातेपछि तस्करहरू गाडी छोडेर भागेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप