बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल बैंकको संचालक समिति अध्यक्ष ज्ञवालीले लिए सपथ

मङ्गलबार, ०७ भदौ २०७९, २० : ०१
मङ्गलबार, ०७ भदौ २०७९

नेपाल बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्ष गंगाप्रसाद ज्ञवालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष ज्ञवालीलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

नेपाल बैंक संचालक समिति सदस्य ज्ञवालीलाई बैंकको साउन २३ गतेको संचालक समिति बैठकले अध्यक्ष पदमा नियुक्त गरेको थियो । अध्यक्ष ज्ञवालीलाई राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले सपथ ग्रहण गराएका हुन् ।

सो अवसरमा गभर्नर अधिकारीले बैंकका नवनियुक्त अध्यक्ष ज्ञवालीलाई बधाई तथा शुभकामना दिएका थिए । ज्ञवालीको अनुभव र विज्ञताबाट नेपाल बैंकलाई थप प्रतिस्पर्धी सबल र ग्राहकमैत्री बनाउन सहयोग पुग्ने विश्वास गभर्नर अधिकारीले व्यक्त गरे । पछिल्ला केही वर्षयता नेपाल बैंकको वित्तीय अवस्थामा राम्रो सुधार हुँदै गएको भन्दै गभर्नर अधिकारीले आगामी दिनहरुमा पनि बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको परिपालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । यस्तै, गभर्नर अधिकारीले नेपाल बैंकको पुरानो खराब कर्जाहरुको व्यवस्थापनमा विशेष ध्यान दिन अध्यक्ष ज्ञवालीलाई सुझाव दिए ।

सपथ ग्रहण कार्यक्रममा आफ्ना भनाइ राख्दै अध्यक्ष ज्ञवालीले नेपालको पहिलो बैंकको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरे । शपथ ग्रहण कार्यक्रमका लागि नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिँदै उनले बैंकको व्यावसायिक विकास तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त विवरण तथा पुराना खराब कर्जा असुलीका लागि बैंकले गरेका प्रयासको जानकारी पनि गराए । अध्यक्ष ज्ञवालीको कुसल नेतृत्वबाट बैंकले आगामी दिन अझ राम्रो काम वित्तीय प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत अधिकारीले यसको झल्को चालु आर्थिक वर्षको वित्तीय विवरणमा नै देखिने अपेक्षा गरे ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्तिनाथ सापकोटा, नेपाल बैंक सञ्चालक समितिका सदस्यहरू डा. सावित्री रञ्जित श्रेष्ठ, विवेक शम्शेर जबरा तथा बैंकका कम्पनी सचिवको उपस्थिति थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप