सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीका नाममा ठगी, परासीमै एक वर्षमा ७० जनाले दिए उजुरी

मङ्गलबार, ०७ भदौ २०७९, १९ : ५४
मङ्गलबार, ०७ भदौ २०७९

वैदेशिक रोजगारीका लागि जाने क्रममा ठगिएको भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीमा एक वर्षमा ७० जनाले उजुरी दिएका छन् । एजेन्टहरुले मोटो रकम असुलेर विदेश नपठाएपछि उनीहरुले उजुरी दिएका हुन् ।

तीमध्ये २५ जनाको रकम फिर्ता गराइएको प्रशासन कार्यालयका मुद्दा शाखाका कर्मचारी राजकुमार यादवले जानकारी दिए । उनका अनुसार कतिपय मुद्दा उजुरीकर्ता र एजेन्टहरुलाई हाजिर गराई तारेखमा राखिएको छ ।

सम्पर्कमा नआउने एजेन्टहरुलाई प्रहरीद्वारा झिकाई छलफल गराइएको उनले बताए । म्यानपावरहरुले बिचौलियाको रुपमा राखेका ती एजेन्ट (दलाल)हरुले आम जनतालाई आकर्षक प्रलोभनमा पारी मोटो रकम उठाई ठगी गर्दै आएको गुनासो व्याप्त छ । विदेश जाने चक्करमा एजेन्टहरूद्वारा यसरी ठगिएका जम्मा ७० जनाले एक वर्षको अवधिमा उजुरी दिएको तथ्याङ्क देखिए पनि ठगिएका अन्य सयाैँ जनाले उजुरी नै नदिई बसिरहेको सरोकारवाला बताउँछन् ।

वैदेशिक रोजगारमा जाने कामदारको संरक्षण गर्ने उद्देश्यले नेपाल सरकारले २०७२ जेठ २६ गतेदेखि मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब ईमिरेट्स, कुवेत, बहराइन र ओमानमा रोजगारीका लागि जाने नेपाली कामदारलाई निःशुल्क भिसा तथा टिकटको व्यवस्था गरे पनि म्यानपावर कम्पनी र एजेन्टहरुले १ लाख रुपैयाँभन्दा बढी असुल गर्ने गरेको युवाहरु बताउँछन् ।

एजेन्टहरु नक्कली डिमान्ड लेटर खल्तीमा बोकेर बेरोजगार युवाहरुलाई आकर्षक काम, तलव र सेवासुविधाको मोह देखाउँदै आफ्नो जालमा पार्न सफल हुने गरेको पीडित राजेन्द्र कुर्मीले बताए । उनले पनि आफू ठगिएको उजुरी प्रशासन कार्यालयमा दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप