कलुवापुर–बेलौरी सडक निर्माणले गति नलिँदा ...

person explore access_timeपुस १, २०७४ chat_bubble_outline0

राजेन्द्रप्रसाद पनेरु 

कञ्चनपुर- व्यापारका लागि महत्वपूर्ण कञ्चनपुरको कलुवापुर–बेलौरी सडक निर्माणले गति नलिँदा यहाँका सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । 

सडक निर्माणका लागि ठेक्का लिएको निर्माण कम्पनीले काम अगाडि नबढाउँदा धुलाम्मे र खाल्डाखुल्डीले भरिएको सडकमा यात्रा गर्न यात्रुलाई असहज भएको छ । सीमावर्ती भारतीय बजार खजुरियासम्म जोड्नका लागि चार दशकअघि सर्भेक्षण गरिएको सडक हालसम्म पूरा हुन नसक्दा सर्वसाधारणले जिल्ला सदरमुकाम पुग्नका लागि निकै कष्ट झेल्नुपरेको छ । 

कलुवापुर–बेलौरी सडक निर्माणमा अत्यन्त ढिलासुस्ती, चरम लापर्वाही र बेवास्ता भएको यहाँका बासिन्दाको आरोप छ । तीन दशकदेखि सो सडकमा बस सेवा सञ्चालनमा छ । वर्षात्कमा सडक हिलाम्मे र खाल्डाखुल्डीमा पानी जम्ने गरेकाले बस सेवा ठप्प हुँदा सर्वसाधारणको जिल्ला सदरमुकामसँगको सम्बन्धविच्छेद हुने गरेको छ । 

कच्ची सडकै कारण २७ किमीको यात्रा तय गर्न यात्रुले रु १६० भन्दा बढी बस भाडा तिर्नुपरेको छ । खेतमा उत्पादन गरिएको तरकारी बजारसम्म पु¥याउन समेत हम्मेहम्मे पर्ने गरेको शोभातालका किसान साइटु चौधरीले बताए । “सडकको बिग्रँदो अवस्थाका कारण खेतमा उत्पादित तरकारी बेच्न नपाएर खेतमै कुहिने गरेको छ” उनले भने, “सडकको सहज व्यवस्था भए बजारसम्म जान सक्थ्यो, सस्तोमै गाउँघरमै बिक्रीसमेत हुने गरेको छैन ।” 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको तीन किमी क्षेत्रमा र चान्देव दक्षिणको सामुदायिक वन क्षेत्रमा सडक दायाँबायाँ बढेको झाडीका हाँगा झ्यालको सिसा खोलेर हातले पन्छ्याई चालकले बस चलाउनुपर्ने बाध्यता छ । 

विसं २०४३ देखि सडक किनाराका रुखका हाँगा नहटाइँदा यस्तो समस्या आएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनपछि सडक कालोपत्रे गर्ने कुरा उठ्दै आए पनि हालसम्म पूरा हुन नसकेको कालागौँडीका शिक्षक गेंदुराम रानाले बताए । 

“विसं २०७३ असार मसान्तमा कलुवापुर–बेलौरी सडक पक्की निर्माणको ठेक्का भएको खबरले यस क्षेत्रमा खुशी छायो”, बेलौरीका समाजसेवी केशवराज जोशीले भने, “हालसम्म निर्माण कार्यको थालनी नहुँदा अन्योल छाएको छ ।” 
जानकारका अनुसार विसं २०३४ मा कलुवापुरदेखि भारतको खजुरिया पुरनपुर सब हाइवेसँग मिलान हुने गरी ४० किमी सडकको सर्भे डिजाइन गरिएको थियो । बेलौरीबाट जिल्ला सदरमुकाम भीमदत्तनगर सारिएपछि सडक निर्माणको कामले गति लिन नसकेको हो । 

पटक पटक चुनावी कार्यसूचीमा मात्रै सडक निर्माणलाई राख्ने र चुनाव जितेपछि बिर्सने कार्यले सडक निर्माण अगाडि बढ्ने नगरेको यहाँका सामाजसेवी बताउँछन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X