सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नपाएको बस्तीपुरवासीको गुनासो

मङ्गलबार, ०७ भदौ २०७९, ०८ : ००
मङ्गलबार, ०७ भदौ २०७९

सिरहा लहान नगरपालिका–१४ बस्तीपुरका ८० वर्षीय फेकु महतोको ठूलो इच्छा थियो, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई अन्तिम बिदाइ तथा श्रद्धाञ्जली अर्पण गर्ने । तर आफ्ना प्रिय नेताको पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण गर्ने उनको इच्छा त्यत्तिकै रह्यो ।

उपचारका क्रममा निधन भएका कांग्रेस नेता गिरीको निधनपछि काठमाडौँको पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरेका कारणले उनको गृह जिल्ला तथा त्यस क्षेत्रका स्थानीय अन्तिम बिदाइ गर्नबाट वञ्चित भएका हुन् । गिरीको अन्तिम संस्कार गाउँमै गर्नका लागि स्थानीयवासी र स्वयम् उनले इच्छा व्यक्त गरेका थिए । आफ्ना प्रिय नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली दिनबाट वञ्चित हुनुपरेको बस्तीपुरवासी गुनासो छ । 

गिरिको निधन भएको दिन बस्तीपुरवासीले गाँउमै रहेको गिरिको आश्रममा अन्तिम संस्कार गर्नका लागि प्रतिक्षा गरेर दिनभरी बसेको भए पनि काठमाडौँबाट उनको पार्थिव शरीर नआएपछि बस्तीपुरका स्थानीय निराश भएका थिए । 

शुभेच्छुक तथा नेताकार्यकर्ताहरूको प्रदीप बाबुको अन्तिम पटक मुख हेर्ने इच्छा थियो तर सयौँ स्थानीयवासी सो अवसरबाट वञ्चित भएको आश्रममा बस्दै आएका दीप परियारले बताए । उनले भने, “गिरिले आफ्नो मृत्यु भएपछि अन्तिम संस्कार आश्रमै गर्नुहोला भन्नुभएका थियो । सोहीअनुसार हामीले उहाँको शव गाउँमा ल्याउन आग्रह गरेका थियौँ तर त्यसो भएन ।” 

बस्तीपुर र समाज निर्माणमा प्रदीपको ठूलो योगदान भएकाले त्यो योगदानको सम्मान स्वरुप पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने इच्छा पूरा नहुँदा दुःखित भएको स्थानीयवासी चलितर साहले बताए। शान्त र शालिन स्वाभावका व्यक्तित्व नेता गिरि पुर्खाैली गाउँ बस्तीपुर नजिकै खुट्टीखोलाको पश्चिम किनारको आश्रममा बस्दै आएका थिए । प्रदीपले आफ्नो अन्तिम संस्कार आश्रममै होस् भन्ने इच्छा व्यक्त गरेको स्थानीय रामकृष्ण चौधरीले बताए । उनका अनुसार प्रिय नेता गिरिको निधनले बस्तीपुरवासी शोकमा डुबेका छन् ।  अन्तिम संस्कार गाउँमा नहुँदा आफूहरू झनै दुःख लागेको चौधरीको भनाइ छ ।  

आफूहरूसँगै खेलेको, हुर्केको, भलाकुसारी गरेको, विभिन्न कालखण्डमा सहययोग एवं सद्भाव बाँडेका नेता गिरिको निधनका कारण गाउँ शोकाकुल छ । विसं २००४ मा जन्मिएका गिरि विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएका थिए । उनी २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप