आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादीसँग एकता गर्छौं, बाबुराम र वामदेवलाई पनि सँगै लैजान्छौं : पुन

मङ्गलबार, ०७ भदौ २०७९, १५ : ४३
मङ्गलबार, ०७ भदौ २०७९

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो दल र नेकपा एकीकृत समाजवादीबीच विचार र कार्यदिशामा समानता रहेको बताएका छन् । 

विचार मिलेकै कारण आसन्न ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा साझा घोषणापत्र बनाउने सहमति दुई दलबीच भएको उनले बताए । यस्तै एकता संयोजन समिति बनाउने र निर्वाचनपछि पार्टी एकता हुने सहमति आफूहरूबीच भइसकेको उनको भनाइ थियो । ‘माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा विचारको समानता छ । राजनीतिक कार्यदिशामा पनि एकरुपता छ । केही समय अगाडिसम्म हामी एउटै पार्टी नेकपामा सँगै थियौं’, मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग पुनले भने, ‘परिस्थितिले हामी अलग भएका छौं । तर फेरि पनि हामी वाम शक्तिहरु एक ठाउँमा आउनुपर्छ । यसमा सबभन्दा राजनीति मिल्नेहरू भनेको माओवादी र समाजवादी नै हो ।’ 

पुनले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसँग पनि एउटै घोषणापत्र बनाएर चुनावमा जानेबारे छलफल चलेको जानकारी दिए । ‘बाबुराम भट्टराईजी र वामदेव गौतमजीसँग पनि कुरा भइरहेको छ’, पुनले भने, ‘सकेसम्म एउटै घोषणापत्र बनाएर जाने कुरा भइरहेको छ ।’ 

यस्तै उनले सत्ता गठबन्धनमा रहेका काँग्रेससहित अन्य दलसँग न्यूनतम साझा कार्यक्रम बनाएर निर्वाचनमा जाने बताए । मुलुकको परराष्ट्र नीति, तथा सुशासन र विकासबारे समान धारणा बनाएर जनताका बीचमा लैजाने उनले स्पष्ट गरे । राजनीतिक स्थायित्व, संविधानको रक्षा र संविधानमा उल्लेख जनताका अधिकार कार्यान्वयनका लागि वर्तमान सत्ता गठबन्धन बनेको चर्चा गर्दै उनले ती विषय पनि आफूहरुको साझा चुनावी एजेण्डा भएको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप