एनआरएनएको गुटबन्दीमा सीईओलाई चोट : नियुक्ति भएको एक महिना नपुग्दै तलब काटियो
गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र कायम गुटबन्दी नयाँ विषय होइन । गुटबन्दीकै कारण अघिल्लो महाधिवेशनबाट एनआरएनएमा तीन जना अध्यक्ष बने ।
चक्रिय प्रणाली अनुसार पालैपालो नेतृत्व गर्नेगरी कुल आचार्य, रविना थापा र डा बद्री केसी अध्यक्ष बनेको संस्थामा पदाधिकारीमात्र २०० बढी छन् । संस्थामा अति राजनीतिकरण हुँदा फुटतर्फ गएपछि सबैलाई खुसी पार्ने र एनआरएनए जोगाउने रणनीतिका साथ २०० बढीलाई पद दिइएको थियो । तर, तीन जनाले अध्यक्ष पाउँदासम्म एनआरएनएभित्रको विवाद साम्य भएको छैन ।
एक अर्काप्रति अझैपनि विश्वासको वातावरण नभएको एनआरएनएको नेतृत्वले हालै सीईओ नियुक्त गर्यो । तर, सीईओ नियुक्ति पनि विवादमुक्त रहन सकेन । हालका कार्यकारी अध्यक्ष कुल आचार्यको विशेष जोडबलमा भएको सीईओ नियुक्तिका क्रममा भएको समझदारीपत्र अहिले आएर कार्यान्वयन नहुने स्थितिमा पुगेको छ ।
एनआरएनएको विज्ञापनअनुसार राजेन्द्रकुमार राउत, अग्निप्रसाद उपाध्याय, बन्दना शर्मा र रविकुमार अधिकारी अन्तरवार्तामा सहभागी थिए । जसअनुसार छनोट समितिले अधिकारी र राउतको नाम सिफारिस गरेको थियो । तर, अन्तिम समयमा रवि कुमारलाई नियुक्ति दिइयो ।
२ वर्षे नियुक्तिका लागि गत साउन २० मा भएको सम्झौताअनुसार मासिक आधारभूत तलब १ लाख ४८ हजार ३६५ रुपैयाँ दिने उल्लेख छ। यस्तै सञ्चयकोष १४ हजार ८३८, उपदान १२ हजार ३५८, महंगी भत्ता ३१ हजार ७१६, इन्धन भत्ता ३० हजार र खाजा भत्ता १० हजार रुपैयाँ दिने उल्लेख छ । आधारभूत पारिश्रमिक ६० प्रतिशत तथा भत्ता ४० प्रतिशतका अनुपातले राखिएको सम्झौतापत्रमा उल्लेख छ ।
तर, कर्मचारी नियुक्ति सम्बन्धी नियमावली र गैरआवासीय नेपाली संघको विधान विपरित नियुक्त गरिएको भन्दै एनआरएनए पदाधिकारीबीचमै चरण असन्तुष्टि छायो । सोही असन्तुष्टि पछि नियुक्तिको एक महिना नबित्दै सिइओ अधिकारीको तलव भत्ता कटौती गर्ने निर्णय भएको छ ।
आइतबार बसेको पदाधिकारी बैठकले संघको नियमावली अनुरुप हुने गरी उनको तलव भत्ता समायोजन गर्ने निर्णय गरेको हो । जसअनुसार नियमित तलब कायमै भएपनि अतिरिक्त सुविधामा भारी कटौती गरिएको छ । संघको नियमावलीमा सीईओले पारिश्रमिकको रुपमा एक लाख ४८ हजार तीन सय ६५ रुपैयाँ पाउनु पर्ने उल्लेख छ ।
अध्यक्ष कुल आचार्य आचार्य र महासचिव जोशीको निर्णय संघको कर्मचारी नियमावली विपरित रहेको भन्दै संघका एक दर्जन भन्दा बढी पदाधिकारीहरुले लिखित रुपमा असहमति राखेका थिए । आइतबारको निर्णयसँगै अधिकारीले यसअघि पाउने भनिएको इन्धन भत्ता ३० हजारबाट घटाएर पाँच हजार कायम गरिएको छ । खाजा भत्तामा छुट्टै खाना भत्ता १० हजार रूपैयाँबाट घटाएर ३७ सय कायम भएको छ ।
एनआरएनए अध्यक्ष डा बद्री केसीले पदाधिकारी बैठकले संघको कर्मचारी नियुक्ती सम्बन्धी नियमावली अनुरुप सबै कर्मचारीको तलव भत्ता कायम गर्ने निर्णय गरिएको बताए । बैठकले संघको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुको योग्यता, कार्यक्षमता र दरबन्दी पुनरावलोकन गर्न एक स्वतन्त्र कम्पनी मार्फत गर्ने निर्णय गरेको केसीले जानकारी दिए ।
यसअघिको पदाधिकारी बैठकमा संघका महासचिव जोशीले आफूले संघको विधि र विधान मिचेको स्वीकार गर्दै बैठकमै क्षमायाचना गरेका थिए । आइतबार भएको सहमति अनुसार प्रमुख कार्यकारी निर्देशकको पुरानै सेवा र सुविधा अनुसार लागू गर्दा हाल दिने भनिएको सुविधामा करिब ५७ हजार मासिक रुपमा घट्ने बताइएको छ ।
एक पदाधिकारीले भने, ‘कर्मचारी नियमावली विपरित जाने कुरै भएन । भविष्यमा दिनै पर्ने भए नियमावली संशोधन गर्न सकिन्छ । तर, अहिले नियमावलीमा जे छ त्यसमा दायाँबायाँ हुँदैन भनेर निर्णय भएको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै