टीकापुर आन्दोलनको सम्झना र थारू फुटको सन्देश
२०७२ भदौ ७ गते टीकापुर आन्दोलनको सम्झनामा केही न केही कार्यक्रम थरुहट सङ्घसंस्थाहरूले गर्ने गरेका छन् । यस वर्ष पनि दुई दिने कार्यक्रम हुँदेछ । सो दिनको सम्झनामा टीकापुरमा नागरिक उन्मुक्ति पार्टी तथा थरुहट, थारुवान मोर्चाको छुट्टाछुट्टै कार्यक्रम छ । छुट्टाछुट्टै कार्यक्रमले थारुहरूमा फुटको सन्देश गएको कतिपयको भनाइ छ ।
न नागरिक उन्मुक्ति पार्टीको भातृसंगठन मोर्चा हो, न मोर्चाको भातृसंगठन नागरिक उन्मुक्ति पार्टी हो । दुवै आफैँमा सार्वभौम संस्था÷दल हुन् । यी दुवै आ–आफ्नो कार्यक्रम तय गर्न स्वतन्त्र छन् । अनि यी बिल्कूल अलग दुई संस्थाले अलग कार्यक्रम गर्दा फुटेको कसरी हुन्छ ? यदि नागरिक उन्मुक्ति पार्टी आफैँमा दुई खेमामा विभाजित भएर दुई अलग कार्यक्रम गरेको भए, त्यसलाई फुटेको भन्न मिल्छ । यदि मोर्चाभित्रै दुई अलग गुटले छुट्टाछुट्टै दुई अलग ठाउँमा कार्यक्रम गरेको भए, फुटेको भन्न मिल्छ ।
मोर्चा साझा प्लेटफर्म होे । मोर्चा न दर्ता गरिएको एनजीओ हो, न राजनैतिक संस्था हो । नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको एक राजनैतिक संस्था हो । अनि मोर्चा र नागरिक उन्मुक्ति पार्टीले छुट्टाछुट्दै कार्यक्रम गर्दा फुटेको कसरी हुन्छ ?
टीकापुर सम्मेलनको विरोध गर्नेहरू आज मोर्चाको आडमा किन नागरिक उन्मुक्ति पार्टीको कार्यक्रमको विरोध गदैछन् ? किनभने प्रदेश तथा संघीय सांसद्को चुनाव नजिकै छ ।
अनि को हुन् ती, जसले आज नागरिक उन्मुक्ति पार्टीले यो दिन कार्यक्रम गर्नुलाई गलत देख्दैछन् । यो दिनलाई सम्झिनुलाई गलत देख्दैछन् । यी तिनै हुन्, जसले २०७५ सालमा सम्पन्न भएको टीकापुर सम्मेलनको विरोध गरेका थिए । यि तिनै हुन्, जो न हिजो थरुहट थारूवानको आन्दोलनको पक्षमा थिए, न आज छन् । यी तिनै हुन्, जसलाई चुनाव जित्न थारूको भोट मात्रै चाहिएको हुन्छ, थारू चाहिएको हँुदैन । थारू अधिकार, थारू पहिचान, थारूको अस्तित्व केही चाहिएको हँुदैन । चाहिएको हुन्थ्यो भने तिनले पद र कुर्सीसँग थारूका मुद्धा साट्ने थिएनन् ।
२०७५ सालको टीकापुर सम्मेलन लक्ष्मण थारूको नेतृत्वमा भएको थियो । टीकापुरको झुठा मुद्धामा ४२ महिना जेल बसेर रिहा भएपछि उनको अगुवाइमा टीकापुर सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनमा देशभरका हजारौ थारूहरुको उपस्थिति रह्यो । तर टीकापुर घटना पहिले थरुहट थारूवान् आन्दोलनको एउटा घटक थारू सांसदहरुको समितिको संयोजक रहेका नेपाली काँग्रेसका रामजनम चौधरी, सदस्य डा गोपाल दहितलगायत उपस्थित भएनन् । सुनेअनुसार, तिनले उक्त कार्यक्रममा उपस्थित हुन नदिन अन्य धेरैलाई रोक्ने प्रयास गरेका थिए ।
नेकपा माओवादी केन्द्रको भातृसंगठन राष्ट्रिय थारू मुक्ति मोर्चाले त विज्ञप्ति नै जारी गरी २०७५ को टीकापुर सम्मेलनको विरोध गरेको थियो । हिजो लक्ष्मण थारूको नेतृत्वमा भएको टीकापुर सम्मेलनको विरोध गर्ने तत्त्व यिनै थिए । आज नागरिक उन्मुक्ति पार्टीले गर्ने टीकापुरको कार्यक्रमको विरोध गर्ने पनि यिनै तत्त्व हुन् ।
यो कुरा बुझ्न धेरै दिमाग लगाइरहनु पर्दैन कि टीकापुर सम्मेलनको विरोध गर्नेहरू आज मोर्चाको आडमा किन नागरिक उन्मुक्ति पार्टीको कार्यक्रमको विरोध गदैछन् ? किनभने प्रदेश तथा संघीय सांसद्को चुनाव नजिकै छ ।
जब जब चुनाव नजिकिन्छ, तिनले थारूहरुलाई निर्दोष देख्न थाल्दछन् । रेशम चौधरी निर्दोष हो भन्न थाल्दछन् । स्थानीय चुनाव सम्पन्न हुन केही साता पहिले केपी ओलीले रेशम चौधरी लगायत टीकापुर घटनाका थारूहरू निर्दोष छन् । निर्दोष थारूहरु छुट्नुपर्छ भन्न भ्याए । पुष्पकमल दाहाल प्रचण्डले पनि थारूहरु निर्दोष छन्, काठमाडौं गएर सिरियसली कुरा गर्छु भन्न भ्याए ।
उता रेशम चौधरी निर्दोष हुन् भनी अहिले काँग्रेसका नेताहरू पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ धाउँदैछन् । सात सात वर्षसम्म यिनीहरुलाई रेशम चौधरी निर्दोष हुन् भन्ने लागेन । टीकापुर घटना राजनैतिक हो भन्ने लागेन । अचम्म जब जब चुनाव आउन थाल्छ, तब तब अचानक ठूला दलका मसिहाहरुलाई रेशम चौधरीको बडो पीर पर्न थाल्छ । टीकापुर आन्दोलनमा सबै संलग्न निर्दोष हुन् भन्ने अभिव्यक्ति आउन थाल्छ ।
थारूहरुलाई धोखा दिएका उनीहरु थारूहरुका बिचमा कसरी जाने बाटो खोज्दैछन् । अहिलेसम्म उनीहरुले थारूहरुलाई ठगेका मात्र छन् । कसैले थारूवान् राज्य दिन्छु भनी ठगियो । कसैले म मन्त्री भएपछि जेल परेका थारूहरुलाई छुटाउछु भनी ठगियो । ती ठग्नेहरु आज एक भएका छन् । हिजो एकले अर्कोलाई कारबाही गर्थे । एकले अर्कोको हत्या गर्थे । अहिले सत्तामा बसिरहन र सत्तामा बसेर राष्ट्रको ढुकुटीमाथि रजाई गरिरहने स्वार्थ मिलेपछि एक भएर एकै स्वरमा नागरिक उन्मुक्ति पार्टीको कार्यक्रमको विरोध गर्दैछन् । अनि ती विरोधीले टीकापुर विद्रोह दिवस मनाउने क्रममा नागरिक उन्मुक्ति पार्टीको ब्यानर किन देख्न चाहना राख्लान् र ?
टीकापुरमा घटनामा जबर्जस्ती मुछिएका लक्ष्मण थारू ४२ महिनापछि रिहा भएका थिए । उनी चुपचाप बसेको भए उनलाई तोकिएको साढे ३ वर्ष कैदको अन्तिम टुंगो लाग्थ्यो होला । तर जेल रिहाइ लगत्तै पुनः थरुहट थारुवान मोर्चामार्फत आन्दोलन उठाएकै कारण उनलाई आजीवन जन्मकैदको फैसला तोकिएको छ । जबकि उनी सो दिन घटनास्थलमै थिएनन् ।
थरुहट, थारुवान मोर्चा र नागरिक उन्मुक्ति पार्टीले सँगै कार्यक्रम गर्ने सहमति पनि भएको थियो । यद्यपि उक्त सहमतिलाई कार्यान्वयन हुन नदिन भड्काउपूर्ण भूमिका खेल्ने पनि तिनै आन्दोलन विरोधी तत्त्वहरू हुन् । तर थारू फुटाएको मिथ्या आरोप लगाउदैछन् नागरिक उन्मुक्ति पार्टीलाई ।
थारूहरु कहिले एक थिए र ? कोही थारू राजतन्त्रको खरो विरोध गरिरहदा, कोही थारू तिनै राजाका मन्त्री हुन गए । कोही थारू जनयुद्धमा क्रान्तिको बिगुल फुक्दा, टाउकाको मूल्य तोक्ने दलमा आबद्ध भई थारूमाथि गोली चलाउने थारू पनि थिए । कोही थारू, थारूका निम्ति आफ्नो ज्यान दिन तयार थिए, कोही थारूले निहत्था साधारण थारूहरुको हत्या गरे । साच्चै थारूहरु कहिले एक थिए ? र, सम्पूर्ण थारूहरु कसरी एक हुन सक्छन् ? कुनै पनि जाति समुदाय सम्पूर्ण रूपमा एक हुन सम्भव हुन्छ ? अनि सम्पूर्ण थारू एकै विचारमा आबद्ध हुन् सम्भव हुन्छ ? पक्ष र विपक्ष विश्वव्यापी हुन्छ । र यसो हुनु अवैज्ञानिक होइन ।
नागरिक उन्मुक्ति पार्टीको मूल जरो, मूल आधार नै टीकापुर घटना हो । २०७२ भदौ ८ गते कर्फ्यु घोषणा गरेको समयमा थारूहरुको घर, पसल, खोकामा आगो लगाइयो । रेशम चौधरीको फूलवारी रिसोर्ट, फूलवारी एफएम लुटियो र आगजनी गरियो । अनि घटनास्थलमा नरहेका उल्टै उनीमाथि नै चोरी डकैती, हत्याको केस लगाइयो ।
टीकापुरमा घटनामा जबर्जस्ती मुछिएका लक्ष्मण थारू ४२ महिनापछि रिहा भएका थिए । उनी चुपचाप बसेको भए उनलाई तोकिएको साढे ३ वर्ष कैदको अन्तिम टुंगो लाग्थ्यो होला । तर जेल रिहाइ लगत्तै पुनः थरुहट थारुवान मोर्चामार्फत आन्दोलन उठाएकै कारण उनलाई आजीवन जन्मकैदको फैसला तोकिएको छ । जबकि उनी सो दिन घटनास्थलमै थिएनन् ।
उता टीकापुर घटना हुँदाको बखत जिल्ला प्रशासन कार्यालय धनगढीमा प्रमुख जिल्ला अधिकारीसंगै रहेका तात्कालीन थारु कल्याणकारिणी सभाका कैलाली जिल्ला अध्यक्ष लाहुराम चौधरी अजगरलाई मुद्धा लगाइयो । थारूहरुलाई लगाइएका ती मुद्धा कपोलकल्पित थिए, बनावटी थिए । यसरी लगाइएका मुद्धा थारूहरुमाथि राज्यले गरेको शक्तिको दुरुपयोग थियो । थारूहरुमाथि जुन किसिमको अपराध भयो, हाम्रो पुस्ताले भोगेको राज्य अपराधको एक कुरुप यथार्थ हो ।
राज्यले थारूमाथि गरेकोे यति निकृष्ट अपराधका बारेमा सात वर्षसम्म कोही सम्वेदनशील नभएपछि रेशम चौधरीले कारागार भित्रैबाट पार्टी खोल्नु भयो । अनि यो पार्टीले टीकापुर घटनालाई अहिले आफ्नो ढंगले सम्झिन नपाउनु ?
दल र मोर्चा बिल्कुल फरक विषय हुन् । यी दुवैलाई आआफ्ना कार्यक्रम आफ्नै ढंगले गर्न स्वतन्त्रता छ । अनि हामी किन थारूहरु फुटे भनी हौवा पिट्छौ । के हामीमा यति सामान्य राजनीतिक चेतना पनि नभएको हो ?
लेखिका नागरिक उन्मुक्ति पार्टीमा आबद्ध छिन्