शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

जङ्गली हात्ती मानव बस्ती प्रवेश गरेपछि त्रास

मङ्गलबार, ०७ भदौ २०७९, १० : ४३
मङ्गलबार, ०७ भदौ २०७९

कमलामाई नगरपालिकाको वडा नं ९ र १० मा राति जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । रातका समयमा तीन हात्ती बस्तीमा प्रवेश गर्दा स्थानीय रातभर नै जाग्राम बस्नुपरेको थियो । कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटाले राति जङ्गली हात्ती देखिएपछि स्थानीयवासीलाई सुरक्षित भएर बस्न र संयमित हुन आग्रह गरिएको बताइन् । 

ती हात्ती राति १० बजे कमलामाई– ९ काउछे, अमाहा हुँदै कमलामाई –१० तर्फ लागेका थिए । सो क्षेत्रमा हरेक वर्षको हिउँद महिनामा जङ्गली हात्ती देखापर्ने गरेका छन् । तर यस वर्ष चाँडै नै हात्ती गाउँमा प्रवेश गरेको उनको भनाइ छ । यसअघि पनि जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरी घर भत्काउने, अन्नपात खाने, नष्ट गर्ने गरेको जनाउँदै हात्ती देखिए प्रहरीलाई खबर गर्न र संयमित रही सुरक्षित भएर बस्न नगर उपप्रमुख देवकोटाले आग्रह गरिन् ।

राति जङ्गली हात्ती निस्किएको र भर्खरै थाहा भएकाले त्यस क्षेत्रमा बुझ्न प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मानवीय क्षति नभएको र अन्य क्षतिको अवस्था भने प्रहरी पुगेपछि मात्र भन्न सकिने कार्यालयले जनाएको छ ।

दिउँसोमा जङ्गली हात्ती नदेखिने र रातको समयमा हात्ती देखिँदा स्थानीयमा त्रास वर्षौँदेखि रहँदै आएको छ । हात्तीका कारण मानव बस्ती असुरक्षित भएको जनाउँदै समस्याको समाधान गर्न स्थानीयले वर्षौँदेखि माग गर्दै आएका छन् । विगत केही वर्षयता जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरी भौतिक संरचना तथा अन्नपात गरी रु २२ लाख ७२ हजार तीन सय ९५ क्षति गरेको छ । पशु, बाली, अन्न, घरगोठलगायतमा हात्तीले क्षति गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप