बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘सर्टिफिकेट अफ ओरिजिन’ बिनै ३ अर्ब ३७ करोडको आयात

मङ्गलबार, ०७ भदौ २०७९, १० : ३०
मङ्गलबार, ०७ भदौ २०७९

सामान्यतयाः वस्तुको आयात गर्दा कुन प्रकृतिको र कुन देशबाट ल्याइएको भन्ने तथ्य (सर्टिफिकेट अफ ओरिजिन) खुलाउनु पर्छ । भन्सार नाकाहरूमा आयातको प्रक्रिया पुरा गर्दा कुन देशबाट कस्तो प्रकृतिको वस्तु आयात गरिएको भन्ने प्रमाण खुल्ने कागजात पनि पेस गर्नुपर्छ ।

तर, गत आर्थिक वर्षमा कुन देशबाट वस्तु आयात गरिएको भन्ने नै नखुुल्ने ३ अर्ब ३७ करोड रुपैयाँ बराबरको सामान भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार उक्त मूल्य बराबरको वस्तु कुन देशबाट आयात भएको भन्ने पत्ता लाग्दैन ।

नेपालमा विश्वका १७१ देशबाट नेपालमा वस्तु आयात हुने गर्छ । त्यसमध्ये विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार एउटा क्याटोगोरीमा देशको नाम ‘नट स्पेसिफाइड’ राखिएको छ । यसको अर्थ, ३ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु कुन देशबाट आयात हुन्छ भन्ने नै थाहा छैन ।

भन्सार विभागका सूचना अधिकारी पूण्यबिक्रम खड्काले विदेशबाट नेपाल आउने यात्रुहरूले ल्याएको सामानको सर्टिफिकेट अफ ओरिजिन नखुलेको हुन सक्ने बताए । ‘विदेशबाट आउने यात्रुले भन्सारमा ल्याएको वस्तु सूचीकृत गर्छन् तर, उनीहरूले कुन देशबाट ल्याएको भन्ने तथ्यांक उपलब्ध हुँदैन,’ खड्काले रातोपाटीसँग भने ।

गत आर्थिक वर्षमा २६ लाख ३१ हजार रुपैयाँ बराबरको फिल्टर ब्लक आयात भएको देखिएको छ । यस्तै, १ करोड २६ लाख रुपैयाँ बराबरको पेपरबोर्ड आयात भएको छ । यी वस्तु कुन देशबाट आयात भएको हो भन्ने जानकारी विभागलाई नै छैन ।

यस्तै, नेपाल भित्रिएको १ करोड ९१ लाख रुपैयाँ बराबरको चेक फर्म, स्ट्याम्प इम्प्रेस पेपर लगायतका वस्तु समेत कुन देशबाट भित्रिएको भन्ने तथ्यांक छैन । विदेशबाट आयात हुने करोडौं रुपैयाँ बराबरको लत्ताकपडा समेत कुन देशबाट भित्रिन्छ भन्ने तथ्यांक नखुलेको विभागले जनाएको छ ।

सूचना अधिकारी खड्काले यात्रुहरूले आफूूसँग बोकेर ल्याउने वस्तुको उत्पादन देश नखुल्ने बताए पनि निर्माण सामाग्रीका रूपमा प्रयोग हुने करोडौंको टायल समेत कुन देशबाट आयात भएको भन्ने खुुलेको छैन । गत वर्ष नेपालमा १ करोड ५१ लाख रुपैयाँको टायल कुन देशबाट भित्रियो भन्ने तथ्यांक नै छैन । यसले नेपालको वैदेशिक व्यापारमा चरम विकृति रहेको पुष्टि गर्छ ।
यस्तै, ८ लाख रुपैयाँ बराबरको सवारी साधनमा प्रयोग हुने ऐना, १० लाख रुपैयाँ बराबरका काँचका ग्लास, ४६ लाखभन्दा बढीको टेबलमा प्रयोग हुने ग्लास समेत उत्पादनको सर्टिफिकेट नदेखाई आयात भएको देखिन्छ । १ करोड १९ लाख रुपैयाँ बराबरको फलामजन्य वस्तु समेत कुन देशबाट आयात हुन्छ भनेर खुलाइएको छैन ।

यसका साथै, २९ लाखभन्दा बढीको अटोमेटिक डोर क्लोजर, ८ करोड १६ लाखभन्दा बढीको पानीबाट चल्ने मेसिन समेत भित्रिएको देखिन्छ । र, १६ लाखभन्दा बढीको यी मेसिनका पार्टस कुन देशबाट आयात गरिएको हो भन्ने नै नखुलाई आयात भएको छ । यस्तै, १२ लाख रुपैयाँको एयर पम्पस्, १२ लाखको मेसिनरी पार्टस समेत कुन देशबाट आयात भएको हो भन्ने स्पष्ट जानकारी छैन ।

यसका साथै, १२ लाख मूल्य बराबरको रेफ्रिजेरेटर र फ्रिजका पार्टपूर्जा आयात भएको छ । १३ लाख रुपैयाँको हिटिङ÷कुलिङ मेसिन आयात हुँदा ८८ लाख रुपैयाँको पेट्रोलियम पदार्थ फिल्टर गर्ने मेसिन भित्रिएको तथ्यांकले देखाएको छ । यस्तै, ९२ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्टका लागि चाहिने वस्तु भित्रिँदा ७१ लाखको वासिङ मेसिन आयात भएको छ ।

विभागको तथ्यांक हेर्दा २ करोड ७० लाख रुपैयाँ बराबरको स्प्रे गन समेत कुन देशबाट आयात भएको छ भन्ने तथ्य भेटिँदैन । २ करोड १९ लाख रुपैयाँभन्दा बढीको पोल्टी इन्कुुवेटर्स, ५ करोड ४५ लाख रुपैयाँ बराबरको पोल्ट्री मेसिन समेत आयात भएको छ । यसका साथै, ८१ लाख रुपैयाँ बराबरको मिलिङ मेसिनरी आयात भएको तथ्यांकले देखाउँछ ।

यस्तै, २० लाखभन्दा बढीको मेसिनरी पार्टस, २६ लाखभन्दा बढीको टेक्सटायल डबलिङ मेसिन, २१ लाखको टेक्सटायल बाइन्डिङ, ९० लाखको वासिङ मेसिन, २८ लाखको ड्राइङ मेसिन, २३ लाखको आइरन मेसिन, १ करोड ३४ लाखको मेसिनरी, २ करोड ४९ लाखको कम्प्यूटर कुन देशबाट आयात भएको हो भन्ने खुलेको छैन । यस्तै, १ करोड ६४ लाखको स्टोरेज युनिट, १ करोडको बायो फ्यूल मेसिन समेत आयात भएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप