बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रदेश कमिटी सदस्य सुरत रावतद्वारा कैलाली ४ 'क' मा उम्मेदवारी घोषणा

सोमबार, ०६ भदौ २०७९, २० : २७
सोमबार, ०६ भदौ २०७९

नेपाली काँग्रेसका नेता सुरत रावत डोटेली कान्छाले मंसिर ४ मा हुने निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेस सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत रहेका रावतले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ 'क' बाट प्रदेश सभामा उम्मेदवारी घोषणा गरेका हुन् ।

'राजनीतिमा युवा नेतृत्व आवश्यक छ । मैले पार्टीमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्दै आएको छु । पार्टीको वडादेखि केन्द्रसम्म नै सबैसँग राम्रो सम्बन्ध छ । पार्टीभित्रका सबै गुटले रुचाउने भएकाले पनि मेरो उम्मेदवारी हो । सबैले रुचाउने भएकै कारण मैले सहजै जित्नसक्छु,' उनले भने ।

उनले आफूले सधैँ पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएको बताएका छन् । 'म प्रतक्षतर्फ मात्रै भन्दैन । पार्टीलाई सहज हुनेगरी समानुपातिकमा पठाउने निर्णय गरे पनि मेरा लागि स्वीकार्य हुन्छ । म सहज र सबैलाई सम्मान गरेर अघि बढ्नुपर्छ भन्ने मान्यता राख्छु । तर, योगदानको उचित कदर हुनुपर्छ,' उनले भने ।

उनले युवाहरूको चाहना र अग्रजको सुझाव अनुसार नै आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन् । गौरीगंगा नगरपालिका-६ बनबेहडा निवासी रावत चर्चित लोक देउडा गायकसमेत हुन् । उनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान सुदूरपश्चिम संयोजक, नेपाल सांस्कृतिक संघका केन्द्रीय उपाध्यक्ष तथा देउडा प्रतिष्ठानका उपाध्यक्ष रहेका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेकाले उनको प्रदेश सभापति बीरबहादुर बलायर, केन्द्रीय सदस्य एनपी साउँद, रमेश लेखक र नैनसिंह महरलगायत केन्द्रीय नेताहरूसँग पनि राम्रो सम्बन्ध रहेको छ । सबैलाई मिलाउन सक्ने क्षमता, स्पष्ट वक्ता र लोकप्रिय कलाकार भएकाले पनि रावतले टिकट पाउने सम्भावना रहेको बताइएको छ । उनले जिम्मेवारी पाए सबैलाई मिलाएर लैजाने कुरामा आफू सधैँ सजग रहने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप