मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महाअभियोग सिफारिस समितिको दोस्रो बैठक मंगलबार बस्दै

सोमबार, ०६ भदौ २०७९, १५ : ४९
सोमबार, ०६ भदौ २०७९

महाअभियोग सिफारिस समितिको बैठक मंगलबार बस्ने भएको छ । यो समितिको पहिलो बैठक भदौ १ गते बसेको थियो । दोस्रो बैठक ७ गते बस्न लागेको हो ।  समितिका जेष्ठ सदस्य रामबहादुर विष्टका अनुसार मंगलबार दिउँसो २ बजे बैठक बस्ने तय भएको छ । उक्त बैठकमा यसअघि वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको अध्ययन कार्यतालिका पेस गर्ने कार्यसूची छ । 

‘महाअभियोग उपर कुन दिन के गर्ने, कति दिनमा सकाउने भनेर कार्यतालिका पेस गर्ने र पास गर्ने हाम्रो प्रयास रहन्छ’ मंगलबारको बैठकको तयारीबारे जानकारी दिँदै जेष्ठ सदस्य विष्टले भने ।  साथसाथै, समितिको सभापति चयनको विषय पनि उठ्न सक्ने उनले बताए । ‘पहिलो बैठकमा सभापतिको कुरा उठेको थियो । यसबीचमा सभापतिकै लागि खास तयारी त भएको छैन । तर, पनि उठ्न सक्छ,’ विष्टले भनेका छन् । 

प्रतिनिधिसभामा दर्ता भएको जबरा विरुद्धको महाअभियोग उपर अध्ययन गर्ने जिम्मेवारी महाअभियोग सिफारिस समितिले २२ साउनमा पाएको थियो । जिम्मेवारी पाएको नौ दिनपछि महाअभियोग सिफारिस समितिको पहिलो बैठक बसेको थियो । पहिलो बैठक बसेको सात दिनपछि मंगलबार दोस्रो बैठक बस्न लागेको हो ।

१ फागुन २०७८ मा ९८ जना प्रतिनिधिसभा सदस्यहरुले जबराविरुद्ध महाभियोग दर्ता गराएका थिए । जबरा विरुद्धको महाभियोग प्रस्ताव २९ फागुन २०७८ मा प्रतिनिधिसभा बैठकमा पेस भएको थियो । प्रतिनिधिसभाले २२ साउन २०७९ मा जबरा विरुद्धको महाअभियोग प्रस्ताव, महाअभियोग सिफारिस समितिमा पठाएको थियो । 

प्रतिनिधिसभा नियमावलीले महाअभियोग दर्ता भएपछि दुई साताभित्रै छानविनका लागि महाअभियोग सिफारिस समितिमा पुग्ने र समितिले जिम्मेवारी पाएको ३ महिनाभित्र अध्ययन सकाएर सिफारिस गर्नुपर्ने भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप