मोरङ–२ मा मिनेन्द्र कि सुजाता ?

प्रतिनिधिसभा अन्तर्गत मोरङको क्षेत्र नम्बर २ मा उम्मेदवारीका लागि नेपाली कांग्रेसभित्रै कडा संघर्ष हुने भएको छ । पार्टीका दुई प्रभावशाली नेता सुजाता कोइराला र डा. मिनेन्द्र रिजालले उक्त क्षेत्रबाट उम्मेदवारीका लागि दाबी गरेपछि कसलाई उम्मेदवार बनाउने भन्नेमा पार्टीभित्रै रस्साकस्सी हुने भएको हो ।
२०७४ सालको निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट कांग्रेस नेता मिनेन्द्र रिजालले नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका ऋषिकेश पोखरेललाई पराजित गरेका थिए । उनले ३५ हजार ८१९ मत ल्याउँदा एमाले नेता पोखरेलले ३४ हजार १४ मत पाएका थिए ।
सोही निर्वाचन क्षेत्रको प्रदेश ‘क’ मा नेपाली कांग्रेसका शिवनारायण गनगाई विजयी हुँदा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता गणेश प्रसाद उप्रेती पराजित बनेका थिए । गनगाईले १६ हजार ४१८ मत ल्याउँदा उप्रेतीले १५ हजार १०७ मत पाएका थिए । यस्तै प्रदेशको निर्वाचन क्षेत्र ‘ख’ मा भने वाम गठबन्धनबाट एमालेका लिलाबल्लभ अधिकारी १८ हजार ३८६ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका घणिन्द्र बहादुर कुँवरले १७ हजार १२७ मत मात्र पाएका थिए ।
आगामी निर्वाचनमा सो क्षेत्रबाट कांग्रेसकै दुई प्रभावशाली नेताको दाबी रहँदा सत्तारुढ गठबन्धनबाटै माओवादी नेता गणेश उप्रेतीलगायतले पनि आकांक्षा देखाएका छन् । यता, नेकपा एमालेबाट भने ऋषिकेश पोखरेलको उम्मेदवारी लगभग निश्चित देखिन्छ ।
ऋषिकेश पोखरेल र गणेश प्रसाद उप्रेती
स्थानीय तहमा कांग्रेस कमजोर
०७४ सालमा क्षेत्र नम्बर २ मा पर्ने रतुवामाई नगरपालिकामा कांग्रेसबाट बहुमत वडाध्यक्षसहित प्रमुखमा रविन राई विजयी बनेका थिए । यस्तै सुनवर्षीमा पनि कांग्रेसका कालीप्रसाद दास बहुमत वडाअध्यक्षका साथ विजयी बनेका थिए । सोही क्षेत्रमा पर्ने रंगेली नगरपालिकाको ५ वटा वडा र कानेपोखरी गाउँपालिकाको ३ वटा वडामध्ये कांग्रेसले उल्लेख्य वडा जितेको थियो ।
यस पटकको स्थानीय निर्वाचनमा कांग्रेसले त्यो साख जोगाउन सकेन । जबकि, अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमाले विभाजित भइ अझ कमजोर बनेको अवस्था थियो ।
गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा माओवादीको सहयोगमा रतुवामाई प्रमुखमा कांग्रेसले जिते पनि उपप्रमुख सहित बहुमत वडाध्यक्ष एमालेले जितेको छ । बरु अघिल्लो निर्वाचनमा एउटै वडा नजितेको माओवादीले एउटा वडा जित्न सफल भएको छ ।
यस्तै अघिल्लो पटक कांग्रेसले प्रमुख, उपप्रमुख सहित बहुमत वडा जितेको सुनवर्षी नगरपालिकामा यसपटक भने एमालेले प्रमुख, उपप्रमुख मात्रै जितेको छैन, बहुमत वडा पनि जितेको छ । सोही क्षेत्रमा पर्ने कानेपोखरीमा पनि एमालेले जितेको छ । रंगेलीको ५ वटै वडा एमालेले जितेको छ ।
सो क्षेत्रमा समग्र वडाध्यक्षको मतमा पनि एमाले ठूलो छ । एमालेको ३१ हजार ३४० मत आएको छ भने कांग्रेसको २८ हजार ६१४ मत छ । सो क्षेत्रमा माओवादी केन्द्रको ७ हजार २७१ र जसपाको मत ४ हजार ३४६ छ । सत्ता गठबन्धन दल मिलेको खण्डमा ४० हजार २३१ मत हुन्छ ।
गठबन्धन नमिलाए कांग्रेसलाई कठिन
सत्ता गठबन्धन दलहरु निर्वाचनमा मिलेर जाने घोषणा गरिरहँदा कांग्रेसभित्रै टिकट खोसाखोसले मोरङको २ नम्बर क्षेत्र प्रभावित बन्ने देखिन्छ । सुजाता कोइरालाले आफ्ना पिता गिरिजाप्रसाद कोइरालाको लिगेसीको दाबी गरिरहँदा दुवै पक्षका कार्यकर्ता टिकटको लबिङमा छन् ।
कांग्रेसले गठबन्धन दल माओवादी केन्द्रलाई मिलाउन नसकेको खण्डमा जुनसुकै उम्मेदवारलाई पनि गाह्रो हुने देखिन्छ । कांग्रेसले यस पटक पनि सुनवर्षी जित्ने अवस्था थियो । तर, टिकट पहुँचको भरमा वितरण हुँदा त्यहाँका मधेसी समुदाय भड्केको बताइन्छ ।
संघमा जित्नका लागि २(ख) मा पनि आफ्नो उम्मेदवार उठाउनु पर्ने आवश्यकता कांग्रेसलाई रहेको सोही पार्टीका कतिपय नेता बताउँछन् । सो क्षेत्रबाट जितेका सांसद शिवनारायण गनगाईले खासै विकास निर्माणको काम नगरेको आरोप लागेको छ । माओवादी केन्द्र भने आफू जित्ने ठाउँमा मात्रै दाबी गर्ने, नजित्ने ठाउँमा बल नगर्ने बताउँदै आएको छ ।
माओवादी केन्द्रले प्रदेश निर्वाचन क्षेत्र २(ख) मा आफ्नो उम्मेदवार सशक्त नभएका कारण पनि २(क)मा दाबी गर्ने तयारी गरेको छ । स्थानीय तहमा कांग्रेसले धोका दिएको माओवादी केन्द्रले फेरि पनि भोट आउँछ भन्ने आशा नरहेको बताएको छ । ‘स्थानीय तह निर्वाचनमा हामीलाई धोका भयो, कांग्रेसले भोट नै दिएन,’ सो क्षेत्रका माओवादीका एक नेताले भने, ‘खर्चको व्यवस्थापन गर्न नसक्ने अवस्थामा जबर्जस्ती लिएर हार्नुभन्दा जित्ने ठाउँतिर लिए हुन्छ ।’
मोरङमा गठबन्धनलाई विजयी गराउने हो भने केन्द्रको मापदण्ड लागू हुन नसक्ने भन्दै दलहरूले छुट्टा छुट्दै लविङ गरिरहेका छन् । ‘मोरङको क्षेत्र नम्बर ६ मा एउटा प्रदेश सांसद त माओवादीलाई दिनै पर्छ, ४ नम्बरमा पनि माथिको मापदण्ड लागू नहुन सक्छ,’ कांग्रेसका एक नेताले भने, ‘क्षेत्र नम्बर ३ र ५ मा पनि त्यो मापदण्ड लागू हुन नसक्ने देखिन्छ ।’ त्यसो हुँदा क्षेत्र नम्बर २ (क) माओवादीले पाउन पनि सक्ने उनको भनाइ छ ।
समानुपातिकमा उठ्न मिनेन्द्रलाई सुजाताको आग्रह
डा. मिनेन्द्र रिजालले अघिल्लो पटक आफूले जितेकै आधारमा सो क्षेत्र फेरि कांग्रेसले पाउने भन्दै अब सो क्षेत्रबाट को उठ्छ भनेर सोधिराख्नु नपर्ने बताए । ‘अघिल्लो पटक वाम गठबन्धनलाई पराजित गरेर मैले जितेकै कारण अहिले पनि सो क्षेत्र कांग्रेसले पाउँदैछ भने पार्टीले मलाई टिकट नदिएर कसलाई दिने त ?,’ उनले भने, ‘सबै साथीहरुको आकांक्षा हुन्छ, दाबी गर्न पाउनु हुन्छ, यसबारे मैले नकारात्मक टिप्पणी पनि गर्दिनँ ।’
रिजालले आफू नै सो क्षेत्रको उम्मेदवार रहेको घुमाउरो दाबी गरे ।
यता, काँग्रेस नेतृ सुजाता कोइरालाले आफू सो क्षेत्रबाट यस पटक निर्वाचन लड्ने बताइन् । ‘यसअघि म बिरामी थिएँ र मैले त्यो क्षेत्र मिनेन्द्रजीलाई छोडेको हुँ,’ कोइरालाले भनिन्, ‘अब म ठिक भइसक्या छु, उहाँलाई तपाई समानुपातिकमा बस्नुहोला, म चुनाव लड्छु भनिसकेको छु, उहाँले सल्लाह गर्नुपर्छ भन्नुभएको छ, यस पटक त म छोड्दिनँ ।’
अघिल्लो पटक पनि रिजाललाई आफूले सल्लाहमै छोडेको र अब रिजालले आफूलाई सल्लाहमै सो क्षेत्र छोड्नेमा आफू विश्वस्त रहेको उनले बताइन् । नेकपा एमाले मोरङका अध्यक्ष तथा संविधानसभा सदस्य ऋषिकेश पोखरेलले एमालेबाट को उठ्ने भन्ने विषय मतदाताको सर्भेक्षणबाट टुंगो लगाउने बताए । ‘हामीले भदौ मसान्तसम्म उम्मेदवारीबारे घोषणा नगर्ने भनेका छौं, माथिल्लो तहबाटै उम्मेदवारी घोषणा गर्दा मतदाता मौन बस्छन्, उम्मेदवारी घोषणा नगरी हामीले मतदाताबाट प्रतिक्रिया दिइरहेका छौं,’ पोखरेलले भने ।
एमाले स्रोतका अनुसार सो क्षेत्रबाट पोखरेलले नै निर्विवाद उम्मेदवार हुन् । उनलाई टक्कर दिने नेता सो क्षेत्रमा अहिलेसम्म देखिएका छैनन् ।
यता, माओवादी केन्द्रले भने सो क्षेत्रबाट संघमा उम्मेदवारी दाबी नगर्ने जनाएको छ । सो क्षेत्रका नेता तथा माओवादी १ नम्बर प्रदेशका सचिव गणेश उप्रेतीले पनि आफूहरुको दाबी संघमा नरहेको र प्रदेश ‘क’ मा रहने बताए । ‘हाम्रो दाबी प्रदेशसभातर्फ (क) क्षेत्रमा रहन्छ, तर हाम्रो चर्को दाबी छैन, कांग्रेस आफैले निर्णय गर्ने कुरा हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाखौँ भूमिहीनप्रति सरकार गम्भीर छैन
-
आज ५ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
जग्गा दर्ता गर्न कर्मचारी नै बाधक
-
महाकाली सीमा अतिक्रमणबारे वार्ता गर्न र भारतलाई तटबन्ध निर्माण रोक्न झलनाथको सुझाव
-
पहलगाममा आतंकवादी हमला : परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त
-
प्रधानमन्त्री ओलीद्वारा आतंकवादी हमलाको निन्दा