शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महासचिवका रुपमा देव गुरुङको आगामी बाटो : कति चुनौती कति अवसर ?

आइतबार, ०५ भदौ २०७९, २३ : २९
आइतबार, ०५ भदौ २०७९

नेकपा माओवादी केन्द्रको महासचिवमा देवप्रसाद गुरुङले जिम्मेवारी पाएपछि विभिन्न टिप्पणी हुन थालेको छ । नयाँ जिम्मेवारीमा उनी सामु अवसर र चुनौतीको दोहोरो चाङ रहेको धेरैको बुझाइ छ । गुरुङले आफ्नो जिम्मेवारीलाई कुन हदसम्म सफल तुल्याउँछन् भन्ने हेर्न केही समय कुर्नै पर्ने हुन्छ ।

उनी सर्वसम्मत रुपमा महासचिव चयन भएका हुन् । गत शनिबार बसेको स्थायी समिति बैठकबाट गुरुङले महासचिवको बागडोर सम्हाल्ने अवसर पाए । उक्त पदका लागि जनार्दन शर्मा र वर्षमान पुन मुख्य दाबेदार थिए । शर्मा र पुनबीच हानथाप भएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको वरीयताक्रमलाई आधार बनाई चौथो वरीयताका गुरुङलाई महासचिव बन्ने अवसर प्रदान गरे ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई जिम्मेवारी दिएपछि चौथो वरीयतामा रहेका गुरुङले महासचिवको जिम्मेवारी स्वाभाविक रुपमा पाएको नेताहरु बताउँछन् ।

गुरुङ तीन पटक सांसद र दुई पटक मन्त्री भइसकेका छन् । अन्तरिम विधायक भई संसद छिरेपछि २०६३ सालमा उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री भए । पहिलो संविधानसभा निर्वाचनमा मनाङबाट निर्वाचित भएका उनी प्रचण्ड नेतृत्वको तत्कालीन सरकारमा कानुन मन्त्री भए । दोस्रो संविधानसभा निर्वाचनमा मोहन वैद्य नेतृत्वको पार्टीमा गएकाले उम्मेदवार बन्न नपाएका उनी माओवादीमै फर्किएपछि लमजुङबाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भए । उनी माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतक पनि हुन् ।

गुरुङ पार्टीका सिनियर नेता भए पनि उनलाई गुटविहीन नेता मानिन्छ । त्यसैले पनि उनले महासचिवको जिम्मेवारी पाएको कतिपयको बुझाइ छ ।

देव गुरुङ पार्टी महासचिव भएसँगै उनीसामु चुनौती र अवसर दुवै भएको पार्टीका प्रस्तावित पोलिटब्युरो सदस्य हेमराज भण्डारी बताउँछन् । ‘उहाँ (देव गुरुङ) महासचिवका दाबेदार (शर्मा र पुन) भन्दा सिनियर हुनुभयो । उहाँहरुको अन्तरविरोध हल गरेर सँगै लान सक्ने वातावरण बनाएमा, पार्टीलाई संस्थागत निर्णय गराएर विधि र पद्धतिमा लग्न सकेमा उहाँको राजनीतिक भविष्य र हाइट दुवै बढेर जानेछ,’ रातोपाटीसँग भण्डारीले भने, ‘पार्टीको घेराबन्दीमा फसेमा, उनीहरुकै विवादमा रुमल्लिएमा, कुशलतापूर्वक सबैलाई संयोजन गरेर लग्न नसकेमा भने डाउन हुँदै जाने निश्चित छ ।’

गुरुङले संगठनात्मक विषयमा पहलकदमी लिने, पार्टीलाई सिस्टममा परिचालन गर्ने र संस्थागत निर्णयलाई समाएर गएमा अवसरै अवसर भएको भण्डारीको भनाइ छ । तर पार्टीको अवस्थालाई हेर्दा देव गुरुङ महासचिव भए पनि खासै नयाँ पन आउनेमा भण्डारी कमै आशावादी छन् । ‘देव गुरुङजी महासचिव हुँदा धेरै नयाँपन आउँछ जस्तो देखिँदैन । यसरी हेर्दा हिजो स्थायी समितिमा भएकै पावर एक्सरसाईजमा सहभागी साथीहरुको पदाधिकारी टिम बनेको छ । नयाँ अनुहार कोही छैन । सचिव बनाउँदा पनि युवा र महिलाहरु समेटिएको छैन । त्यस हिसावले हेर्दा नयाँपन हुनेमा आशंका छ,’ भण्डारीले भने ।

तर, गुरुङमा कतिपय बलिया पक्षसमेत भएकाले पार्टीलाई त्यसले फाइदा गर्नेमा भण्डारी आशावादी छन् । गुरुङ स्पष्ट विचार, सिद्धान्त र एजेण्डा सहित राष्ट्रियताको सवालमा झुक्दै नझुक्ने नेता भएकाले पार्टीलाई राम्रो हुने उनको भनाइ छ । ‘पार्टीको आधारभूत लाइनलाई समाउने सवालमा उहाँ प्रतिवद्ध हुनुहुन्छ । वर्गीय पक्षधरको सवालमा सापेक्षतामा इमानदार हुनुहुन्छ,’ गुरुङको सन्दर्भमा उनले भने, ‘अवसरका लागि सबैथोक गर्नुपर्छ भन्नेबाट मुक्त हुनुहुन्छ ।’

भण्डारीका अनुसार पार्टी खुला राजनीतिमा आएपछि दक्षिणपन्थी धारतिर जान खोज्दै छ । उनले भने, ‘जसरी माओवादी र कांग्रेस उस्ताउस्तै हो भन्ने छ, दक्षिणपन्थ यात्रामा गइरहेको पार्टीमा ब्रेक लगाउन सके राम्रो हुनेछ ।’

माओवादीबाट जनजाति समुदायबाट महासचिव बनाउनु पार्टी र आन्दोलनका लागि सकारात्मक भएको भण्डारीले बताए । माओवादीका अर्का प्रस्तावित पोलिटब्यूरो सदस्य निर्मल आचार्यले देव गुरुङलाई महासचिव बनाउनु पार्टीको स्वगतयोग्य निर्णय भएको टिप्पणी गरे । ‘पार्टीमा भएका नेतामध्ये गुरुङजी नै सिनियर नेता हुनुहुन्छ,’ उनले भने, ‘पार्टीमा साथीहरुले पोजिसन बनाउन खोजे भन्ने अध्यक्ष कमरेडलाई लाग्यो । सिनियरबाट महासचिव बनाउँ भनेर उहाँलाई बनाएकोजस्तो लाग्यो ।’

उनका अनुसार महरा उपाध्यक्ष भइसकेपछि वरिष्ठमा देव गुरुङ नै रहेकाले महासचिवको जिम्मेवारी पाएको हुन सक्छ ।

तर, तत्कालीन माओवादी नेता एवम् गुरुङका पूर्व सहकर्मी गोपाल किरातीले देव गुरुङलाई महासचिव बनाए पनि खासै भिन्नता नहुने टिप्पणी गरे । ‘मैले चिनेको गुरुङजी असाध्यै औपचारिक नेता हुनुहुन्छ । अनौपचारिक हुन नजान्ने । एक खालको कर्मचारी स्वभाव छ,’ किरातीले भने, ‘पार्टीले अह्राएको इमानदारिताका साथ गर्छन् । कानुन सम्बन्धी राम्रो ज्ञान देखिन्छ । संगठनकर्ता भने होइनन् ।’

माओवादीमा महासचिव वा अन्य जुनसुकै पद सिर्जना गरे पनि सबै चलाउने प्रचण्डले नै भएकाले अरु पदमा जो भए पनि खासै फरक नपर्ने किरातीको भनाइ छ । उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव हुँदैमा विशिष्ट र छुट्टै भूमिका नहुने उनले बताए ।

गुरुङमा संगठनलाई डोर्याउने खालको क्षमता नभएकाले पार्टीमा खासै उभार नआउने किरातीको भनाइ छ । तर पार्टीको जिम्मेवारी भएपछि क्षमताको विकास हुँदै गएमा सोही अनुसारको प्रदर्शन गर्न सक्ने उनले बताए ।

‘माओवादी आन्दोलनमा उहाँ(देव गुरुङ) वरिष्ठ नेता हो । प्रचण्ड सँगसँगै केन्द्रीय समितिमा आएको भन्ने गरिन्छ । माओवादी फुटाएर वाम बिसर्जन गर्ने कमान्डरमा उहाँ पनि एक नेता हो,’ किरातीले भने, ‘अधिकतम प्रगतिशील संविधान बन्दै थियो, त्यो रोकियो । वैद्य, विप्लव, बादल, गुरुङजी वाम बिसर्जन गर्नेहरु भए ।’

कुनै बेला पार्टी विभाजन गरी माओवादी सिध्याउन लागेका गुरुङ अहिले महासचिव भएर आएको टिप्पणी गर्दै उनले अब पार्टीलाई कसरी एक ढिका बनाएर लैजान्छन् भन्ने हेर्न बाँकी रहेको बताए ।

तत्कालीन माओवादी नेता एवम् हाल एमाले प्रवेश गरेका मणि थापाले पार्टीको आवश्यकता भन्दा पनि शक्ति सन्तुलन मिलाउन गुरुङलाई महासचिव बनाएको हुन सक्ने बताए । ‘माओवादीका राष्ट्रिय अन्तर्राष्ट्रिय चुनौती छन् । ती चुनौती बहुआयामिक भएकाले त्यसलाई सामना गर्नुपर्ने छ । त्यो चुनौती सामना गर्ने गुरुङजी बलियो पात्र होइन,’ थापाले भने, ‘महासचिवमा उहाँ (देव गुरुङ) भए पनि कम्युनिस्ट पार्टीमा अध्यक्ष नै सर्वेसर्वा हुन्छ । प्रचण्ड अध्यक्ष भएको पार्टीमा उपाध्यक्ष, महासचिवको भूमिका हुन्छ भन्ने लाग्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप