‘पुटिनको दिमाग’ भनिने दुगिनकी छोरीको कार बम विस्फोटमा मृत्यु, युक्रेनमाथि आरोप
![‘पुटिनको दिमाग’ भनिने दुगिनकी छोरीको कार बम विस्फोटमा मृत्यु, युक्रेनमाथि आरोप](https://rpcdn.ratopati.com/media/albums/putin_3gbO2fubhg.png)
भ्लादिमिर पुटिनका सहयोगी एलेक्जेन्डर दुगिनकी छोरी मस्कोको बाहिरी भागमा कार बम विस्फोटमा मारिएकी छिन् । दर्या दुगिनाको टोयोटा ल्यान्ड क्रुजरमा शक्तिशाली बम विस्फोट भएको थियो ।
स्थानीय समय अनुसार राति ९:३० बजे राजधानी मस्कोबाट करिब २० किलोमिटर पश्चिमस्थित बोल्शिए व्याजेमी गाउँ नजिकै शक्तिशाली विस्फोट भएको अनुसन्धानकर्ताले बताएका छन् । विभिन्न रुसी टिप्पणीकारहरूले कुनै प्रमाण बिना आक्रमण युक्रेनले गराएको आरोप लगाएका छन् । यदि कार बम विष्फोटलाई युक्रेनमा जारी युद्धसँग जोडिएको पाइयो भने यो फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु भए यताको मस्कोमा भएको पहिलो आक्रमण हुनेछ ।
तर कीएभले भने विस्फोट आफूहरूले गराएको भन्ने आरोपलाई कडा रूपमा अस्वीकार गरेको छ । ‘आक्रमणमा युक्रेनको कुनै संलग्नता छैन, किनकि हामी रुसजस्तो आपराधिक राष्ट्र होइनौँ, वा ऊजस्तो आतङ्कवादी पनि होइनौँ,’ रुसी राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले भने । दुगिना बोलशिय भ्याजेमी गाउँ नजिक आयोजित एक सांस्कृतिक महोत्सवबाट निस्किएको केही समयपछि उनको गाडीमा विस्फोट भएको थियो । सो महोत्सवमा उनका पिताले मन्तव्य दिएका थिए । दुई जनाले पहिले एउटै गाडीमा निस्किने कुरा गरेकोमा पछि फरक कारमा निस्किएको परिवारका एक मित्रले बताए ।
दुगिनाले गाडी चलाएको पाँच मिनेटपछि विस्फोट हुँदा उनको तत्काल मृत्यु भएको अनुसन्धानकर्ताहरूले बताए । साथै तिनले बम विष्फोट ‘पूर्वनियोजित र पैसा लिएर गरिएको हुनसक्ने’ विश्वास गरेका छन् । दुगिनाका साथी र रसियन होराइजन आन्दोलनका प्रमुख एन्ड्रे क्रासनोभले घटनाको पुष्टि गर्दै बम खासमा उनको पितालाई लक्षित गरी राखिएको हुनसक्ने बताए । ‘विस्फोट भएको गाडी दर्याका पिताले चलाउँथे । उनले अर्को गाडी चलाउने गर्थिन् तर आज दर्याले पिताको कार लिएर निस्किइन् र अलेक्जेन्डर अको कारमा फरक बाटोबाट फर्किएका थिए । मेरो बुझाइमा एलेक्ज्याण्डर वा सायद दुवै आक्रमणको लक्ष्य थिए ,’ क्रासनोभले भने ।
सामाजिक सञ्जालमा पोष्ट भएको फुटेजमा अलेक्जेन्डर घटनास्थल क्षेत्रमा दुःखी अवस्थामा देखिएका छन् । घटनाको अनुसन्धानमा संलग्नहरुले घटनास्थलमा भेटिएको सामाग्रीहरूको फोरेन्सिक परीक्षा गर्ने बताएका छन् । जिम्मेवार पक्षको पहिचानका लागि सबै कोणबाट अनुसन्धान गरिने पनि तिनले बताएका छन् । अलेक्जेन्डर दुगिन चरम दक्षिणपन्थी रुसी राष्ट्रवादी विचारका लागि परिचित छन् । कतिपयले उनले रूसी राष्ट्रपतिको विस्तारवादी विदेश नीतिलाई आकार दिन मद्दत गरेको दाबी गर्छन् । अझ केहीले उनलाई पुटिनको भूराजनीतिक विचारलाई आकार दिने ‘पुटिनको दिमाग’ पनि भन्छन् ।
तर पुटिनमाथि दुगिनको प्रभाव अनुमानको विषय रहेको छ, क्रेमलिनभित्रका अधिकारी भने क्रेमलिनमा उनको प्रभाव न्यून रहेको बताउँछन् । तथापि सरकारी मिडियामा उल्लेख्य स्थान दिएर क्रेमलिनले दुगिनका विचार अङ्गीकार गर्ने गरेको आरोप लाग्ने गर्छ । रुसी सरकारसँग प्रत्यक्ष पहुँच नभए पनि दुगिनको ‘सभ्यताको द्वन्द्व’ र ‘युक्रेन देश नै होइन’ भन्ने दाबी अहिले पुटिनको पनि विचार बनेको छ । दुगिन र उनकी छोरीलाई युक्रेनलाई अस्थिर बनाउन भूमिका खेलेको आरोपमा बेलायत र अमेरिकाले प्रतिबन्धको सूचिमा थिए । अमेरिकी ट्रेजरीले दर्या दुगिनालाई युनाईटेड वर्ल्ड इन्टरनेसनलकी प्रधानसम्पादक भनेको छ । सो वेबसाइटलाई पुटिनका सहयोगी येभजेनी प्रिगोजिनको लगानी रहेको दाबी गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनसँगै सर्वसाधारण लाभान्वित (तस्बिरहरु)
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी