शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

हिरासतमा चेक कटाएको घटना : गृहमन्त्रीका पिएसओ हेडक्वाटर तानिए

आइतबार, ०५ भदौ २०७९, २० : ३१
आइतबार, ०५ भदौ २०७९

गृहमन्त्री बालकृष्ण खाणका नीजि सुरक्षा अधिकृत (वरिष्ठ प्रनानी) टंक कार्कीलाई मन्त्रीको सचिवालयबाट फिर्ता बोलाइएको छ । वरिष्ठ सई कार्कीमाथि प्रहरी वृत गौशालाको हिरासत दुरुपयोग गरेर एकजना युवकलाई थुनामा राखेको र पक्राउ परेकाको गाडीमा फेला परेको ४ लाख नगद ‘गायव’ बनाएको आरोप छ ।

वरिष्ठ सई कार्कीलाई छानविनका लागी हेडक्वार्टरमा झिकाइएको प्रहरी प्रवक्ता (डिआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । असार १६ मा चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर–४ घर भएका एकजना युवकलाई काठमाडौंको गैरीधारामा बोलाएर कार्कीले प्रहरी वृत गौशालामा लगेर थुनाएका थिए । उनलाई अभद्र व्यवहारको आरोपमा थुनेर पीडितको गाडीमा रहेको ४ लाख नगद सई कार्की र आकाश ठकुरीले ‘गायब’ बनाएको आरोप छ । ति युवक गौशाला प्रहरी वृतको हिरासतबाट असार २७ मा थुनामुक्त भएका थिए ।

हिरासतमा बस्दा वरिष्ठ सई कार्की र आकाश ठकुरीले धाक धम्की दिएर ५ जनाको नाममा ५ थान चेक काट्न लगाएको पीडितको आरोप छ । त्यसबारे उनले प्रहरी महानिरीक्षकको सचिवालयमा उजुरी गरेका छन् । उजुरी उपर प्रहरी प्रधान कार्यालयले छानविन गरिरहेको छ ।

सो घटनाको गर्भमा सुन तस्करी जोडिएको छ । असार ९ मा युएइबाट हिमालय एयरलान्सको जहाजमा ६ जना व्यक्तिहरु ५० ग्राम दरका सुन लिएर आएका थिए । तीमध्ये एकजना अजयकुमार रोकालाई प्रहरीले नियन्त्रणमा लियो । अन्य ५ जना विमानस्थल भन्सार पार गर्न सफल भए ।

पर्यटक भिसामा युएइ गएर फर्कन लागेकाहरुलाई तस्करले ‘विमानस्थलमा लिन आउने मेरो मान्छेलाई दिनु’ भनेर सुन दिएर पठाएका हुन् । विमानस्थल भन्सार पार गरेर निस्केपछि ५ जनाले चितवनका युवकलाई सम्पर्क गरेर ५० ग्राम सुन दिए । उनीहरुले विदेश जाँदा लिएको ऋण बापत सो सुन दिएको बताइएको छ । ऋण तिरेपछि विदेशबाट फर्किनेहरुले युएईबाट सुन पठाउनेले भनेको मानिसलाई सुन दिएनन्, ५० ग्राम दरका चार थान बाला लिएर घरतिर लागेका थिए ।

सुन हराएपछि सुन तस्करको निर्देशन अनुसार वरिष्ठ सई कार्कीले चितवनका ति युवकलाई पक्राउ गरेर धम्क्याएको र थुनामा राखेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप