शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘भारतबाट आएको एउटा पत्रले प्रदीपदाइ र मलाई जेल पुर्‍यायो’

आइतबार, ०५ भदौ २०७९, १८ : ३६
आइतबार, ०५ भदौ २०७९

प्रदीप दाइसँगको मेरो भेटको कथा रमाइलो छ । म दरबार हाइस्कुल पढ्दै थिएँ, छात्रवृत्ति पाएर । त्यतिबेला म बत्तीसपुतलीमा फुपूहरुको घरमा बसेको थिएँ । डिल्लीबजारको उकालोमा ‘नेपाल–भारत सांस्कृतिक केन्द्र’ पुस्तकालय थियो । स्कुलबाट फर्कंदा त्यहाँ छिरेर मैले ‘दिनमान’, ‘जन’लगायत पत्रिका पढ्थेँ । ‘जन’ पत्रिका भारतको समाजवादी पार्टीको मुखपत्र थियो । त्यसमा ‘डेमोक्रेटिक सोसियोलिजम्’का विषयमा धेरै सामग्री छापिन्थे । त्यो पत्रिकालाई डा. राममनोहर लोहियाले सम्पादन गर्नुहुन्थ्यो । त्यो पत्रिकाबाट मलाई विश्वमै मानव समाजमाथि भएको अन्याय, अत्याचार, गरिबी, शोषणका बारेमा बोध भयो । 

मेरो कलिलो दिमागमा लाग्यो– देशमा समाजवाद ल्याउनुपर्छ । डेमोक्रेटिक सोसियोलिजम् भएपछि काम राम्रो हुँदो रहेछ भन्ने मलाई लागेको थियो । त्यसपछि मैले डा. राममनोहर लोहियालाई चिठी लेखेँ– डा. साहेब, म नेपालमा पढ्दै गरेको विद्यार्थी हुँ । तपाईंंको समाजवादी विचारबाट म असाध्यै प्रभावित छु । म चाहन्छु कि तपाईं नेपाल आएर हामीलाई पनि क्रान्ति गर्ने प्रेरणा दिनुस् । मैले यस्तै लेखेको थिएँ । मलाई सम्झना छैन, ममा यस्तो विचार कहाँबाट कसरी आयो ! 

मेरो चिठी दिल्ली पुग्यो । म कुनै नामी व्यक्ति थिइनँ, त्यसैले सुरुमा चिठीको सम्बन्धमा कुनै चासो देखाइएन । विडम्बना, मेरो चिठी पुगेको अघिल्लो दिन डा. राममनोहर लोहियाको मृत्यु भएको रहेछ । (उनको मृत्यु १२ अक्टोबर १९६७ अर्थात् २६ असोज ०२४ मा भएको थियो ।) यस हिसाबले म त्यतिबेला सानै रहेछु । 

डा. लोहियाको मृत्युको केही दिनपछि उनका सेक्रेटरीले मेरो चिठी हेरेछन् । त्यतिबेला प्रदीपदाइ दिल्लीमै हुनुहुन्थ्यो । ती सेक्रेटरीले मेरो चिठीका सम्बन्धमा प्रदीप दाइलाई सुनाएछन् । 

पछि काठमाडौं आएका बेला प्रदीप दाइले मेरो बारेमा सोधखोज गर्नुभयो । त्यतिबेला बत्तीसपुतलीमा एकजना समाजवादी साथी थिए– रमेश खड्का भन्ने । उहाँलाई भन्नुभएछ– यो किशोर झुत्रे भन्ने कहाँ बस्छ, खोज त्यसलाई । त्यतिबेला मैले आफ्नो नाम ‘किशोर झुत्रे’ लेख्थेँ । पछि भवानी घिमिरेले भनेपछि मैले झुत्रे लेख्न छाडेको हुँ । 

रमेश खड्काले मलाई भेटे र प्रदीप दाइसम्म पु¥याए । उहाँलाई देख्नेबित्तिकै म दंग परेको थिएँ । हट्टाकट्टा उहाँको व्यक्तित्व मलाई प्रभावित गर्न प्रशस्त थियो । त्यतिबेला उहाँले माई ‘इन्स्टेन्ट’ मन पराउनुभयो, मैले पनि उहाँलाई ‘इन्स्टेन्ट’ मन पराएँ । त्यो दिनदेखि उहाँको जीवनकालसम्म हाम्रो सम्बन्ध उस्तै रह्यो । 

उहाँलाई भेट्न गएका् कात्तिक–मंसिरतिर हो, जाडो थियो तर मैले सुतीको कमिज लगाएको थिएँ । यो देखेर प्रदीप दाइले मलाई एउटा राम्रो स्वेटर दिनुभयो । त्यो लगाएपछि मलाई न्यायो भएको थियो । त्यो तातो मैले अहिले पनि फिल गर्छु । 

पछि मलाई जनका सम्पादक ओमप्रकाश दीपकले चिठी पठाए । चिठीमा भनिएको थियो– तपाईंले पठाएको चिठी हामीले प्रदीप गिरिलाई दिएका छौँ, उहाँले तपाईंलाई भेट्नुहुन्छ । 

त्यो चिठी त्यतिबेला नेपालका प्रहरीले खोलेर हेरेका रहेछन् । त्यही सूत्रका आधारमा प्रहरीले मलाई पक्राउ ग¥यो । समाजवादी व्यवस्थाका लागि चिठी लेख्ने म नेपालका प्रहरीको नजरमा पञ्चायती व्यवस्थाविरुद्ध लागेको ठहरिएँ । मपछि प्रदीप दाइ पक्राउ पर्नुभयो । हामी दुवैलाई पहिले हनुमान ढोकामा राखियो र पछि भद्रगोल जेल लगियो । त्यतिबेला म १३ दिनसम्म प्रदीप दाइसँग सँगै रहेँ । त्यो १३ दिनमा उहाँले मलाई धेरै कुरा बुझाउनुभएको थियो– डा. राममनोहर लोहिया, सर्वपल्ली राधाकृष्णन, रविन्द्रनाथ टेगोर आदिका बारेमा र समाजवादका बारेमा । 

त्यसपछि प्रदीप दाइलाई नख्खु जेल लगियो, उहाँलाई लामो समय राख्नुरहेछ । मलाई यसो तर्साएर छाड्ने हेतुले भद्रगोल जेलमै राखिएको थियो । त्यतिबेला मलाई पनि आठ–नौ महिना थुन्यो ।

जेलबाट छुटेपछि मैले पुस्तकालयबाट किताब लिएर प्रदीप दाइका लागि जेलमा पु¥याइदिन्थेँ । उहाँले पढेपछि ती किताब पुस्तकालयमै बुझाउँथेँ । हाम्रो सम्बन्ध दाजुभाइका रुपमा विकसित हुँदै आयो ।  

प्रदीप दाइलाई उहाँकी दिदी रमिला गिरिले निकै माया गर्नुहुन्थ्यो । प्रमिला गिरि ठूलो कलाकार, उहाँले मलाई पनि त्यत्तिकै माया गर्नुहुन्थ्यो । उहाँको दाइ प्रकाश गिरि, बहिनी मञ्जु गिरि, भाइ शेखर गिरि, लक्ष्मण गिरिसँग पनि मेरो सुमधुर सम्बन्ध भयो । यसरी हाम्रो सम्बन्ध अझ पारिवारिक किसिमको बन्दै आयो ।  

उहाँका शब्द र आवाजमा एउटा ओजन थियो, शक्ति थियो । पछिल्लोपटक ओली सरकारका विरुद्ध उहाँले संसदमा बोल्नुभएको पल मलाई जोडदार लाग्छ । उहाँले ‘इनफ इज इनफ’ भन्दै गर्दा संसद् र समय नै ठप्प भएको आभास गराएको थियो । सबैले निस्तब्ध भएर उहाँको भाषण सुनेका थिए ।

बीपीको वैचारिक विकल्प गिरि

उहाँको डिस्कोर्सबाट हामीले के बुझ्थ्यौँ भने, बीपी कोइराला समाजवादी हो, तर उहाँ प्रजातन्त्र स्थापनाका लागि संघर्ष गरिरहनुभएको थियो । प्रजातन्त्रको पुनस्र्थापना नभई समाजवादको गुञ्जायस पनि थिएन । आजीवन उहाँले प्रजातन्त्रकै लागि संघर्ष गर्नुभयो । 

प्रदीप दाइ बीपी कोइरालाकै सिपाही हुनुहुन्थ्यो । उहाँ समाजवादी व्यवस्था चाहनुहुन्थ्यो । भारतमा पनि समाजवादका दुई धार थिए– जयप्रकाश नारायणको धार, जो जवाहरलाल नेहरुसँग नजिक थियो । अर्को, राममनोहर लोहियाको धार, जसको समाजवादी विचार अझ तिखो थियो । बीपी जेपीको मित्र हुनुहुन्थ्यो, उहाँको विचारसँग केही नजिक पनि हुनुहुन्थ्यो । प्रदीप दाइले लोहियाको विचारलाई सही मान्नुहुन्थ्यो । 

मलाई सम्झना छ, राममनोहर लोहिया र जवाहरलाल नेहरुबीच एकपटक भारतको संसद्मा बहस चल्यो । त्यतिबेला राममनोहर लोहियाले भनेका थिए– भारतीयहरुको औसत आम्दानी दिनको तीन आना छ । उहाँले यसो भनेपछि भारत सरकारमा हल्लिखल्ली भयो । नेहरुले आफ्ना मन्त्रीहरु, भारतीय योजना आयोगका अधिकारीहरु लगायतलाई राखेर भन्नुभयो– लोहियाको यस कुरालाई खण्डन गर । 

कर्मचारीहरुले यसबारे अनुसन्धान गरे र भने– भारतीयहरुको दैनिक आम्दानी तीन आना होइन, पाँच आना हुन आउँछ । 

सरकारले लोहियाले भन्दा दुई आना बढी देखायो तर यसको कुनै अर्थ थिएन । यसले यो प्रमाणित ग¥यो कि लोहिया भारतीय जनताको धेरै नजिक रहेछन् । डमोक्रेसीको फाइदा यही हो, त्यहाँ यस्ता डिबेट हुन्छन् । भारतमा रहँदा हाम्रा नेताबीच पनि निकै बहस हुन्थे । 

बीपी भारतको सारनाथमा बस्नुहुन्थ्यो, प्रदीप गिरि बनारसमा । प्रदीपदाइ बीपीलाई भेट्न गइरहनुहुन्थ्यो । उहाँहरुबीच समाजवादका बारेमा बहस भइरहन्थेँ । प्रदीपदाइ यस्तो स्वभावको हुनुहुन्थ्यो कि आफूलाई लागेपछि त्यसमा तर्क गरिहाल्नुहुन्थ्यो ।  

त्यतिबेला उहाँहरुले रहर भन्ने साहित्यिक पत्रिका पनि निकाल्नुभएको थियो, जसमा प्रदीप दाइ र चक्र बास्तोला बढी सक्रिय हुनुहुन्थ्यो । 

नेपाली कांग्रेसमा बीपी कोइरालापछिको सबैभन्दा ठूलो चिन्तक भनेकै प्रदीप गिरि हो । यसमा कुनै दुविधै छैन । नेपाली कांग्रेसमा बीपी कोइरालाको वैचारिक विकल्प भनेकै प्रदीप गिरि हो । उहाँहरु दुवैको प्रजातान्त्रिक समाजवादमा सिद्धान्त एउटै थियो तर त्यसका प्रारुपहरुमा विभिन्न बुझाइ थिए । 

प्रदीप दाइ पार्टीभित्रकै पनि प्रतिपक्ष हुनुहुन्थ्यो । उहाँले हाम्रो संविधान घोषणाका बेला संसदमा आफ्नो मत दिनुभएन । उहाँको टिप्पणी थियो– यो संविधान अपर्याप्त छ । यसले केही नहुने मानिसलाई अधिकार दिँदैन । यो संविधानमा ‘राइट टु रिकल’ (जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार) नै छैन । यो संविधान अपूर्ण छ, त्यसैले म भोट दिन्नँ ।

राइट टु रिकलको व्यवस्था हुनुपर्छ भन्ने उहाँको दृढ विचार थियो । कांग्रेसले जोड दिएर यस व्यवस्थालाई संविधानमा राखेको भए धेरै असल हुन्थ्यो । 

निर्लिप्त मान्छे

प्रदीप दाइले कहिल्यै लाभको पदको चाहना गर्नुभएन । किसुनजीले उहाँलाई ‘तिमी सरकारको प्रवक्ता बनिदेऊ’ भनी अफर गर्नुभएको थियो । यो अफरमा हार्न गाह्रो हुन्छ भनी प्रदीप दाइ भागेर दुई–तीन महिना भारतमा गएर बस्नुभयो । उहाँमा सत्ताको कुनै मोह थिएन । उहाँ निर्लिप्त मान्छे । उहाँले मसँग एकपटक भन्नुभएको थियो– म लाभको पद पनि लिन्नँ र सरकारी पैसामा उपचार पनि गराउँदिनँ । जुन देशमा हजारौँ लाखौँ मानिस उपचार नपाएर छटपटाएर मरिरहेका छन्, त्यो देशमा मैले उपचार खर्च लिनु जायज होइन । लाभको पदमा किन बस्दिनँ भने, त्यसले लोभ लिएर आउँछ, लोभले विकार र विकृति ल्याउँछ । म त्यो विकृतिमा फस्न चाहन्नँ । 

एउटा शब्द छ, अपरिग्रही । अर्थात् दान वा अधिक धन अस्वीकार गर्ने व्यक्ति । प्रदीप दाइ अपरिग्रही हो । उहाँले समाजवादी विचारबाहेक सबै कुरा अस्वीकार गर्नुभयो । 

उहाँको विचार स्पष्ट थियो । पछिल्लोपटक उपचारका लागि उहाँले भीमसेनगोलामा भएको आफ्नो घर बेच्नुभयो । अन्तिम घडीमा आइपुग्दा न उहाँसँग पद थियो, न सम्पत्ति रह्यो । आज जे छ, उहाँको विचार छ हामीसँग । आज एउटा जोगीजस्तो मान्छेको मृत्युमा देशको ठूलो पंक्ति भावुक भएको छ । 

आज म जहाँ छु, जे छु, जसरी उभिएको छु, यसमा प्रदीप दाइको धेरै ठूलो देन छ । मलाई राजनीतिक कार्यबाट पन्छाएर पत्रकारितामा लगाउने उहाँ नै हो । अस्तिसम्म पनि उहाँले मलाई लेख्न प्रेरित गरिरहनुहुन्थ्यो । भन्नुहुन्थ्यो– लेख्, तैँले लेख्नुपर्छ । खोइ तैँले नयाँ लेखेको ? खोइ तेरो नयाँ आर्टिकल आएको ? उहाँले मलाई लेखनका लागि झकझकाइरहनुभयो । 

ध्रुवसत्य परियारसँगको कुराकानीमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप