आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

यी ४ आयोजनाबाट उत्पादित १११ मेगावाट बिजुली भारतमा बिक्री गरिने

आइतबार, ०५ भदौ २०७९, १८ : ११
आइतबार, ०५ भदौ २०७९

४०० मेगावाट बिजुली भारत निर्यात गरिरहेको नेपाल विद्युत् प्राधिकरणले थप १११.८ मेगावाट बिजुली निर्यातको प्रस्ताव गरेको छ । यो वर्ष २०७९ देखि भारततर्फ ४०० मेगावाट बिजुली निर्यात भइरहेको छ ।

खासगरी, गत वर्ष २०७८ सालको मङ्सिरदेखि भारतीय बजारमा प्रतिस्पर्धी मूल्यमा ३९ मेगावाट बिजुली बेच्न थालेको थियो । भारत गत वर्ष नेपालबाट २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत आयोजनाको बिजुली किन्न सहमत भएको थियो । त्यो भारतीय बजारमा नेपालमा उत्पादित बिजुली निर्यातको पहिलो खुड्किलो थियो । खासगरी, गत वर्षको भदौमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले पूर्ण क्षमतामा उत्पादन थालेपछि नेपाल वर्षायाममा बिजुली उत्पादनमा आत्मनिर्भर बनेको थियो ।

त्यसलगत्तै, कात्तिकमा निर्यातको अनुमति लिएर मङ्सिरदेखि बेच्न सुरु नै गरेको थियो । त्यसपछि, गत वर्ष २०७८ कै चैत महिनामा प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणका क्रममा भारत नेपालबाट थप ३२५ मेगावाट विद्युत् किन्न सहमत भएको थियो । यससँगै, नेपाल विद्युत् प्राधिकरणले भारततर्फ प्रतिस्पर्धी मूल्यमा ३६४ मेगावाट बिजुली बेच्न अनुमति पाएको थियो ।

उक्त अनुमतिसँगै प्राधिकरणले यही वर्षको जेठ २० गतेदेखि पुनः भारततर्फ बिजुली निर्यात सुरु गरेको थियो । ‘सुख्खायाममा नेपालका नदीहरूको सतह घट्ने भएकाले पर्याप्त मात्रामा बिजुली उत्पादन हुँदैन,’ प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, ‘सोही कारण, सुख्खायाममा भारतबाट बिजुली आयात गर्नुपर्छ ।’ तर, वर्षायाम सुरु भएसँगै नदीको सतह बढ्ने हुँदा नेपालको उत्पादन बढ्छ । सोही कारण, प्राधिकरणले जेठदेखि पुनः भारततर्फ बिजुलीको निर्यात सुरु गरेको थियो । प्राधिकरणले हाल भारतीय बजारमा ४०० मेगावाट बिजुली निर्यात गर्दै आइरहेको छ । जसअनुसार, साउन महिनामा मात्रै प्राधिकरणले भारतीय बजारमा १ अर्ब ८३ करोड रुपैयाँको बिजुली बेचेको घिसिङले बताए ।

यससँगै, प्राधिकरणले थप १११ मेगावाट बिजुली बेच्न इन्डियन इनर्जी एक्सचेञ्ज लिमिटेड (आइएक्स)सँग प्रस्ताव राखेको छ । प्राधिकरणले ४ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत्लाई स्रोत मानी आइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेस गरेको हो । केन्द्रीय विद्युत् प्राधिकरणबाट अनुमति पाएपछि थप विद्युत् निर्यात सुरु हुने घिसिङको भनाइ छ । प्राधिकरणले ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला र २२.१ मेगावाटको चिलिमेको विद्युतगृहबाट उत्पादित कूल १११.८ मेगावाट विद्युत् निर्यातको प्रस्ताव गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप