प्रचण्ड, रावल र महतोको स्मरणमा स्वर्गीय नेता प्रदीप गिरि
विभिन्न राजनीतिक पार्टीका नेताहरूले काँग्रेस नेता एवम् प्रतिनिधिसभाका सदस्य प्रदीप गिरिको निधनबाट मुलुकमा अपूरणीय क्षति भएको बताएका छन् ।
आइतबार काँग्रेस केन्द्रीय कार्यालयमा राखिएको गिरिको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले नेता भीमबहादुर रावल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोलगायतका नेताहरूले प्रखर समाजवादी चिन्तक समेत रहेका गिरिको निधन मुलुकका लागि ठुलो क्षति भएको बताएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले गिरिको बौद्धिक व्यक्तित्व र तर्कशीलता सबैका लागि प्रेरणाको स्रोत रहेको बताए । राजनीतिलाई जनता र राष्ट्रको सेवा गर्ने माध्यमको रूपमा लिनुपर्ने कुरालाई पनि गिरिबाट प्रेरणा लिन सकिने प्रचण्डको भनाइ छ ।
अध्यक्ष दाहालले गिरिको समाजवादी चिन्तनबाट सिकेर अघि बढ्नुको विकल्प नरहेको बताए । ‘नेपालको राजनीति र सामाजिक रूपान्तरणको अभियानमा एउटा निकै ठुलो क्षति भएको मैले महसुस गरेको छु । उहाँ एउटा विशिष्ट प्रतिभासहितको समाजवादी चिन्तक हुनुहुन्थ्यो । उहाँले नेपाली समाजको रूपान्तरणको निम्ति काम गर्नु भयो’, प्रचण्डले गिरिलाई स्मरण गर्दै भने, ‘उहाँको बौद्धिक व्यक्तित्व र उहाँको तर्कशीलता हामी सबैको निम्ति प्रेरणाको स्रोतको रूपमा सदा रहने मैले विश्वास लिएको छु । ’
अध्यक्ष प्रचण्डले नेपाली राजनीतिमा गिरिको अभाव धेरै समयसम्म खट्कीरहने भन्दै उनको योगदानबाट प्रेरणा लिने र समाजवादका निम्ति गरेका चिन्तनबाट शिक्षा लिएर अघि बढ्नुको विकल्प नरहेको बताए । ‘प्रदीप गिरिजीको व्यक्तित्वले हामी सबैलाई निःस्वार्थ समाजसेवामा समर्पित हुने र राजनीतिलाई फोहोरी खेल होइन, एउटा समाज सेवाको, जनता र राष्ट्रको सेवा गर्ने माध्यम हो भन्ने प्रेरणा उहाँबाट लिनुपर्छ’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको भनाइ छ ।
नेकपा (एमाले)का नेता भीमबहादुर रावलले नेता गिरिलाई एउटा बौद्धिक र लोकतन्त्रका लागि निरन्तर सङ्घर्षरत योद्धाको रूपमा नेपाली समाजले सम्झिरहने बताए ।
कार्यकारी पद र प्रतिष्ठा नभए पनि नेताहरू सम्मानित हुन सक्छन् भन्ने कुरा पनि गिरिले पुष्टि गरेको रावलको भनाइ छ । ‘नेपाली काँग्रेसका नेता, प्रतिनिधिसभा सदस्य तथा बौद्धिक व्यक्तित्व प्रदीप गिरिजीले नेपाली राजनीतिमा निकै ठुलो छाप छोड्नु भएको छ । र, उहाँले जुन किसिमको आफ्नो सिद्धान्तमा अडिग भएर लोकतन्त्रका लागि काम गर्नु भयो । उहाँलाई एउटा बौद्धिक र लोकतन्त्रको लागि निरन्तर सङ्घर्षरत योद्धाको रूपमा म स्मरण गर्छु’, रावलको स्मरण छ ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले स्वर्गीय नेता गिरिलाई देश र जनताप्रति समर्पित नेताको रूपमा चित्रण गरे ।
गिरि सिद्धान्तनिष्ठ र आदर्शवादी नेता भएको र उनको निधन मुलुकका लागि अपूरणीय क्षति भएको भन्दै देशले सदा सम्झिरहने महतोको भनाइ छ । ‘यो अपूरणीय क्षति हो देशका लागि । उहाँ सिद्धान्तनिष्ठ, आदर्शवादी नेता हुनुहुन्थ्यो सम्पूर्ण देश र जनताका लागि । उहाँले काँग्रेसको नेता भए पनि देश र जनताको हितका लागि निर्भिकताका साथ विद्रोह गर्ने एक मात्रै नेता हुनुहुन्थ्यो’,नेता महतोले देश र जनताको हितका लागि काँग्रेस भित्रै पनि गिरिले पटक पटक विद्रोह गरेको स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
कवाडी व्यवसायीको विषयमा जसपा नेपालले गरायो सरकारलाई ध्यानाकर्षण