बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

बीमामा ठगी रोक्न प्रहरीसँग सहकार्य गरिने

आइतबार, ०५ भदौ २०७९, १६ : ४८
आइतबार, ०५ भदौ २०७९

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समिति, नेपाल प्रहरी र बीमा कम्पनीहरूबीचको सहकार्यबाट नै बीमा व्यवसायमा देखिएका समस्याहरू समाधान गर्न सकिने बताएका छन् । बीमा समितिले आयोजना गरेको नेपाल प्रहरीका विभिन्न निकायहरूसँग बीमा दाबी भुक्तानीमा देखिएका समस्या र समाधानका उपायसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा व्यवसायमा देखिएका धेरै घटनाहरूको छानबिन गरी टुङ्गोमा पुर्‍याउन प्रहरीको सहयोग आवश्यक रहेको बताए ।

‘बीमा समितिले बीमा व्यवसायमा देखिएका अनियमितता र कानुन विपरीतका क्रियाकलापको अनुसन्धान गरी नियन्त्रण गर्न भरसक कोसिस गरिरहेको छ । करोडौँको बीमालेखमा अवैध लगानी भई वित्तीय अपराध समेत हुनसक्ने आशङ्का भएकाले त्यसमा पनि समितिले निगरानी गरिरहेको छ,’ अध्यक्ष सिलवालले भने । व्यवसायको विस्तारसँगै बढ्ने आपराधिक क्रियाकलापको अनुसन्धान समितिले मात्र गर्न नसक्ने भन्दै उनले अब अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाउनुपर्ने बेला आएको र प्रहरीले गर्ने अनुसन्धानमा सघाउन बीमा समिति प्रतिबद्ध रहेको जानकारी दिए ।

बीमा व्यवसाय अब एकाङ्कीरूपमा चल्न नसक्ने बताउँदै उनले फाइदाका लागि गलत गतिविधि गरिएका हुन सक्नेतर्फ सजग गराए । जोखिमाङ्कनमा समस्या देखिएको अध्यक्ष सिलवालको भनाई छ । कार्यक्रममा बीमा समितिका निर्देशक दिनेश कुमार लालले बीमा व्यवसायमा भएको विस्तारसँगै समस्याहरू पनि थपिँदै गएको, दाबी भुक्तानीमा समस्या देखिएको र जालसाजी तथा ठगीका घटनाहरू समेत देखिन थालेकाले यस्ता समस्याहरूका बारेमा छलफल गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

यसैगरी, जीवन बीमक संघका तर्फबाट सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले  जीवन बीमा दाबी भुक्तानी प्रक्रियामा देखिएका समस्या तथा समाधानका उपाय र नेपाल बीमक संघका तर्फबाट सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवारले निर्जीवन बीमा दाबी भुक्तानी प्रक्रियामा देखिएका समस्या र समाधानका उपाय सम्बन्धी प्रस्तुति गरेका थिए ।

कार्यक्रममा नेपाल प्रहरीको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले बीमा सम्बन्धी समस्याको समाधानका लागि जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने र समस्या समाधानका लागि बीमा समितिले ठोस नीति ल्याउनुपर्ने बताइन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्यले बीमामा हुने अपराध तथा ठगी लगायतका सबै घटनाको अनुसन्धानका साथै ठूला ठूला बीमालेखहरूमा हुने लगानीका सम्बन्धमा समेत अनुसन्धानको आवश्यकता औँल्याए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप