बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रामचन्द्र पौडेलले मलाई तनहुँ–१ छोड्नुहुन्छ भन्नेमा विश्वस्त छु : पूर्वमन्त्री किसान श्रेष्ठ

आइतबार, ०५ भदौ २०७९, १६ : १६
आइतबार, ०५ भदौ २०७९

नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफू तनहुँ क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने बताएका छन् ।

रातोपाटीसँग कुरा गर्दै उनले सत्तारुढ गठबन्धनमा अघिल्लो निर्वाचनमा ज–जसले जहाँबाट चुनाव जितेको छ, त्यही पार्टीले मात्र नभएर जसले जितेको छ, सोही व्यक्ति उम्मेदवार हुने मापदण्ड बनेको भन्दै सोही मापदण्ड अनुसार तनहुँ–१ मा आफ्नो दाबी निर्विकल्प रहने प्रस्ट पारे ।

‘त्यसमा पनि विशेष गरी नेकपा एमालेसँग विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीलाई विशेष महत्त्वका साथ गठबन्धनले सिट दिने भन्ने सहमति भएको छ । सो अनुसार तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीबाट म नै उम्मेदवार हुँ,’ उनले भने ।

यद्यपि उनले आफू पार्टीको एउटा इमानदार सिपाही भएकाले पार्टी र गठबन्धनका शीर्ष नेताहरूको निर्देशनलाई अटेर गर्न नसक्ने बताए । ‘त्यसो भनिरहँदा म एउटा पार्टीको सच्चा सिपाही भएका कारण मलाई मेरो पार्टी नेकपा एकीकृत समाजवादी र गठबन्धनका आदरणीय नेताहरूले आग्रह गर्नुभयो भने म नेपालभरिको कुनै पनि क्षेत्रमा चुनाव लड्न तयार छु,’ उनले भने, ‘पार्टीले मलाई यस पटक तपाई चुनाव नलड्नुस्, तपाई पार्टी संगठनमा लाग्नुस् भनेको अवस्थामा म चुनाव नलड्न पनि तयार छु तर तनहुँ क्षेत्र नम्बर १ का जनताको भावना, करिब साढे चार वर्षसम्म मैले यस क्षेत्रमा गरेका विकास निर्माणका काम, त्यहाँको दुःखसुखमा दिएको साथ मात्र नभई मेरो जन्मथलो पनि तनहुँ नै भएकाले पहिलो रोजाइ तनहुँ–१ नै हो ।’

बारा–४ मा पनि त्यहाँका शुभेच्छुक, कार्यकर्ताले आफूलाई उम्मेदवार बन्न आग्रह गरिरहेको भन्दै उनले त्यसरी आउने सुझावलाई आफूले स्वागत गरेको बताए । ‘पार्टीले जा भन्यो, गठबन्धनले जा भन्यो भने जानुपर्छ तर मलाई विश्वास छ, मेरो पार्टी र गठबन्धनका नेताहरूले मलाई अन्याय गर्नुहुन्न । तनहुँ क्षेत्र नम्बर १ कै टिकट पाउँछु भन्नेमा म विश्वस्त छु ।’

तर टिकट नपाए विद्रोह गर्ने वा अर्को पार्टीमा जाने भन्ने कुरा नआउने उनले बताए । उनले आफू उम्मेदवार बन्ने भएकाले नै सोमबारदेखि केही दिन तनहुँमा विविध कार्यक्रममा सहभागी हुने योजना बनिसकेको बताए ।

उनले आफू मन्त्री हुँदा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालकै सामु आफूलाई अब आउने निर्वाचनमा अर्को क्षेत्रमा जान अनुरोध गरेको पनि उनले बताए । ‘मैले उहाँलाई तपाई पार्टीको वरिष्ठ नेता, प्रजातन्त्र ल्याउन त्यत्रो संघर्ष गरेको मान्छे, तपाईंको सम्मान गर्छु तर तनहुँ क्षेत्र नम्बर १ का जनताले तपाईंलाई भन्दा मलाई बढी खोजेका छन्, त्यसकारण तपाई चुनाव लड्ने हो भने पनि अन्य जिल्ला, अन्य क्षेत्रमा जानुस्, हैन भने समानुपातिकमा बसेर देशदौडाहा गर्नुपर्‍यो भन्ने सुझाव दिएको थिएँ,’ उनले रातोपाटीसँग भने ।

त्यसपछि चुनाव क्षेत्रका बारेमा रामचन्द्र पौडेलसँग आफ्नो कुरा नभएको उनले सुनाए । उनले भने, ‘तर उहाँ वरिष्ठ नेता भएको, जहाँबाट चुनाव लड्न सक्ने क्षमता भएको नेता भएकाले पनि मलाई उहाँले तनहुँ–१ छोड्नुहुन्छ भन्ने विश्वस्त छु ।’

उल्लेखनीय छ, २०७४ को निर्वाचनमा पूर्वमन्त्री श्रेष्ठसँग कांग्रेस नेता पौडेल पराजित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप