धानबालीले पर्याप्त मल नपाउँदा उत्पादनमा समस्या
रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने सरस्वती सोमैले करिब नौ घण्टा लाइनमा बसेर १० किलो मल ल्याए । रामपुर बेझाडमा रहेको सूर्योदय कृषि सहकारी संस्थामार्फत हालसालै वितरण गरिएको युरिया मल उनको धानबालीमा राख्न पर्याप्त छैन । तैपनि मलको हाहाकारले चर्को घाममा लामो समय लाइनमा बसेर मल पाउँदा भने उनी खुसी छन् ।
“बिहान छदेखि दिउँसो तीनबजेसम्म चर्को घाममा लाइनमा बसेर निकै दुःखका साथ १० किलो मल पाइयो, त्यही भए पनि गोडमेल गरेको धानमा राख्न पाउँदा अभावका बीच खुसी नै हुनुपर्ने अवस्था सिर्जना भयो”, उनले भने । खेत रोप्ने बेलामा युरिया मलको समस्याले कालोबजारीमा खरिद गरेर प्रयोग गर्न बाध्य भएको उनले बताए । कालोबजारीको मल सहकारीमार्फत उपलब्ध हुने मलको तुलनामा कृषकले दोब्बर बढी मूल्य तिरेर खरिद गर्नुपरेको छ । महँगो शुल्क तिरेर कालोबजारीकै मल पाउन त्यति सहज नभएको उनको भनाइ छ ।
उनले भने,“हामी कृषक मारमा परिरहेका छौँ, एकातिर समयमा मल नपाइनु, अर्कोतिर कालोबजारीमा चर्को मूल्यमा मल खरिद गर्नुपर्ने अवस्था कृषकलाई छ, मल नपाइने समस्या बर्सेनि खेप्नु परिरहेको छ ।” रामपुरकै बुद्धिमान बोटेले करिब १० घण्टा लाइन बसेर मुस्किलले सहकारीमार्फत १० किलो मल पाए । सो मल उनको धानबालीलाई पर्याप्त छैन । धान रोप्ने समयमा आवश्यकताअनुसार राख्न नपाएकाले मेहनत र लगानीअनुसार उत्पादन लिन नसकिनेमा उनी चिन्तित छन् ।
“वर्ष दिन खाने खेती दुःख गरेर लगाइयो, राम्रोसँग मल दिन सकियो भनेमात्र उत्पादन राम्रो हुने हो, धान लगाउने बेला समस्या भए पनि गोडमेल गर्ने समयमा मल सहज हुन्छ भन्ने आशामा बसियो, अझै समस्या उस्तै छ”, उनले भने। केही कृषकले मल अभावका बाबजुद धान लगाए । गोडमेल गर्ने समयमा मल भित्रन्छ भन्ने आशाले धान लगाएका कृषक अहिले मल नपाउँदा उत्पादन लिन नसक्ने चिन्ताले पिरोलिएका छन् । खेतमा लगाएका धानबाली सप्रन सकेका छैनन् ।
सरकारले हरेक वर्ष कृषि उत्पादन वृद्धिका लागि प्राथमिकताका साथ हेर्दै आएको बताउँदै आएको छ । कृषक भने मुख्यबाली धानका लागि रासायनिक मल अभावबाट मुक्त हुन सकिरहेका छैनन् । मागअनुसारको मल आपूर्ति नहुँदा खेतीपातीका लागि खेतबारीमा व्यस्त हुनुपर्ने समयमा पाल्पाका किसान डिपो र वितरण केन्द्र दैनिक धाउन बाध्य छन् । कृषि सामग्री कम्पनीबाट कोटामा उपलब्ध भएको मल पाउन घण्टौँ लाइनमा बस्न बाध्य छन् । कम्पनीमार्फत सीमितमात्रामा आउने मल लिन कृषक दैनिकजसो आउने गरेको विजयपुर कृषि सहकारीका अध्यक्ष ओमप्रकाश रेग्मीले बताए । माथिल्लो निकायबाटै मल नभित्रिँदा कृषकलाई रित्तो हात फर्काउन बाध्य भएको उनको भनाइ छ ।
पाल्पाका लागि आएको मल कृषि सामग्री कम्पनी जिल्ला शाखाले कृषियोग्य भूमिको क्षेत्रफलका आधारमा स्थानीय तहलाई कोटाअनुसार वितरण गरिरहेको छ । स्थानीय तहले सहकारीमार्फत मल वितरण गरिरहेको छ । तर मागअनुसारको मल वितरण नहुँदा सहकारीलाई वितरण गर्न हम्मेहम्मे परेको छ । समानुपातिकरुपमा मल वितरण गर्न भिडभाड भएपछि केही दिनअघि सूर्योदय कृषि सहकारी संस्थाले प्रहरीको सहयोगमा प्रतिव्यक्ति १०/१० किलोको दरले युरिया मल वितरण गरेको कार्यवाहक अध्यक्ष मित्रलाल गौतमले बताए ।
रामपुरमा विगतमा दुई हजार मेट्रिकटन रासायनिक मल जिल्लामा खपत हुने गरे पनि यस वर्ष हालसम्म दुई सय ५० मेट्रिकटन मात्र मल उपलब्ध भएको कृषि सामग्री कम्पनी लिमिटेड पाल्पा शाखाले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार रामपुर, माडी, अर्गली, हेक्लाङ, पूर्वखोला, दोभान, झडेवालगायत जिल्लाको विभिन्न स्थानमा गरी आठ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा यस वर्ष धान लगाइएको छ । जिल्लामा छ महिनादेखि मलको अभाव सिर्जना भएको छ । धानबाली मात्र नभई मकै, तरकारी, फलफूलबालीमा समेत उचित समयमा युरिया मल दिन नसक्दा मेहनत र लगानीअनुसारको यस वर्ष उत्पादन स्याहार्न नपाइने कृषक बताउँछन् ।
उत्पादन बढाउने उद्देश्यले खेतबारीमा पछिल्लो समय रासायनिक मलको मात्रा बढ्दो छ । रासायनिक मलको मात्राले खेतीयोग्य जमिनमा नराम्रो असर पारिरहेको छ । पहिलेजसो खेतबारीमा घरायसी मल प्रयोग गरेर खेती उत्पादन गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज नारायणको बार, कुन राशिलाई कस्तो लाभ ? हेरौँ राशिफल
-
अमेरिकी डलर, चिनिया युआन, रियाल, दिराम र दिनारको मूल्य बढ्यो, कसको कति ?
-
सिरियामा सैन्य संख्यावृद्धि विनाशकारी हुनसक्ने चेतावनी
-
कर्णालीमा धान उत्पादनमा वृद्धि
-
वुमन्स च्याम्पियन्स लिग : चेल्सीको लगातार छैठौं जित, रियाल स्तब्ध
-
विश्वशान्ति र प्राणी कल्याणका लागि लुम्बिनीमा १० दिने शाक्यमोन्लम पूजा