शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

कवितामाथि प्रदीप गिरिको आलेख : टाक्सिएको आधुनिक कविता

आइतबार, ०५ भदौ २०७९, १४ : २३
आइतबार, ०५ भदौ २०७९

आधुनिक युगको प्रवर्तन हुनुअघि संसारका विभिन्न कुनामा रहेका राष्ट्र र समाजमा साहित्य र कलाले आफ्नो स्थानीय चरित्रलाई विशेष रूपमा निर्वाह र प्रतिविम्बित गरेका थिए । तर विज्ञान–प्रविधिको विकासका साथ संसार साँघुरिँदै गयो । रेल–वे, वायुयान, टेलिग्राम र टेलिफोनका माध्यमबाट हामी एक अर्कासँग घनिष्ट हुँदै गयौं । 

बीसौं शताब्दीका प्रारम्भिक वर्षमा सामान्यतः विश्व साहित्यमा विशेष गरेर अंग्रेजी साहित्यमा सर्वथा नयाँ उन्मेष र उद्वोधन भेटिन्छ । प्रथम महायुद्धताका बेलायतमा टीएस इलियटको कविता–संकलन प्रकाशित भयो । इलियटले १९६५ मा आएर साहित्यका निमित्त नोबेल पुरस्कार समेत प्राप्त गरे । त्यतिञ्जेलसम्म उनको साहित्यक प्रभाव अंग्रेजी जान्ने वा कनिकुथी मात्र भएर पनि बुझ्न सक्ने सिंगो औपनिवेशिक समाजमा समेत प्रसारित भइसकेको थियो । नोबेल पुरस्कारबाट विभूषित भइसकेपछि त उनको कविताको नक्कल गर्नु एउटा फेसन नै बन्यो । नेपाली साहित्य पनि यसको अपवाद रहेन ।

टीएस इलियट स्वयं आफूमा एक विशिष्ट काव्य आन्दोलनका सन्तान थिए । उनी फ्रान्सका केही कविबाट विशेष रुपले प्रभावित थिए । साहित्यको इतिहासमा ती कविहरुलाई प्रतीकवादी र विम्ववादी समेत भन्ने गरिएको छ । इलियटले निःसंकोच एवं मुक्तकण्ठले ती कविहरूको प्रभाव आफूमा परेको स्वीकार गरेका छन् । तर ती कविहरू को हुन् र के हुन् भन्ने विषयमा विश्व–साहित्यमा अझै राम्ररी छलफल भएको छैन । अंग्रेजीका नामुद समीक्षक एज्रा पाउन्ड पनि ती कविहरूबाट गहिरो रूपमा प्रभावित थिए । एज्रा पाउण्डले नै इलियटलाई फ्रान्सेली काव्यधारासँग परिचित गराएका हुन् भन्ने बुझिन्छ ।

प्रारम्भिक चरणका इलियटले एज्रा पाउन्डलाई गुरुतुल्य मानेका थिए । पछि गएर परिपक्व हुँदै जाँदा इलियटको काव्य स्वर अवश्य फेरिएको छ । तर त्यो अर्कै वास्तविकता हो । सामान्यतः इलियट र एज्रा पाउण्डको काव्यसंसार बडो दुर्बोध्य मानिन्छ । वास्तवमा उनीहरूको काव्यसंसार त्यस्तै नै थियो पनि । एक समीक्षकले उनीहरूको कविताको धाराको दुर्बोध्यता र दुरूहतामाथि एक स्वतन्त्र पुस्तक नै लेखेका छन् । 

पाश्चात्य संस्कृति र परम्पराका जानकारका निमित्त पनि टीएस इलियट र एज्रा पाउन्डको कविता बुझ्न साँच्चि नै गाहो छ । अझ औपनिवेशिक देशका हामी अंग्रेजी बुझिटोपल्ने बद्धिजीवीहरूको त कुरै भएन । दुर्भाग्यवश दक्षिण एसियाका अधिकांश आधुनिक र समसामयिक कविहरूले यसै दुरूह परम्परालाई आफ्नो ‘आदर्श’ सम्झिए । हामी पनि त्यस तथाकथित आदर्शको अभिशापबाट पीडित छौं । खास गरेर पुस १ गते २०१७ सालपछि विशेष चर्चामा आएका कविगण मोहन कोइराला, मदन रेग्मी, कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ, वैरागी काइँला, तुलसी दिवसदेखि लिएर आजसम्मका अनेकानेक कवि र कविगणहरू (पोयटएस्टर) त्यसबाट मुक्त छैनन् ।

आधुनिक नेपाली कविताका कमी कमजोरीका चर्चा गरेर पाश्चात्य प्रभावको एउटा पक्ष–विशेषलाई विवेचना गर्न मात्रै होइन, एउटा अर्को ज्यादै महत्वपूर्ण कुरो औंल्याउने जमर्कोमा यो प्रसंग यहाँ झिकिएको हो । कविताको चिरन्तन, नूतनता र जीवनशक्तिका जरा के हुन् ? कविता के हो ? समीक्षकहरूले र कविहरू समेतले यस्ता प्रश्नको एक होइन अनेक उत्तर दिएका छन् । कविताका निमित्त भाषा, संगीतका निमित्त स्वर र ध्वनि एवं चित्रकलाका निमित्त रंग र रेखा अत्यन्त महत्वपूर्ण हुन्छन् । प्रत्येक कला एउटा विशिष्ट माध्यमबाट अभिव्यक्त र सम्प्रेषित हुन्छ ।

कविताका हकमा भाषाको माध्यम नै महत्वपूर्ण पक्ष हो । त्यसैले कवितामा देखिएका नयाँ व्यञ्जना र प्रयोगलाई भाषा र साहित्यको परम्परामा राखेर नै त्यसको परख गर्नुपर्दछ । आधुनिक नेपाली कविताले विदेशी प्रभाव ग्रहण गर्नु आफूमा स्वयं नराम्रो कुरा हुन सक्दैन । विश्व साहित्यको इतिहासमा यस्ता प्रभावले सकारात्मक प्रभाव पारेका अनेक उदाहरण छन् । प्रभाव ग्रहण गर्ने व्यक्तिले आफ्ना मेधाका आधारमा त्यस विजातीय संस्कारलाई कसरी उपयोग गर्छ, त्यो न अहं कुरो हो । मौलिक उपयोग भयो भने त्यसले– साहित्यलाई झन् समृद्ध बनाउँछ । कुरो क्षमताको हो । एउटा विछट्टको मेधावी व्यक्तिले त्यस्ता प्रभावलाई पचाएर आफ्ना साहित्यका कायाकल्पसम्म उपयोग गर्न सक्छ । त्यसो गर्दा पारसमणिले फलामलाई सुन बनाएझैँ हुन्छ । तर त्यो विजातीय प्रभाव कहिलेकाहीँ साह्रै बेमेल र बेसोमत समेत हुन सक्छ । नेपालीमा यस्तै भयो भन्ने गुनासो मात्र हो । अझ भन्ने हो भने विदेशी प्रभावमा परेर आफ्नो भाषाको शैली र परम्परा बिर्सन नै आजसम्म ‘टाक्सिएको’ नेपाली कविताको मुख्य रोग हो ।

नेपालको ‘आधुनिक कविता’ सात सालको क्रान्तिपछि जोडदार रूपमा अगाडि आयो । कवितामा आधुनिकता प्रवेश भएको प्रारम्भिक संकेत पहिले पनि थियो । सात सालपछि नेपाली कविताको आधुनिकता झन्झन् झांगियो र उर्लियो । अहिले बरु त्यो मत्थर भएको देखिन्छ । बीचको त्यस अवधिमा नेपाली कवितामा वा गद्यमा पनि ‘सिंगो संसार’ नै प्रतिविम्बित भएको छ । बरु नेपाल र नेपालीको स्वर भने झिनो हुँदै गएको पाइन्छ । त्यहाँ एटना र विसुभिएस, क्याक्टस र लिली, कामु र काफ्का, निग्रो र गोरा सब भेटिन्छन् । नेपाल भने विरल र तरल छ । 

नेपालमा पनि रिमाल र विजयबहादुर मल्लले कोरेको मानचित्रमा भूपि शेरचन र कुन्दन शर्मा पनि नभएका होइनन् । तर मोहन कोइराला र मदन रेग्मी, कृष्णभक्त श्रेष्ठ र द्वारिका श्रेष्ठ, वैरागी काइँला र तुलसी दिवसको एकालापमा त्यस्ता केही नाम मानौं विवादी स्वरका रूपमा मात्र प्रकट हुन्छन् । केही मध्यमार्गी पनि छन् । पारिजात वा वानीरा गिरिजस्ता संवेदनशील व्यक्तित्वको कवि–कर्म पनि त्यही डराएर सन्तुष्ट हुनुपर्छ । आखिर किन ?
कुनै पनि कालखण्डमा एउटा कवि–विशेषले कलम पक्रंदा त्यस समाजमा केही काव्यात्मक विषयक मान्यता विद्यमान रहन्छ । कवि त्यस्ता मान्यताबाट प्रभावित हुनु स्वभाविक हो । त्यस्ता मान्यताका आफ्ना सामर्थ्य र सीमा हुन सक्छन् । सात सालको क्रान्तिताका नेपालको साहित्यकाशमा काव्यका मानदण्डहरू धेरै स्पष्ट थिएनन् । जो थिए ती कदाचित् धेरै सही थिएनन् । लक्ष्मीप्रसाद देवकोटा नयाँ पुस्ताका निमित्त सर्वाधिक आकर्षक नक्षत्र थिए ।

लेखनाथ र बालकृष्ण सम त्यही कालका ओज थिए । सात सालको क्रान्तिको सन्धिकालमा उनीहरूको प्रभाव धुमिल हुने साहित्येत्तर कारणसमेत आइपरेका थिए । यस परिस्थितिले देवकोटाको महत्व र आभालाई झन् तेजोदीप्त गरेको थियो । अझ त्यसमाथि पनि देवकोटाद्वारा दश दिनमा रचित ‘सुलोचना’ वा तीन महिनामा सिर्जित ‘शकुन्तला’ झन् विशेष विष्मय र श्रद्धाका वस्तु भएका थिए ।

उपर्युक्त दुई कृतिहरू आज पनि नेपाली समाज र साहित्यमा समादृत छन् । आदर र भावुकताको मिश्रित तरङ्गमा ती कृतिहरूको सार्थक मूल्याङ्कन भने भएको देखिंदैन । कुनै साहित्यिक कृति विशेषलाई यसको रचना अवधिका दिन गनेर गरिमामण्डित गर्न कहाँसम्मको आदर्श स्थिति हो ? यो स्वयम् आफूमा विवादास्पद कुरो छँदैछ । तर योबाहेक पनि देवकोटाका अनेकानेक बहुचर्चित र बहुप्रशंसित कविताहरू आजका मितिमा काव्यका मापदण्डका दृष्टिले वस्तुनिष्ठ रूपमा पुनर्मूल्याङ्न गरिनुपर्ने अपेक्षा राख्दछन् ।

नेपालको नवजागरण र तद्जनित सात सालको क्रान्ति एक महान ऐतिहासिक अभिक्रम अवश्य थियो । अवश्य पनि सात सालको क्रान्ति नेपालको इतिहासको एक काल विभाजक मिति हो । त्यस क्रान्तिले नेपाली मात्रको जनजीवनमा सर्वथा नयाँ उन्मेष र युगबोध ल्यायो । नेपाली जनजीवनको प्रत्येक पक्ष अन्दोलित भयो । भौतिक जीवनमा नयाँ परिवेश उत्पन्न भयो । सांस्कृतिक जीवनमा नयाँ चुनौती आयो ।
कविहरू सांस्कृतिक संसारका सजगतम सदस्य हुन्छन् । नवजागरणले उत्पन्न गरेको सांस्कृतिक चेतनाको सबभन्दा गहिरो प्रभाव कवि–कर्ममा नै गर्छ भन्दा अत्युक्ति हुँदैन । हाम्रो साहित्यको नवमूल्याङ्कनमा यसैले सात सालको पृष्ठभूमि बिर्सन सकिँदैन ।

सात सालको क्रान्तिले अन्य कुराको सँगसँगै नेपाली भाषालाई राष्ट्रिय भाषाको रूपमा प्रचारित र प्रतिष्ठित गर्न कुनै कसर राखेन । सात सालको क्रान्तिपछि यसै पनि नेपाली राष्ट्रियताको प्रवल ज्वार प्रकट भयो । यस्तो राष्ट्रियताको सारतत्व के थियो, कस्तो थियो, हामी अहिले त्यता नजाऊँ ! विचार र राजनीतिको इतिहासमा राष्ट्रियताको मर्म र निहितार्थ बडो संवेदनशील विषय रहेको छ । तर त्यता प्रत्येक राष्ट्रियताको विकास र विस्तारमा भाषा एक प्रमुख उपादान रहेको छ । प्राचीन शास्त्रीय भाषाहरू लोप हुँदै गए । संस्कृत, ग्रीक, ल्याटीन र अरबीका ठाउँमा नयाँ किसिमका भाषाहरू युरोप र एसियामा पुष्पित भए । ती भाषाहरू राष्ट्रियताका सँगसँगै हातेमालो गरेर अगाडि बढे । 
अझ नेपालको हकमा त भाषाले राष्ट्रियताको पल्लवन र पोषणमा विशेष भूमिका खेलेको देखिन्छ । नेपाली जातिले शासक वर्गभन्दा बाहिरका कुनै महापुरुषको पहिलो सालिक बनाएको भानुभक्तको नै होला । नेपालमा त त्यति हुन पनि गाहो थियो । त्यसैले भारतमा अझ विशेष गरेर दार्जीलिङ–कालिङपोङमा रहेका नेपालीहरूका प्रयत्नले भानुभक्तको प्रतिमा र प्रतिष्ठा खडा भयो । नेपालको जनजागरणमा भाषाको महत्व यसबाट पनि स्पष्ट हुन्छ । यसैले पनि होला, सात सालको क्रान्तिमा साहित्यकार र राजनीतिज्ञका बीचमा बडो मसिनो अन्तर रहेको थियो ।

नेपाली भाषा र साहित्यमा आएका अधिकांश प्रभाव सात सालको क्रान्तिसँग प्रत्यक्ष रूपमा सम्बद्ध छन् । तिनताका भारतीय साहित्यहरू विशेष गरेर बङ्गाली साहित्य निकै समृद्ध भैसकेका थिए । नोबेल पुरस्कार पाएका रवीन्द्रनाथ टैगोर एवम् उनका परवर्तीहरू भारतका मात्र नरहेर सिङ्गो एसियाको विभूति र गौरव भएका थिए । त्यस्तै शरद्चन्द्र चटर्जी, विभूतिभूषण बन्दोपाध्याय, ताराशंकर बन्दोपाध्याय नेपालीका निमित्त पठनीय र अनुकरणीयसमेत थिए । हिन्दीका हकमा प्रेमचन्द, जैनेन्द्र कुमार, भगवतीचरण वर्मा, इलाहचन्द जोशीका कथा–साहित्यका सँगसँगै प्रसाद, पन्त, निराला समेतको काव्यको प्रतिभाले नेपाली तरुणहरू सर्वथा चमत्कृत थिए । सात साल ताकाको नेपाली साहित्यको सिर्जना र विकासमा उनीहरूको प्रचुर प्रभाव भेटिन्छ । सात सालको क्रान्तिपछि यो प्रभाव झन् गहन र व्यापक भयो । 

१९६० पुग्दासम्म नेपाली साहित्यले पश्चिमका साहित्यकारहरूलाई पनि चिनिसकेको थियो । अन्यथा परिचयका हकमा हाम्रा नेपाली साहित्यकारहरूले अंग्रेजी भाषा र साहित्यका आइए÷बीए पढ्दाका पाठयक्रम सीमित रहेको बुझिन्छ । स्वयम् महाकवि देवकोटाको साहित्य–संसारमा पाठयक्रममा पढिएका वर्ड्सवर्थ, शेली, किटस् र कलरिजको प्रभावको प्रतिविम्ब छ । यो प्रभाव सधैँ स्वस्थ र सकारात्मक छ भनेर भन्न पनि गाहो छ । साहित्यका दुरूहता र विजातीय पृष्ठभूमि आधुनिक हिन्दी साहित्यमा समेत विवादको विषय रहेको छ । छायावादका प्रयोक्ता भनेर चिनिएका प्रसाद, निराला र महादेवी पनि आफ्ना समयमा आलोच्य रहेका थिए । तर आलोच्य भवभूति पनि रहे । भवभूति, निरालाका आलोचना सबैभन्दा बढी उनीहरूको शैली र व्यञ्जनामा देखिएको मौलिक प्रयोगमा केन्द्रीत थियो । आधुनिक हिन्दी र नेपाली कवितामा देखिएको दुरूहतालाई भने यस श्रेणीमा राख्न सकिंदैन । यो नै अहिले हाम्रा निमित्त चिन्ताको प्रमुख विषय रहेको छ । 

आफ्ना सबै रचनामा आलोच्य रहेका शेक्सपियर वा भवभूति मुख्यतः उनीहरूको प्रयोगधर्मिताले गर्दा विवादास्पद भएका थिए । उनीहरूको त्यस प्रयोगधर्मिताका अनेकन आयाम थिए । शेक्सपियरको भाषा र शैली नै विवादित भएको थियो । भवभूतिका हकमा उनले प्रचलित नाट्यशास्त्रका दुःखान्तका मान्यतासँग विद्रोह गरेका थिए । उनीहरूको विद्रोह र नवीनता आज सर्वथा बुझ्न सकिने छन् । त्यस्तै अन्य विवादित कविहरू पनि धेरैजसो अभिव्यक्तिको परम्पराबाट फाटिएका हुनाले दुरूह भएका थिए । अन्यथा  हिजोको कला–संसारका मान्यता निश्चित र स्पष्ट थिए ।  प्रत्येक कला निश्चित शास्त्रका मान्यता र मर्यादाबाट निर्देशित रहन्थे । त्यस्ता स्वीकृत मान्यता र मर्यादाको दायरामा मात्र रहेर कविले आफ्नो व्यक्तित्वको  निजत्वलाई अभिव्यक्ति दिन्थे । यस्तो निर्दिष्ट मान्यता र र दायराले कविको मौलिकतालाई प्रकट गर्ने प्रयास न निकै कठिन बनाएको हुन्थ्यो । र, त्यस कठिनाईले नै उसको प्रयत्नको महत्ता रेखाङ्कित गर्दथ्यो । तर आधुनिकसंसारमा यस्तो छैन । 

आधुनिक संसारमा व्यक्ति त मानौँ संसारको केन्द्र भएको छ, स्वयम्भू भएको छ । व्यक्तिलाई बजारले एकातिर संकीर्ण र सीमित बनाएको छ, अर्कोतिर ऊ बजारको सम्प्रभु शक्तिका रूपमा स्थापित भएको छ । खासमा पुँजीवादको विकासको साथै व्यक्तिवाद हाम्रो समाजको मुख्य विशेषता बन्न गयो । व्यक्तिको उत्कर्षका सँगसँगै कलाका शास्त्रीय अनुशासन शिथिल भए, तिनको अवज्ञा प्रारम्भ भयो । यसैले समकालीन कला र साहित्यमाथि समाज, समुदाय र सामूहिकताको दबाब पनि शिथिल हुदै गएको छ । 

भाषा मूलतः एक सामाजिक सम्पत्ति हो । समाज र समुदायको दबाब नै स्वयम् शिथिल भएपछि भाषा मात्रले कति थेग्न सक्छ ? त्यसैले गर्दा आधुनिक कविताको भाषाले पनि प्रसाद गुणको वा व्याकरण समेतको पर्वाह गरेको देखिदैन । यो नै आजको साहित्यको चिन्ताको अर्को एउटा पाटो हो ।

साहित्यको इतिहासमा भाषाको केन्द्रीयताको बारेमा झन्डै सबैजसो सर्जक र समीक्षकमा मतैक्य रहेको छ । साहित्यका अधिकांश समस्या भाषाका समस्या हुन् भनिन्छ । यसो भन्दा भाषालाई व्यापक अर्थमा अवश्य बुझिएको हो । साहित्यका आचार्यहरूले बेग्लाबेग्लै बखतमा ध्वनि, बक्रोक्ति, उपमा, विम्ब, प्रतीक र अभिव्य जनाका अनेक शैलीहरूका प्रासङ्गिकता अवश्य बताएका छन् । उपर्युक्त कुनै पनि प्रयोग अन्ततः भाषाको प्रयोगमै हुन जान्छ । साहित्य र कवितामा कमसे कम यो कुरो सत्य हो । तर भाषाको जटिलता र प्रयोगको आवरणमा अरू कुरो पनि रहन्छ । 

कविले भाषाका माध्यमबाट अनुभूति र संवेदनाको ‘व्यापार’ गर्छन् । तर प्रत्येक कवि अनुभूति र संवेदनाको सजग भोक्ता सजिलै हुँदैनन्, भाषाभन्दा पृथक रहेर अनुभूति र संवेदनालाई भोग्न पनि गाह्रो हुन्छ । यो भाषाको विशेषता हो । तर कविको व्यक्तित्व र निजत्वको परीक्षा भने अनुभूति र संवेदनाको क्षेत्र नै हो । यसैले गर्दा अधिकांश समीक्षक र कविले कवितालाई अनुभूतिको अभिव्यक्तिका रूपमा परिभाषितसमेत गरेका छन् । तर प्रत्येक कवि मौलिक अनुभूतिबाट गुजिएको हुँदैन । जीवनका सूक्ष्मतर अनुभूतिहरूमाथि समाजले समेत बन्देज लगाउँछ । समाजले प्रोत्साहन त गर्दै गर्दैन । हाम्रो सोच विचार, संस्कार, बानी–व्योहोरा, रुचि–अरुचि र अभिरुचिसमेत धेरैजसो हाम्रा आदत र शिक्षाबाट आएका हुन्छन् । 

अझ विद्युतीय उपकरणको आतङ्क रहेको आजको समाजमा मानवीय अनुभूति र संवेदना सततः त्रस्त हुँदै गएको हामी नित्य देख्दैछौँ । तर हिजोको समाजका परम्परागत बन्धनले पनि यस्तै त्रासदी उत्पन्न गरेको थियो । यस्तो परिस्थितिमा कवि र कलाकार मौलिक स्रष्टाभन्दा पनि शिक्षित कालिगड हुन पुग्छन् । उनीहरूको कला वा कविता हृदयबाट नभएर शास्त्रका व्याकरणबाट सिर्जित हुन्छ । त्यस्तो काव्य सार्वजनीन र चिरन्तन हुन सक्दैनन् ।
आज हाम्रा माझ शास्त्रको अनुशासन छैन । तर कला र कविता के हो भन्ने विषयमा एक होइन, अनेक नक्कली र सक्कली मान्यता तथा उदाहरण छन् । हाम्रो आधुनिक कवितालाई यस्ता मान्यताले क्षतविक्षत तुल्याएको छ । यस अर्थमा स्वस्थ काव्यधाराको श्रोतको खोज मानौं लुप्त भएकी सरस्वती नदीको खोज हो वा भगिरथको गङ्गा अवतरणको तपस्या हो । 

आजको उपभोगप्रधान समाजमा यसै पनि कला र कविता मानिसको चासोको विषय रहेको छैन । कलाका कृति र अनुकृतिहरू एउटा धनप्रधान बैठकको सजावटको विषय रहेको छ । कविताका सङ्कलनहरू पनि धेरैजसो नवधनाढ्य उपबु्रजुकको पुस्तकालयसम्म पुग्छन् होला ! तिनका महँगा आवरण हत्तपत्त खोलिन्नन् । त्यस्ता समयमा कविताको मौलिकता हरायो भने पाठक दूर्लभ र क्षीणतर हुँदै जान्छन् । तर कदाचित् कविकर्मको आनन्द, महत्ता र गौरवसमेत पनि कायम रहन सक्दैन । आज हाम्रा भाषामा समेत कविहरू पातलिँदै गएका छन् । त्यस्तो पातलिने दुःखद प्रक्रिया गुणात्मक नभएर मात्रात्मक समेत हुन गएको छ । आखिर किन ? कदाचित् कविकर्मको मौलिकता र गरिमा पो हराएको हो कि ?

प्रत्येक स्रष्टाको कर्म मूलतः उसको आत्मन्वेषणको अभियान हुन्छ अथवा हुनैपर्छ । मानिसका भोक अनेक किसिमका र अनेकौं स्तरका हुन्छन् । मनुष्यका कतिपय भोक पशुसँग तुलनीय छन् । आहार, निद्रा र मैथुन त्यस्तै भोक हुन् । त्यसपछि मनुष्य भने इज्जत, सम्मान, सम्पदा, सत्ता आदिको भोकबाट सञ्चालित रहन्छ । अन्ततः प्रत्येक संवेदनशील मनुष्यले आफ्ना अस्मिता र नियतिका बारे पनि ढिलो–चाँडो प्रश्न गर्छ । सबै किसिमको कलाको उत्पत्ति यस्तै मुहानबाट हुन्छ भन्दा अन्यथा नहोला । कविता यस्तै एउटा कला हो । यसैले कविकर्ममा निजत्व र कवित्व भएकै अनुपातमा त्यस कृतिको गुणवत्ता प्रमाणित हुन्छ । 
दुर्भाग्यवश समसामयिक सभ्यता (?) ले एकातिर नक्कली बजारको नक्कली व्यक्तिवादलाई बढावा दिएको छ भने अर्कोतिर विद्युतीय उपकरण लगायतका सञ्चारका अतिक्रमणले हाम्रो आत्यन्तिक अस्मितालाई समेत आघात पुर्याएको छ । समसामयिक कविहरू आत्मसङ्घर्षको एउटा विकट र असमान चरणमा छन् । त्यस सङ्घर्षको चाप र दापमा परेर हाम्रो कविता आज पनि टाक्सिएकै छ । रामकृष्ण शर्माको ‘टाक्सिएको कविता’को विलौना आज पनि प्रसाङ्गिक हुनु खुशी र गौरवको कुरो पक्कै होइन ।

शनिबार निधन भएका कांग्रेस नेता गिरिको यो आलेख २०६४ मा शारदा मासिकको असार अंकमा प्रकाशित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रदीप गिरि
प्रदीप गिरि
लेखकबाट थप