शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसका रामजनम चौधरी ‘डेन्जर जोन’मा उम्मेदवार बन्ने

नागरिक उन्मुक्ति पार्टीको गढमा गठबन्धनलाई कति सहज ?
आइतबार, ०५ भदौ २०७९, १३ : २१
आइतबार, ०५ भदौ २०७९

पछिल्लो ५ वर्ष गुमनाम रहेका तर त्यसअघि निरन्तर २२ वर्ष सत्ता र सरकारको वरिपरि रहेका कांग्रेस नेता रामजनम चौधरी आसन्न निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तरखरमा छन् । सो क्षेत्रमा यसअघि तत्कालीन राजपा नेपालबाट रेशम चौधरी निर्वाचित भएका थिए ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सो क्षेत्र अन्तर्गतका पालिकामा रेशम चौधरीकै दल नागरिक उन्मुक्ति पार्टीले शानदार जित हासिल गरेको छ । त्यसैले उक्त क्षेत्र अन्य दलका लागि ‘डेन्जर जोन’ मानिएको छ ।

२०४८ सालपछि अनवरत संसद् भवन भित्र छिर्ने भाग्यमानी नेतामध्येका एक हुन् रामजनम चौधरी । उनले २०४८, २०५१ र ०५६ सालमा कैलाली क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचन जिते । २०६४ सालमा भने उनी विजय गच्छदारको पार्टीमा प्रवेश गरेर समानुपातिकतर्फबाट सभासद् चुनिएका थिए ।

२०७० सालमा दोस्रो संविधानसभाको चुनावमा उनी कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित भए । उनी २०७४ को निर्वाचनमा भने पहिलोपटक पराजित भए । कैलाली क्षेत्र नम्बर ३ बाट माओवादीका गौरीशंकर चौधरीसँग ४ हजार ३८५ मतले पराजित भएका उनी २० हजार ४९४ मतमा सीमित भए ।

०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट रेशम चौधरीले ३४ हजार ३४१ मत ल्याएर जित हासिल गरेका थिए ।

टीकापुर घटनाले गिजोल्छ रामजनमलाई

२०७२ ताका संविधान लेखनको क्रममा यहाँ अखण्ड सुदूरपश्चिम र थरुहट÷थारुवान गरी २ परस्पर विरोधी आन्दोलन उत्कर्षमा थियो । थरुहट÷थारुवान आन्दोलन हाँकिरहेको थारु कल्याणकरिणी सभा (थाकस) र थरुहट÷थारुवान संयुक्त संघर्ष समिति पक्षधर सांसदहरूको नेतृत्व रामजनमले नै गरिरहेका थिए ।

२०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो भिडन्त हुँदा एक नाबालकसहित ७ प्रहरीको ज्यान जाने गरी टीकापुर घटना घट्यो । भदौ ८ गते प्रशासनले जारी गरेको कर्फ्युकाबीच थारु समुदायका ८० बढी घर, पसल, एफएममा आगजनी भयो ।

कैलालीमा आन्दोलन हाँकिरहेका नेताहरु टीकापुर घटना अभियोगमा पक्राउ परे । तर रामजनमले २०७२ कार्तिकमा स्वास्थ्य मन्त्रीको पदभार ग्रहण गरे । उनलाई थारू समुदायलाई उचालेर आन्दोलन गर्न लगाएको, आन्दोलनका क्रममा भएको टीकापुर घटनाको आरोपमा निर्दोष जेल पर्दा पनि बेवास्ता गरेको र आन्दोलनको बुई चढेर मन्त्री पद हासिल गरेको आरोप लाग्दै आएको छ । त्यसैले पनि पछिल्लो समय उनी टीकापुर घटनामा मुछिएकाहरूको मुद्दा फिर्ता तथा रेशम चौधरीको रिहाइका लागि लबिङ गरिरहेका छन् ।

‘इमोस्नल ब्ल्याकमेलिङ’को चिरफार गर्दै चुनावमा जान्छु : रामजनम

२०७४ को निर्वाचनमा एमाले र माओवादीको गठबन्धनका कारण चुनाव हारेको बताउने रामजनम कैलाली क्षेत्र नं.१ मा उम्मेदवार बन्ने दाबी गर्दछन् । रेशम चौधरीकै दलको गढ मानिएको क्षेत्रमा चुनाव लड्ने घोषणा गरेका उनी स्थानीय तह निर्वाचनमा मतदातालाई ‘इमोस्नल ब्ल्याकमेलिङ’ गरेर रेशमको दलले चुनाव जितेको आरोप लगाए ।

उनले भने, ‘जनतामाझ इमोस्नल ब्ल्याकमेल गरिएको छ । रेशमलाई रिहा गराउने भनेर भोट मागिएको छ । त्यसलाई नै चिरफार गरेर चुनावमा जान्छु ।’

उनले टीकापुर घटनाका बन्दीलाई रिहा गराउन केही कानुनी अड्चन रहेको भन्दै तिनलाई संशोधन गर्न पहल भइरहेको बताउँछन् ।

स्थानीय तहमा कैलाली क्षेत्र नम्बर १ अन्तर्गतको पालिकाहरूमा रेशम चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरे पनि सो क्षेत्रमा सत्तारुढ गठबन्धनको मत उल्लेख्य देखिन्छ । स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष÷प्रमुखका उम्मेदवारहरुले १७ हजार १९३ मत प्राप्त गर्दा सत्तारुढ गठबन्धनबाट कांग्रेसको ११ हजार ६७८, माओवादी केन्द्रको ६ हजार ९३०, जसपाको २ हजार ३०२ र नेकपा एकीकृत समाजवादीको २ हजार ३३२ मत छ । यस हिसाबले सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको तुलनामा सत्तारुढ गठबन्धन ५ हजार ९४९ मतले अगाडि देखिन्छ ।

आसन्न निर्वाचनमा सो क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीबाट रन्जिता श्रेष्ठ चौधरी उम्मेदवार बन्ने चर्चा छ । उनी रेशम चौधरीकी पत्नी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप