बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी आन्दोलन आतङ्कवाद थिएन भनेर चिनाउन प्रदीप गिरिको ठुलो हात छ : राम कार्की

आइतबार, ०५ भदौ २०७९, १२ : ५०
आइतबार, ०५ भदौ २०७९

नेपाली काँग्रेसका नेता प्रदीप गिरिको शनिबार राति निधन भएको छ । नेपाली राजनीतिमा बौद्धिक नेताको छवि बनाएका गिरिप्रति देशभरबाट शुभचिन्तकहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । 

नेकपा माओवादी केन्द्रका नेता तथा सांसद राम कार्की गिरिलाई आलोचनात्मक चेत भएको नेताको रूपमा सम्झन्छन् ।  माओवादीलाई आतङ्कवादी भनेर दौडिरहेका बेला माओवादी आन्दोलनलाई राजनीतिक आन्दोलन हो र यसको राजनीतिक समाधान गर्नुपर्छ भन्ने नेताको रूपमा पनि गिरिलाई उनी स्मरण गर्छन् । नेता गिरिबारे उनको भनाइ यस्तो छ :

प्रदीप गिरि आलोचनात्मक चेत भएको, कुनै पनि विषयवस्तुलाई क्रिटिकल्ली हेर्न सक्ने एक बौद्धिक नेता हुनुहुन्थ्यो । उहाँको जीवनमा कतिपय कमीकमजोरी परिस्थितिजन्य र स्वभावगत त थिए, तर पनि उहाँ टावर पर्सनालिटी नै हो । नेपाली काँग्रेसको राजनीतिमा वीपी अलि बढी व्यवहारवादी बढी देखिनुहुन्थ्यो भने गिरि परिस्थितिअनुसार कहिले मार्क्सलाई अगाडी ल्याउनुहुन्थ्यो कहिले गान्धीलाई ल्याउनुहुन्थ्यो ।

खासगरी वीपी र गिरी दुवैको राजनीतिक उद्भव भारतीय समाजवादी आन्दोलनबाट भएको हो । गिरिको जीवनमा आलोचनात्मक ज्ञान बढी हुनुका साथै केही अराजकता पनि थिए । अराजकताका गुण हुनुमा उहाँलाई  शैलजासँगको सम्बन्धले पनि सहयोग गर्‍यो । 

हाम्रा लागि पनि उहाँ एउटा ठुलो आड हुनुहुन्थ्यो । उहाँले हामीलाई सधैँ भन्ने गर्नुहुन्थ्यो–कार्ल मार्क्सको नाममा गरिने कुनै पनि विकासमा मलाई जुन पदमा राखे पनि स्वीकार्य छ । म त्यसमा सहभागी हुन पाउनुपर्छ भन्ने विनम्र खालको अनुरोध हुने गर्दथ्यो । उहाँका अगाडी हामी सबै हिसाबले भाइ हौँ । हामीले कार्ल मार्क्सको शतवार्षिकी सुरु गरेपछि उहाँले भन्नुहुन्थ्यो– त्यहाँ कन्ट्रिव्युट गर्ने कुरा होस् वा अरू केही मलाई नछुटाउनुहोला है ! बरु पद जे दिए पनि हुन्छ ।

व्यक्तिगत रूपमा मलाई उहाँको जिन्दगीभर स्नेह प्राप्त भइरह्यो । मैले कांग्रेसबाट राजनीति सुरु गर्दा होस्, जनवादी मोर्चा वा पछि माओवादी आन्दोलनमा समाहित हुँदा नै किन नहोस् ? माओवादी आन्दोलन आतङ्कवाद होइन यो एउटा राजनीतिक हो भनेर दक्षिण एसियामा चिनाउन प्रदीप गिरि र दुर्गा सुवेदीको ठुलो योगदान छ । यो कुरा हामी सबैले बुझ्नुपर्ने कुरा पनि हो । नेपाली कांग्रेस र एमालेका धेरै नेताहरूले माओवादीलाई आतङ्कवादी भनेर दौडिरहेका बेला माओवादी आन्दोलनलाई राजनीतिक आन्दोलन हो र यसको राजनीतिक समाधान हुन्छ भनेर इन्टरपिटेसन गर्ने प्रदीप गिरी हो । 

जुनसुकै स्टेजमा पनि उहाँले माओवादीसँग संवाद गरिरहनुहुन्थ्यो भने माओवादीलाई खुला राजनीतिमा ल्याउन पनि उहाँको ठुलो योगदान छ । उहाँ नहुँदा नेपाली राजनीतिमा धेरै चिज खड्किन्छ । एउटा त बौद्धिकता, त्यो स्तरको चेतनास्तर बुझाइ भएको नेता हो । कुनै स्वार्थमा नलटपटिने स्वभाव उहाँको थियो । उहाँको ईर्ष्या गर्ने मानिसहरू भए पनि उहाँमाथि लगाइएका ती आक्षेपहरू कहीँ प्रमाणित भएनन् । हामीले सङ्गत गर्दा उहाँले कहिल्यै पनि पैसा छुनु पनि भएन । कसैलाई सहयोग गर्नुपर्‍यो भने शुभचिन्तकहरूलाई भन्नुहुन्थ्यो आफूले पैसा पनि सँगै राख्नुहुँदैन थियो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप