बाबुराम र वामदेवको राजनीतिक विचलन कि असफलता ?
नेपालको राजनीतिमा पुष्पकमल दाहालपछि चर्चामा आउने दुई पात्र हुन्, डा बाबुराम भट्टराई र वामदेव गौतम । गत हप्ता बाबुराम र वामदेवले माओवादी केन्द्रको चुनाव चिन्ह (हँसिया हँथौडा) बाट संघ र प्रदेशको निर्वाचनमा भाग लिने निर्णय गरेपछि यी दुई पात्र पुनः चर्चामा छन् । यी दुबै नेताले खुलेरै भनेका छन् ,माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिँदा जित सुनिश्चित हुन सक्दछ ।
प्रत्येक उम्मेदवारको लक्ष्य निर्वाचन जित्नु नै हुन्छ । त्यसकारण डा भट्टराई र वामदेव गौतमलाई माओवादी केन्द्रको जनस्थापित चुनाव चिन्ह हँसिया हँथौडाबाट चुनावमा भाग लिँदा जति सहज हुन सक्दछ, त्यति सहज उनीहरुले नेतृत्व गरेका नवगठित पार्टीको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिँदा सहज हुने देखिदैन । यो वस्तुगत धरातलीय यथार्थता बुझेरै उनीहरुले ठूलो पार्टीको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने निर्णय गरेको देखिन्छ । यसरी चुनाव जित्नकै लागि आफ्नो पार्टीको चुनाव चिन्ह प्रयोग नगरी माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिन खोज्नु नेताद्वयको राजनीतिक असफलता हो या विचलन ? यो विषयले राजनीतिक बजारमा चर्चा पाएको छ ।
हरेक राजनीतिक पार्टीका आ–आफ्ना मूल्य, मान्यता र आदर्श हुन्छन् । पार्टीहरुले आफ्ना घोषित आदर्श लागू गराउन आफ्ना प्रतिनिनिधिलाई निर्वाचनमा उम्मेदवार बनाइ विजयी गराउँछन् । निर्वाचन एउटा त्यस्तो वैधानिक प्रक्रिया हो, जसबाट राजनीतिक दलहरुको दलीय आदर्श र नेतृत्व क्षमताको परीक्षण हुन्छ । राजनीतिक दलहरुको आदर्श अस्पष्ट, दिशाहीन भयो भने ती दल प्रतिको जनआस्था घट्दै जान्छ । सत्ता राजनीतिमा बारम्बार परिक्षित भै अब्बल नेतृत्व शैली देखाउन नसकेका नेताहरुप्रति जनताको विश्वास घट्दै जान्छ । फलस्वरुप जनतामा मात्र होइन, स्वंयम नेतृत्वको मनोविज्ञान र मानसिकता पनि कमजोर हुँदै जान्छ ।
सत्ता नै सबथोक हो, अन्य कुराहरु गौण हुन् भन्ने नेताहरुको लागि दलको आदर्श केवल हात्तीको देखाउने दाँतजस्तो हुन्छ । समय र परिस्थितिले वामदेव गौतम र बाबुराम भट्टराइलाई यही ठाउँमा पुर्याएको छ ।
संसारको इतिहास हेर्यौं भने कुनै पनि देशमा आकस्मिक रुपमा विचार र नेतृत्व जन्मेको देखिदैन । केही अपवादमा चमत्कारपूर्ण नेतृत्व पनि नजन्मने होइन । यो अवस्था नितान्त कम हुन्छ । राजनीतिशास्त्रको सामान्य सिद्धान्तले के भन्दछ भने विचार र नेतृत्व ऐतिहासिक परिघटनाले निर्माण गर्दछ । डा भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी र गौतम संयोजक भएको नेकपा एकता राष्ट्रिय अभियानको जन्म या निर्माण गर्दाको समयमा नेपालमा कुनै विशिष्ट राजनीतिक परिघटना घटेको थिएन, जसले नयाँ विचार र नेतृत्व एकसाथ जन्मन सकोस् । कमजोर धरातलमा जन्मेका यी दुई पार्टी र त्यसको नेतृत्व गर्ने डा भट्टराई र गौतमको पार्टी र नेतृत्व सफल हुने अवस्था थिएन । समयक्रमले त्यही कुरालाई प्रमाणित गर्यो ।
स्पष्ट वैचारिक आदर्श र धरातल नभएका र सत्ता राजनीतिमा परीक्षण भई अव्वल शासकीय शैली प्रदर्शन गर्न नसकेका गौतम र डा भट्टराईले नेतृत्व गरेका उल्लेखित दुई पार्टीहरु असफल हुनुका पछाडि वाह्य र आन्तरिक कारण प्रमुख मानिएका छन् । यद्धपि कुनै संगठन या नेतृत्व सफल या असफल हुनुको पछाडि बाह्य कारणभन्दा आन्तरिक कारण नै प्रमुख मानिन्छ । आफ्नो पार्टीको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिएर निर्वाचनमा सफल हुने अवस्था नदेखेपछि अर्को पार्टीबाट चुनावमा भाग लिने निर्णयले उनीहरुको राजनीतिक धरातल कमजोर हुँदै गएको अवस्थालाई चित्रण गर्दछ । यो घटनाक्रमले उनीहरुमा गम्भीर सैद्धान्तिक र नैतिक विचलनसमेत भएको रुपमा पनि हेर्न सकिन्छ ।
गत महिना डा भट्टराईले एउटा संचार माध्यममा अन्तरवार्ता दिंदै भनेका थिए, “मैले नेकपा माओवादी पार्टी परित्याग गरी नयाँ शक्ति पार्टी हुँदै विभिन्न पार्टी र मोर्चामा रहेर राजनीतिको परीक्षण या अभ्यास गरें, ती परीक्षण सफल हुन सकेनन् । मलाई यसमा कुनै पश्चाताप वा पछुतो छैन । परीक्षणबाटै सत्य कुरा पत्ता लाग्दछ ।”
डा भट्टराईको उक्त विचार प्रयोजनवाद या प्रयोगवादी दार्शनिक विचारधाराबाट प्रभावित भएको देखिन्छ । प्रयोजनवादी दार्शनिक विचारधाराले सत्य परिवर्तनशील छ, सत्य तथ्यद्वारा प्रमाणित हुनु पर्दछ भन्ने मान्यता राख्दछ । यो विचारधाराले प्रयोगात्मक ज्ञान नै सर्वोत्कृष्ट ज्ञान भन्दछ । सौह्रौं–सत्रौं शताव्दीमा युरोपमा जन्मेको यो विचारधाराले अहिले अमेरिकी समाजलाई समेत प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । त्यस्तै उनको यो विचार मध्यकालीन विचारक वेन्थमको उपयोगितावादी विचार र माइक्यावेलीको राज्यकौशल सम्बन्धमा दिएको विचारबाट डा भट्टराईलगायत नेपालका बहुसंख्यक नेताहरु प्रभावित भएको देखिन्छ । उनको विचारमा एउटा शासकले शक्ति प्राप्त गर्ने, त्यसलाई टिकाइ राख्ने र त्यसलाई विस्तार गर्ने सम्बन्धमा जे जस्तो पनि उपाय निर्णय पनि छुट हुन्छ भन्ने विचारोत्तजक दृष्टिकोण दिएका छन् ।
माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिंदा आफनो जितको सुनिश्चितता देख्ने अर्का राजनीतिक हस्ती या पात्र हुन् वामदेव गौतम । उनको एक सुत्रिय अभिष्टी हो प्रधानमन्त्री बन्ने, सिंहदरवारमा फोटो झुण्ड्याउने । सिंहदरवारमा फोटो झुण्ड्याउन उनी यति लालायित देखिन्छन् कि संविधान संशोधन गरेर भएपनि प्रधानमन्त्री बन्ने दाउ राखेका छन् भन्ने कुरा उनका विगत्का घटनाक्रमले पुष्टि गर्दछन् । यो अभिष्टि पूरा गर्नका लागि पनि राष्ट्रियसभाको सदस्यबाट राजीनामा दिई संघीय निर्वाचनमा जितको सुनिश्चिता खोज्दैछन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
वामदेवले उपप्रधानमन्त्री, गृहमन्त्रीलगायत सिंहदरवार भित्रका महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिसकेका छन् । बर्दिया र गृह जिल्ला प्युठानबाट समेत प्रतिनिधित्व गरिसकेका छन् । उनको विगतको सत्ता नेतृत्वको कार्यकाल जनताले अपेक्षा गरेअनुसार सफल हुन सकेन । उनले नेतृत्व गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टी नभएर एउटा तदर्थ खालको मोर्चा हो, जसको कुनै स्पष्ट सैद्धान्तिक आधार छैन । दलीय व्यवस्थामा स्पष्ट राजनैतिक दर्शन नभएको राजनीतिक समूह या मोर्चा सफल हुने अवस्था थिएन र छैन पनि । लामो समयसम्म कम्युनिष्ट पार्टीको नेतृत्व तहमा बसेको नेताले आफ्नो राजनीतिक आदर्श त्यागेर मोर्चा गठन गरी अर्को पार्टीको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिनुले उनमा आएको गम्भीर राजनैतिक विचलन वा असफलताको रुपमा बुझ्न सकिन्छ ।
कुनै नेताले आफ्नो जीवनकालको लामो कालखण्डसम्म एउटा विचार र आदर्श बोकी जनता तथा कार्यकर्तालाई सोहीअनुसार आफ्नो पथमा हिँडाएको हुन्छ । स्वाभाविक रुपमा ती जनता तथा कार्यकताहरु उप्रति अनुग्रही हुन्छ । आफूले दीक्षित गरेका जनता तथा कार्यकर्ताको मनोविज्ञान र देशको बस्तुगत धरातलीय यथार्थलाई नजरअन्दाज गरी आफनो माउ पार्टी र वैधानिक रुपले निर्वाचित भएको नेतृत्वलाई गलत ढंगले विस्थापन गर्ने या निर्वाचित नेतृत्वलाई विभिन्न आरोप लगाई आफूमात्र सही छु भन्ने आत्मकेन्द्रीत र पूर्वाग्रही चिन्तनबाट ग्रसित भएका देखिन्छन् डा भट्टराई र गौतम ।
राजनीतिक रुपले विचलन हुनु भनेको राजनीतिक असफलता नै हो । डा भट्टराई र गौतमले जुन तर्क अघि सारेर छुट्टै पार्टी खोले, ती नवगठित पार्टी र नेतृत्वप्रति जनताको आकर्षण देखिएन । यो धरातलीय यथार्थलाई आत्मसात् गरी यी दुबै माओवादी पार्टीको चुनाव चिन्हबाट आसन्न संघको निर्वाचनमा भाग लिने घोषणा गरेको देखिन्छ । वामदेव र बाबुराम प्रवृत्ति सबै साना ठूला दलमा देखिन्छ । यसले व्यक्ति या नेतालाई फाइदा पुगेपनि आम जनता वा कार्यकर्तामा नेता वा नेतृत्वप्रति नकरात्मक सोचको विकास हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेख बस दुर्घटना अपडेट : ८ जना घाइते
-
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा थप गरिएका सदस्यलाई कार्यादेश प्रदान
-
मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप
-
अमेरिकामा अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टि
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
-
पत्रकार आचार्यलाई धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण