शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तनहुँमा रामचन्द्र पौडेललाई हराउने किसान श्रेष्ठ बाराबाट चुनाव लड्न तयार

आइतबार, ०५ भदौ २०७९, १० : ३४
आइतबार, ०५ भदौ २०७९

नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाराबाट उम्मेदवारी दिन तयार भएका छन् । उनको गृह जिल्ला तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्ने भएपछि उनी बाराबाट चुनाव लड्न तयार भएका हुन् । २०७४ को निर्वाचनमा श्रेष्ठले तनहुँ–१ मा पौडेललाई पराजित गरेका थिए । तर, सो क्षेत्रमा यस पटक फेरि पौडेलले उम्मेदवारी घोषणा गरेपछि श्रेष्ठले त्यहाँबाट निर्वाचन क्षेत्र परिवर्तन गर्न लागेका हुन् । 

कांग्रेसका वरिष्ठ नेता पौडेलले शुक्रबार तनहुँ पुगेर ‘जहाँबाट चुनाव हारेँ, त्यहीँबाट जितेर मात्र मर्न चाहन्छु’ भन्दै उम्मेदवारी घोषणा गरेका छन् । पूर्वमन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता तनहुँ नै भए पनि गठबन्धनभित्र सो क्षेत्रमा पौडेलको उम्मेदवारी निश्चित भएको अवस्थामा आफू बाराबाट उम्मेदवार बन्ने बताए । ‘गठबन्धनको तर्फबाट उम्मेदवारी छान्ने विषयमा दलहरुबीच बनाइएको मापदण्ड अनुसार तनहुँ १ नम्बर क्षेत्रमै मेरो पहिलो दाबी रहन्छ, त्यहीँबाट चुनाव लड्ने मेरो तीव्र ईच्छा छ,’ श्रेष्ठले रातोपाटीसँग भने, ‘तनहुँ १ नम्बर क्षेत्रमा कांग्रेस वरिष्ठ नेता पौडेलले दावी गरिरहनु भएको छ, तर उहाँलाई देशभर जुनसुकै क्षेत्रवाट चुनाव लड्दा पनि जनता र कार्यकर्ताले पत्याउछन्, उहाँ आफै अन्य क्षेत्रबाट चुनाव लडे सुनमा सुगन्ध हुन्थ्यो ।’

पूर्वमन्त्री श्रेष्ठले दोस्रो विकल्पको रुपमा बारा निर्वाचन क्षेत्र नं ४ लाई रोजेका छन् । ‘अब म बाराबाटै निर्वाचन लड्ने निश्चितजस्तै देखियो,’ उनले भने । एक दशकदेखि व्यावसायिक रुपमा बारा जिल्लासँग जोडिएका श्रेष्ठको सिमरामा तारे होटल, पर्यटन व्यवसाय, जग्गा कारोबार, ग्याँस उद्योग र कृषि क्षेत्रमा मात्रै अर्बको लगानी छ । बारा जिल्लालाई व्यावसायिक तथा कर्मथलो बनाएर विभिन्न क्षेत्रमा लगानी गरिरहेका श्रेष्ठले निकट भविष्यमै बारालाई राजनीतिक थलोको रुपमा विकास गर्ने बताएका छन् ।

‘बाराका शुभचिन्तक साथीहरु, विकासप्रेमी जनताले मलाई बारामा आउनुपर्‍यो भन्नुभएको छ, तर गठबन्धनका नेताहरुले के निर्णय गर्नुहुन्छ, त्यसैलाई मैले शिरोधार्य गर्नुपर्छ ।’ श्रेष्ठकै पहलमा बारा–पर्सा औद्योगिक करिडोरमा २ सय शय्याको श्रमिक अस्पताल बनाउन मन्त्रिपरिषद्वाट निर्णय भएको छ । श्रमिक अस्पताल निर्माणका लागि हाल जग्गा खोजी कार्य भइरहेको र  निर्वाचन अगावै अस्पताल शिलान्यास हुने श्रेष्ठले जनाए ।

श्रेष्ठको मुख्य प्रतिस्पर्धी लोसपा कि एमाले ?

पूर्वमन्त्री श्रेष्ठ बारा–४ बाट उम्मेदवार बनेको अवस्थामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका एकवाल मियाँसँग प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट निर्वाचित भएका मियाँले सो क्षेत्रमा उम्मेदवारी दिने भएका छन् ।

मियाँले आफ्नो पार्टी पनि सत्तारुढ गठबन्धनमै सामेल हुने सम्भावना रहेको औंल्याउँदै त्यो अवस्थामा गठबन्धनले जसलाई टिकट दिन्छ, उसैले दाबी गर्ने बताए । अन्यथा लोसपा एक्लै चुनावमा जाने अवस्थामा पार्टीबाट आफ्नो उम्मेदवारी रहने उनको भनाइ छ ।

सांसद मियाँले भने, ‘५ दलीय गठबन्धनमा हाम्रो पार्टी गयो भने गठबन्धनको निर्णय अनुसार नै हुने हो, किसानजीलाई गठबन्धनले टिकट दियो भने उहाँलाई हाम्रो सहयोग रहन्छ ।’

लोसपा सत्तारुढ गठबन्धनमा सामेल नभएको अवस्थामा सो क्षेत्रमभा श्रेष्ठ र मियाँबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । बारा क्षेत्र नं ४ मा नेकपा एमाले भने तेस्रो स्थानमा पुग्ने सम्भावना छ । २०७४ को निर्वाचनमा लोसपाका उम्मेदवार मियाँसँग पराजित एमालेका देवनारायण चौधरीले पार्टीले टिकट दिए पुनः उम्मेदवारी दिने जनाएका छन् ।

बारा क्षेत्र नं ४ मा हाल करिव ९५ हजार मतदाता छन् । जिल्लाको १६ वटा पालिकामध्ये जीतपुरसिमरा उपमहानगरको १६ वटा वडा, परवानीपुर गाउँपालिकाको ५, प्रसौनी गाउँपालिकाको ७ वटा वडा, फेटा र विश्रामपुर गाउँपालिकाको ५-५ वडा र कलैया उपमहानगरपालिकाको एउटा वडा बारा निर्वाचन क्षेत्र नं ४ मा  पर्दछ ।

२०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीका एकवाल मियाँले वाम गठबन्धनका उम्मेदवार तथा नेकपा एमाले बाराका तत्कालीन उपाध्यक्ष देवनारायण चौधरीलाई एक हजार ६ सय ६८ मतले पराजित गरेका थिए ।

मियाँले २२ हजार दुई सय ७५ मत प्राप्त गर्दा एमालेका चौधरीले २० हजार ६०७ मत प्राप्त गरेका थिए । सोही निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका लालबाबु सिंहले १४ हजार ५१६ मत प्राप्त गरेर तेस्रो स्थानमा पुगेका  थिए ।

ठुला दलले महसुस गरे गठबन्धन हुन्छ : मियाँ

बाराका संघीय सांसद तथा पूर्व खेलकुद मन्त्री एकवाल मियाँले ठुला दलहरुले आवश्यकता महसुस गरे ५ दलीय गठबन्धनभित्र लोसपा पनि समेटिने बताए ।

लोसपालाई गठबन्धनभित्र  लैजाँदा आफ्नो सिट दायाँबायाँ हुने भन्दै जसपाले आपत्ति जनाएको उनको भनाइ छ । ‘उहाँहरुलाई हाम्रो खाँचो भयो र चाहना छ भनेमात्रै गठबन्धन हुन्छ,’ उनले भने, ‘यदि सत्तारुढ दलहरुसँग गठबन्धन भएन भने एमाले वा साना दलसँग हुन सक्छ, त्यो पनि नभए हाम्रो पार्टी एक्लै पनि चुनावमा लड्छ ।’ उनले आइतबार (आज) सम्म गठबन्धनको विषयमा निर्णय हुने जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप