‘तीन पेज मात्रै लेखियो प्रदीप दाइको आत्मकथा’
प्रदीप दाइसँग मेरो संगत झन्डै १८ वर्ष पुरानो हो । त्यतिबेला उहाँले मलाई लिन रत्न कार्कीलाई पठाउनुभएको थियो, साहित्यसम्बन्धी कुराकानी भए । उहाँले ठूलो–सानो सबैसँग एउटै व्यवहार गर्नुहुन्थ्यो ।
त्यसपछि मैले उहाँसँग नजिक भएर काम गर्ने मौका पाएँ । त्यसयता उहाँले पत्रपत्रिकामा लेख्ने अधिकांश आलेख मैले उतारिदिएको हुँ । उहाँ बोल्नुहुन्थ्यो, मैले हातले कापीमा लेख्थेँ । एउटा आलेख कापीमा लेख्न उहाँले तीन–चार घण्टा समय दिनुहुन्थ्यो । अनि, त्यसलाई टाइप गरेपछि सम्पादन हुन्थ्यो र अन्तिम थपघट उहाँबाट भएपछि सम्बन्धित व्यक्ति वा संस्थालाई पठाइन्थ्यो । कतिपय अवस्थामा मैले उहाँको आलेख पेनड्राइभमा हालेर पनि अखबारका सम्पादकहरूसम्म पुगेको छु । यो काम उहाँका अन्य सहयोगीबाट पनि हुन्थ्यो ।
उहाँले साहित्यमा असाध्यै रुचि राख्नुहुन्थ्यो । साहित्यसम्बन्धी हामीले औपचारिक कार्यक्रम त गरेनौँ तर म र उहाँबीच साहित्यसम्बन्धी अनौपचारिक छलफल निकै भए ।
उहाँले मलाई भौकाजीजी भनी सम्बोधन गर्नुहुन्थ्यो, उहाँले सबैसँग सम्मानपूर्वक बोल्नुहुन्थ्यो । उहाँले एकपटक भन्नुभएको थियो– ‘भौकाजीजी, मैले एउटा उपन्यास लेखेको छु ।’
त्यो उपन्यास तयार गर्न उहाँले मसँग नभएर अरू सहयोगीसँग सहयोग लिनुभएको थियो । पछि त्यो उपन्यास उहाँलाई मन परेनछ र च्यातेर फालिदिनुभएछ, यो कुरा उहाँले मलाई सुनाउनुभएको थियो ।
एक वर्षअघि उहाँ दिल्लीमा हुँदा हामीले जुममार्फत साहित्यसम्बन्धी छलफल गरेका थियौँ । सन्दर्भ गिरि (प्रदीप दाइको भाइको छोरा), उहाँ पनि कवि हो, उहाँहरू लगायत हामीले दुई–तीन घण्टा जुममा मिटिङ गरेका थियौँ ।
प्रदीपदाइ साहित्यलाई माया गर्ने मानिस हो । मेरो शारदा मासिक पत्रिकामा उहाँले कविता लेख्नुहुन्थ्यो । मैले उहाँलाई त्यसमा मानार्थ सदस्यका रूपमा राख्दै आएको थिएँ ।
यो १८ वर्षको सम्बन्धमा म उहाँसँग नजिक भएर केही काम गरेँ । उहाँका दुइवटा पुस्तक मेरो सम्पादनमा प्रकाशित छन्– नेपाली कांग्रेस, माओवाद र मधेस (२०६६) र ‘विश्वेश्वरप्रसाद कोइराला राजनीतिक अभिलेख’ (यो पुस्तकमा हामी केही साथीले सामूहिक रूपमा सम्पादनको काम गरेका थियौँ) ।
अहिले पनि उहाँका केही पाण्डुलिपि मसँग छन्, ती सबै राजनीतिक आलेख सङ्ग्रह हुन् । त्यसको सम्पादनको काम गर्दै थिएँ, उहाँ जानुभयो । अब सरसल्लाह गरेर ती पुस्तक प्रकाशन गर्नुपर्ने दायित्व मेरो काँधमा आएको छ ।
पछिल्लो समय मैले उहाँको आत्मकथा सुरु गर्दै थिएँ । उहाँको संस्मरण वा आत्मकथा लेख्न मलाई ठूलो इच्छा थियो । आत्मकथा लेख्ने मेरो प्रस्तावमा उहाँ सहमत हुनुभएको थियो । आफ्नो आत्मकथा लेख्न उहाँ पनि इच्छुक हुनुहुन्थ्यो । तर त्यो अधुरै रह्यो । मलाई यसमा ठूलो दुःख छ ।
उहाँसँग समय कम हुने । त्यो आत्मकथा दुई–तीन पेजमा मात्रै मैले हातले लेख्न भ्याएको छु । भोलि गर्ने भन्दाभन्दै उहाँ उपचारका लागि भारत जानुभयो ।
आत्मकथा छिटो लेख्न मैले उहाँलाई भनिरहेको थिएँ । तर उहाँले समय दिनै भ्याउनुभएन । मैले एकपटक भने, ‘दाइ म बिहान ७ बजे आउँछु, आत्मकथाको काम पूरा गरौँ ।’ फेरि उहाँ ८ बजेसम्म सुत्ने । त्यसपछि मैले धेरैपटक भनेँ, ‘दाइ म बिहान ९ बजे आउँछु, मलाई हरेक दिन दुई–तीन घण्टा समय दिनुस् ।’
उहाँ सार्वजनिक मान्छे, यो पनि सम्भव भएन । बिहानैदेखि उहाँलाई भेट्न मानिसहरू आउँथे । बढी मान्छे त भनसुनकै लागि आउँथे, त्यस्तो काम र मानिसप्रति उहाँको रुचि थिएन ।
उहाँ हामीसँग कुरा गर्दा निकै स्वस्थ देखिनुहुन्थ्यो । उहाँको आवाजमै ऊर्जा हुन्थ्यो, उहाँलाई क्यान्सर होला भन्ने त हामीलाई लागेकै थिएन ।
प्रदीपदाइ दार्शनिक चिन्तन भएको मानिस, उहाँको सल्लाहमा पार्टी, देश र समाज चल्थ्यो । उहाँको निधन हुनु राष्ट्रकै लागि ठूलो क्षति हो ।