बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अवाञ्छित गर्भधारण गरी विदेशबाट फर्केका चेलीलाई सेल्टर दिने मञ्जु

आइतबार, ०५ भदौ २०७९, ०८ : ३८
आइतबार, ०५ भदौ २०७९

कमाउन विदेश गएकी चेली अवाञ्छित गर्भधारण गरी फर्किन् भने ? यस प्रश्नले तपाईंंको मनमा अनेक विचार आउन सक्छन्, तर यस्ता घटना र समाचार हामीकहाँ नौला होइनन् ।

यस्तै चेलीको उद्धारका लागि काम गर्ने संस्था छ, पौरखी नेपाल । सन् २००३ मा स्थापित यस संस्थाले विदेशबाट अवाञ्छित गर्भधारण गरी फर्केका चेलीलाई केही समयको आश्रय दिई परिवारसँग मिलाउने वा समाजमा पुनर्स्थापना गराउने प्रयत्न गर्दै आएको छ । यस संस्थाले काठमाडौँको महाराजगन्जस्थित चुनदेवी हाइटमा सन् २००९ देखि ‘इमर्जेन्सी सेल्टर’ समेत गरेको छ । 

संस्थाकी संस्थापकमध्येकी एक मञ्जु गुरुङका अनुसार, सेल्टरमा वार्षिक तीन सय ५० देखि चार सय ८० चेलीले सेवा लिएका छन् । ‘अवाञ्छित गर्भसहित बहिनीहरू विदेशबाट फर्कन थालेपछि हामीले इमर्जेन्सी सेल्टर सुरु गरेका हौँ,’ हाल पौरखी नेपालको रणनीतिक सल्लाहकार रहेकी गुरुङ भन्छिन्, ‘धन कमाउने सपना साँचेर गएकाहरू खुट्टाको चप्पल समेत गुमाएर फर्कन्छन् । मानसिक रूपमा विक्षिप्त र शारीरिक रूपले अपरेसनको खत लिएर फर्कन्छन् । अवाञ्छित गर्भ लिएर फर्कने कतिपयले आफू गर्भवती छु भन्न समेत सक्दैनन् ।’

अवाञ्छित गर्भ लिएर घरमा गए पनि समाज र परिवारले स्वीकार गर्दैन । उनीहरू पौरखी नेपालकै शरणमा आउने गरेको मञ्जु बताउँछिन् । ‘हामीले सुरक्षित मातृत्व दिन्छौँ । अवाञ्छित गर्भ पीडितको अनुमतिमा कानुन अनुसार १२ हप्ताभित्रको गर्भमा गर्भपतन सेवा पनि दिन्छौँ,’ मञ्जु भन्छिन् ।

गर्भवती महिलालाई फकाएर पठाए पनि यहाँ ती पुरुषको श्रीमती, परिवार हुन्छन् । त्यसैले उनीहरूले महिलालाई धोका दिन पुग्छन् ।

गर्भधारणको कथा

गल्फ र मिडल इस्ट (मध्यपूर्व क्षेत्र)मा ‘कफाला सिस्टम’ छ, जसले प्रवासीलाई नियन्त्रण गर्ने गर्छ । गुरुङका अनुसार, गृह श्रमिकमा रूपमा त्यहाँ जानासाथ कतिपय घरधनीले पासपोर्ट राखेर महिलालाई श्रमसँगै यौनशोषण समेत गर्ने गर्छन् । 

कफाला सिस्टमका कारण भागेर अन्यत्र लागेका महिलाहरू गैरकानुनी बन्न पुगेका हुन्छन्, उनीहरूसँग आफ्नो पासपोर्ट लगायत कागजात हुँदैन । अनि, त्यहाँ रोजगारीका लागि गएका नेपाली वा अन्य विदेशीसँग हारगुहार गरेर मिलेर बस्नुपर्ने हुन्छ । 

उनीहरूसँग लिभिङ टुगेदरमा बस्ने क्रममा कतिपय महिला गर्भवती बन्न पुग्छन् । त्यसपछि गर्भधारण गराउने नेपाली पुरुषले महिलालाई ‘म तिमीलाई विवाह गर्छु, तिमी मेरो घर जाऊ’ भनी फकाएर काठमाडौँ पठाउने गर्छन् । ‘खाडीमा बच्चा जन्माउँदा केटा पनि जेल पर्ने अवस्था आउँछ । वैदेशिक रोजगारीमा पुरुषले गर्भवती बनाएपछि फकाएर काठमाडौँ पठाउँछन् । विमानस्थलमा मेरी आमा वा बहिनी लिन आउँछिन् समेत भनेका हुँदा रहेछन्,’ मञ्जु भन्छिन्, ‘उताबाट टिकट काटेर पठाउने तर त्रिभुवन विमानस्थलमा आउँदा कोही छैन, अनि उनीहरू अलपत्र हुन्छन् ।’ 

गर्भवती महिलालाई फकाएर पठाए पनि यहाँ ती पुरुषको श्रीमती, परिवार हुन्छन् । त्यसैले उनीहरूले महिलालाई धोका दिन पुग्छन् ।

मञ्जुका अनुसार, त्यस्तो अवस्थामा विदेशमा रहेका केटा साथीसँग कुरा गरेर कतिपय महिला डेरा लिएर काठमाडौँमै बस्छन् । माइत जान सक्ने अवस्था हुँदैन । ‘कुमारी आमा हुन्छन्, कतिपय,’ मञ्जु भन्छिन्, ‘अनि आफैँले गरिखाने भन्दा अरू विकल्प हुँदैन ।’ 

लेबनानमा मञ्जु आफैँ गएर महिला कामदारलाई संगठित गरेकी छन् । ‘त्यहाँबाट हामीलाई पार्टनर संगठनले पीडितलाई पठाएर खबर गर्नुहुन्छ,’ मञ्जुले भनिन्, ‘उताबाट यो फ्लाइटमा आउँदैछन् भनेपछि हामी काठमाडौँ विमानस्थलमा गएर ल्याउँछौँ र सेवा दिन्छौँ ।’ 

काम गर्ने घरबाट भागेर गैरकानुनी बन्न पुगेका नेपाली महिलाहरू त्यहाँ रहेका नेपाली पुरुषबाहेक पाकिस्तानी, भारतीय र बंगलादेशीहरूसँग पनि बस्न पुगेका हुन्छन् । त्यसरी बस्दा उनीहरूले गर्भधारण गर्न पुग्छन् । यस्तो अवस्थामा गर्भधारण गराउने पुरुषको आफ्नो श्रीमती र परिवार हुन्छ । त्यसैले अधिकांश महिला बिचल्लीमा पर्छन् । 

‘अवाञ्छित गर्भधारण गरेर आएका चेलीलाई सामाजिक प्रतिष्ठा वा मूल्य–मान्यताका कारण माइती वा परिवारले स्वीकार गर्दैनन्,’ मञ्जु भन्छिन्, ‘त्यस्तोमा वैकल्पिक आयआर्जनको उपायमा जोडेर हामीले पुनः सामाजिकीकरण गर्न सहयोग गर्छौँ ।’ 

पौरखीले नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघसँग मिलेर गल्फ र मिडल इस्टमा अलपत्र परेका नेपाली चेलीलाई उद्धार गरेर नेपाल ल्याउने समेत गरेको छ । 

गन्तव्य मुलुकमा पुगेपछि दूतावासले सहयोग गर्नुपर्ने भए पनि त्यस्तो सहयोग दूतावासबाट नहुने मञ्जुको अनुभव छ । समस्या परेपछि समाधानका लागि ‘कहाँ जाने, कसलाई भेट्ने’ भन्नेबारे अधिकांश कामदार अनभिज्ञ हुन्छन् । 

गल्फ र मिडल इस्टमा प्रवासी कामदार गर्भवती हुनु भनेको अपराध हो । आप्रवासी गृह श्रमिक गर्भवती भएपछि उनीहरूलाई ‘डिपोर्टेसन सेन्टर’ (निर्वासन केन्द्र)मा राखिन्छ । ‘डिपोर्टेसन सेन्टरमा बच्चा जन्माएर फर्केका नेपाली चेलीहरू पनि धेरै छन्,’ मञ्जु भन्छिन्, ‘उनीहरू आउने बेलाचाहिँ दूतावासले सहजीकरण गर्छन् । कतिपय घटनामा एनआरएनएले सहयोग गर्छन् । हामीले टिकट व्यवस्थापनमा सहजीकरण गरेर नेपाल ल्याउने गरेका छौँ ।’ 

लेबनानमा मञ्जु आफैँ गएर महिला कामदारलाई संगठित गरेकी छन् । ‘त्यहाँबाट हामीलाई पार्टनर संगठनले पीडितलाई पठाएर खबर गर्नुहुन्छ,’ मञ्जुले भनिन्, ‘उताबाट यो फ्लाइटमा आउँदैछन् भनेपछि हामी काठमाडौँ विमानस्थलमा गएर ल्याउँछौँ र सेवा दिन्छौँ ।’ 

गर्भधारण गरी काठमाडौँ आएर अलपत्र परेकाहरू आफूहरूको सम्पर्कमा अनेक माध्यमबाट आउने गरेको मञ्जु बताउँछिन् । 

नक्कली पासपोर्टमा साउदीमा चार वर्ष ०६९ मा स्वदेश फर्कने क्रममा भोजपुरकी सीता राई त्रिभुवन विमानस्थलमा लुटिइनन् मात्रै बलात्कृत समेत भइन् । यस घटनामा सम्बन्धित कर्मचारी र प्रहरीलाई विशेष अदालतले दोषी ठहर गरिसकेको छ । 

यस घटनापछि पौरखीले आफ्नो अधिकृत (सपोर्ट अफिसर)लाई विमानस्थलमा खटाएको थियो । कोभिड सुरु भएपछि पौरखीले विमानस्थलबाट सपोर्ट अफिसरलाई हटाएको छ । सपोर्ट अफिसरले वैदेशिक रोजगारीबाट फर्केका महिलामाथि निगरानी गरेर समस्यामा परेकालाई सेल्टरमा लैजाने गरेका थिए । 

आजभन्दा २८ वर्षअघि मञ्जु पनि रोजगारीका लागि जापानमा थिइन् । जापानबाट फर्केपछि ७–८ जना मिलेर पौरखी नेपाल सुरु गरेको मञ्जु बताउँछिन् । सूचनाको अभावमा विदेश जाँदा श्रमिकहरू समस्यामा पर्ने र ठगिने देखेर पौरखीले सूचनामूलक कार्यक्रमको अभियान सुरु गरेको थियो ।

मञ्जुका अनुसार, विदेशबाट अवाञ्छित गर्भधारण गरी त्रिभुवन विमानस्थल आइपुगेका महिलाहरू ट्याक्सी चालकमार्फत कुनै होटलमा पुग्छन् । ‘होटल सञ्चालकले हामीलाई खबर गर्नुहुन्छ,’ मञ्जुले भनिन्, ‘अनि, हामी लिएर आउँछौँ ।’ 

सरकारी निकाय र एनआरएनसँगको सहकार्यमा पौरखीले परिवारसँग नौ वर्षसम्म सम्पर्कमा नआएका कामदारको पनि उद्धार गरेको छ । ‘गल्फ मुलुकमा फलाना दाइले लगेको भन्छन् तर कहाँ छु भन्ने श्रमिकलाई नै थाहा हुँदैन,’ मञ्जु भन्छिन्, ‘जाने मान्छेलाई आफू कुवेत छु कि साउदी अरब भन्ने पनि थाहा हुँदैन, त्यस्तोमा हामीले पठाउने कम्पनीसँग समन्वय गरेर एउटा टेलिफोनको भरमा उद्धार गरेर नेपाल ल्याएका छौँ ।’ 

सामाजिकीकरण

विदेशबाट गर्भधारण गरी पौरखी नेपालमा आइपुगेका चेलीको जाने ठाउँ हुँदैन । त्यस्ता चेली विदेशमा जोसँग सँगै बसेका थिए, उनीहरूलाई पौरखी नेपालले सम्पर्क गर्ने कोसिस गर्छ । ‘ती केटा साथी र केटीका श्रीमानसँग पनि हामीले सम्पर्क गर्छौँ । परामर्श गरेर सकेसम्म बिचल्लीमा परेका महिलालाई समाजमा स्थापित गर्न सहयोग गर्छौँ,’ मञ्जु भन्छिन्, ‘विदेशबाट  गर्भधारण गरी फर्कने बहिनीहरूलाई उनको श्रीमानसँग कुरा गरेर स्थापित गर्नु धेरै चुनौतीपूर्ण छ ।’ 

यस्ता महिलाको हकमा पौरखीले विदेशमा बस्ने केटा र नेपालमा रहेका परिवारलाई सुरुमा मनोसामाजिक परामर्श दिने गरेको छ । ‘परिवारले अस्वीकार गर्‍यो भने बच्चा र आमालाई व्यवस्थापन गर्न आमालाई कुनै उद्यममा लगाउने गरेका छौँ,’ मञ्जु भन्छिन्, ‘जागिर मिलाइदिने वा तरकारी व्यापार, नाङ्लो पसल र चना चटपटे बेच्ने, खाजाघर चलाउने गरी सहयोग र पुनर्स्थापित गर्छौँ ।’ 

आजभन्दा २८ वर्षअघि मञ्जु पनि रोजगारीका लागि जापानमा थिइन् । जापानबाट फर्केपछि ७–८ जना मिलेर पौरखी नेपाल सुरु गरेको मञ्जु बताउँछिन् । सूचनाको अभावमा विदेश जाँदा श्रमिकहरू समस्यामा पर्ने र ठगिने देखेर पौरखीले सूचनामूलक कार्यक्रमको अभियान सुरु गरेको थियो । ‘विदेश जाने श्रमिकलाई लक्षित गरेर हामीले रेडियो नेपालमा सन् २००३ देखि २०२० सम्म सचेतनामूलक कार्यक्रम चलायौँ,’ मञ्जु भन्छिन् ।

विदेशबाट फर्केकाहरूलाई समाजमा पुनर्स्थापित गराउन पौरखीले सिलाइकटाइ तालिम पनि सञ्चालन गरिरहेको छ । दक्षिणकाली लगायत नगरपालिकामा तालिम सञ्चालन गरेर वैदेशिक रोजगारीबाट फर्केका महिलालाई आत्मनिर्भर बनाउन मञ्जु र उनका सहकर्मीको प्रयास जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप