सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सरकारले कीर्तिमानी आरोहीलाई नगदसहित सम्मान गर्ने

शनिबार, ०४ भदौ २०७९, २० : ५३
शनिबार, ०४ भदौ २०७९

सरकारले सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमानी कायम गर्ने पर्वतारोहीलाई नगदसहित सम्मान गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कीर्तिमानी पर्वतारोहीको योगदानलाई कदर गर्दै राम्रो नगद पुरस्कारसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कीर्तिमानी आरोहीको सम्मानमा आज नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले आरोहीको कीर्तिमानले नेपालको गौरव बढाएको भन्दै उनीहरूको योगदानको प्रोत्साहनस्वरुप सम्मान गरिने बताए । उनले भने, “आरोहीको कीर्तिमानले नेपालको शिर ठाडो बनाएको छ । यस्ता सफल व्यक्तिलाई सरकारले नगदसहित पुरस्कृत गर्नुपर्छ । म यहाँ माझ प्रतिबद्धता जनाउन चाहन्छु सरकारको तर्फबाट राम्रै नगदसहित सम्मान गर्न मन्त्रालयको तर्फबाट तत्कालै प्रक्रिया अघि बढाउनेछु ।”

पर्यटनमन्त्री श्रेष्ठले आरोहीलाई सरकारको तर्फबाट परिचयपत्र वितरण गर्ने तथा आरोहीको ‘आर्काइब’ बनाउन तत्कालै पहल गर्ने बताए । उनले पर्वतारोहण क्षेत्रको सुधार तथा आरोहीको सुरक्षा र जीवनयापनका लागि कसरी समस्या गर्न सकिन्छ भनेर मन्त्रालयको तर्फबाट पर्वतारोहण सङ्घ लगायत सरोकारवालासँग छलफल गरेर अवधारणा तयार गरिने विश्वास व्यक्त गरे ।

मन्त्री श्रेष्ठले कीर्तिमानी सानु शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमालको दुई–दुईपटक आरोहण गरेर बनाएको कीर्तिमान विश्वकप फुटबल र ओलम्पिकमा पदक जितेको जस्तो उपाधि रहेको बताए । “खेलकुदमा भएको भए प्रतिस्पर्धामा जितेपछि  तुरुन्तै हर्षोल्लासका साथ खुसी र प्रचार–प्रसार हुने थियो । आरोही सानु शेर्पाले जुन खालको कीर्तिमान कायम गर्नुभएको छ यो फुटबलमा वर्ल्ड कपमा उपाधि जिते भन्दा कम होइन, संसारमा हुने चाहे ओलम्पिक, विश्वकप होस् त्यसको तुलनामा यो कम होइन, साँच्चिकै गौरव गर्न लायक सफलता आरोहीको कीर्तिमानले गरेको छ”, उनले भने ।

कार्यक्रममा सांसद जिपछिरिङ लामाले देशको इज्जत र गौरव बढाउन कीर्तिमानी आरोहीको महत्वपूर्ण भूमिका रहेको भन्दै राज्यका तर्फबाट आरोहीको सामाजिक सुरक्षालाई ध्यान दिन जरुरी भएको उल्लेख गरे । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पर्वतारोहीको कीर्तिमानीले नेपाललाई विश्वभर पहिचान गर्न मद्दत पुगेको बताए ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालीको शिर उँचो बनाउन कीर्तिमानी आरोहीले भूमिका खेलेको भन्दै आरोहीको समस्यालाई सरकार र निजी क्षेत्रको सहकार्यमा समाधान गरिनुपर्ने धारणा राखे ।

कीर्तिमानी आरोही सानु शेर्पाले आफ्नो आरोहण सम्पूर्ण नेपालीको खुसीसँग जोडिएको भन्दै सरकारी तवरबाट आरोहीलाई प्रोत्साहन हुनुपर्ने बताए । अर्का कीर्तिमानी आरोही निमा ग्याल्जेन शेर्पाले आरोहीलाई इज्जत र सम्मानपूर्वक बाँच्नसक्ने वातावरण बनाइनुपर्नेमा जोड दिए ।

पर्यटनमन्त्रीले एक महिनाको तलब दिने

पर्यटनमन्त्री श्रेष्ठले कीर्तिमानी आरोही सानु शेर्पालाई आफ्नो एक महिनाको तलब बराबरको रकम दिने घोषणा गरेका छन् । उनले आरोहीको प्रोत्साहनस्वरुप उक्त रकम दिने बताए । यस्तै कार्यक्रममा नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले दुई आरोही सानु शेर्पा र निमा ग्याल्जेन शेर्पालाई जनही रु एक लाख रकम दिने घोषणा गरे ।

कीर्तिमानी आरोही सानु शेर्पाले विश्वमा रहेका आठ हजार मिटरमाथिका १४ वटै हिमाल दोहोर्याएर आरोहण गरी विश्वकै पहिलो र एक्लो आरोही बनेका छन् । निमा ग्याल्जेन शेर्पाले आठ हजारभन्दा अग्ला १४ वटै हिमालको पहिलोपटक आरोहण गरेर कीर्तिमान बनाएका छन् । सो अवसरमा सङ्घको तर्फबाट दुई कीर्तिमानी आरोहीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप