शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनार्दन र वर्षमानबीचको प्रतिस्पर्धाले देव गुरुङलाई यसरी पर्‍यो चिट्ठा

पदाधिकारी टुंगिएपनि पेरिसडाँडामा देखिएन उत्साह
शनिबार, ०४ भदौ २०७९, २० : २९
शनिबार, ०४ भदौ २०७९

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन सकिएको २०१ दिनपछि शनिबार पदाधिकारीले पूर्णता पायो । शनिवार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले अध्यक्षसहित २१ सदस्यीय पदाधिकारी टुङ्गो लगाएको हो । तर, पदाधिकारीले पूर्णता पाए पनि पार्टी कार्यालय पेरिसडाँडामा नेताहरूमा कुनै उत्साह देखिएन ।

पार्टी बैठक सकिए लगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिएर खुमलटारतिर हुइँकिए । प्रवक्ता कृष्णबहादुर महराले भने पार्टीको निर्णय खरर पढेर सुनाए । पार्टीले चुनावी राजनीतिक तथा वैचारिक प्रशिक्षण चलाउने, चुनावी घोषणापत्र समितिको संयोजक नारायणकाजी श्रेष्ठ बनेको र पार्टी पदाधिकारीको टुङ्गो लागेको उनले सो क्रममा जानकारी दिएका थिए ।

तर, प्रवक्ता महराले सञ्चारकर्मीसमक्ष उल्लेख गरेको पदाधिकारीको नाम ध्यानपूर्वक सुनेका नेता कार्यकर्ताले खादा माला र अबिर जात्रा केही गरेनन् । जबकि माओवादीले अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष सहित २१ पदाधिकारीको नाम लामो प्रयास पछि टुङ्गो लगाएको थियो ।

​सबै नेताहरू बैठक कक्षबाट आ–आफ्नो निवासतिर लागे पनि महासचिव देव गुरुङ बैठक कक्षमै केही ढिलासम्म रहे । सो क्रममा उपस्थित एकाध विद्यार्थी, मजदुर र युवा नेताहरूले गुरुङलाई खादा माला लगाए । त्यसपछि सबै जसो सञ्चारकर्मी, नेता, कार्यकर्ताहरू लाखापाखा लागेपछि मात्रै महासचिव गुरुङ पेरिसडाँडाबाट निस्किए ।

‘पार्टीको ढिलै भए पनि पदाधिकारी टुङ्गो लाग्यो । अध्यक्षले जस्तो प्रस्ताव ल्याउनुभयो । उस्तै हामीले ताली पिटेर पारित गर्‍यौँ ,’ बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘अध्यक्षले अब तत्काल विशेष महाधिवेशन गर्ने भन्नुभएको छ । यो पदाधिकारी बाहिर देखाउनै पर्ने भएकाले ल्याइयो । यसलाई त्यस्तो कुनै ठुलो रूपमा नलिनुहोला भन्नुभयो ।’ पार्टी पदाधिकारीमा आफ्नो नाम समेटिएकोमा खुसी नभए पनि जिम्मेवारी भनेर अध्यक्षको प्रस्तावलाई स्वीकार गरेको ती पदाधिकारीले बताए ।

एमाले लगायतका पार्टीले गत वैशाख ३० गतेको स्थानीय चुनावका क्रममा माओवादीले पदाधिकारीसम्म नबनाएको भन्दै खिसीटिउरी गरेपछि प्रचण्डले पदाधिकारी टुङ्गो लगाउन जाँगर चलाएको माओवादीकै नेताहरू बताउँछन् । जबकि प्रचण्ड संघीय निर्वाचनअघि पदाधिकारी ढुंगो लगाउने पक्षमा थिएनन् ।

 पदाधिकारी टुङ्गो लगाएमा आगामी मङ्सिर ४ गते हुने चुनावी प्रचार प्रसारमा सहज हुनुका साथै मतदातामा समेत सकारात्मक सन्देश जाने प्रचण्डको बुझाइ छ ।

पार्टीले सचिव बनाए पनि उत्साहित नदेखिएका नेतामध्येमा पर्छन् दिनानाथ शर्मा । उनले पदाधिकारीमा जिम्मेवारी पाए पनि उत्साह–निराशा केही नभएको प्रतिक्रिया दिए । ‘हामीले महाधिवेशनबाट पदाधिकारीको प्रस्ताव ल्याउने अधिकार अध्यक्षलाई दिएका थियौँ । उहाँले ढिलै भए पनि पदाधिकारी बनाएर प्रस्ताव गर्नुभयो । हामीले जिम्मेवारी लियौँ’ शर्माले भने, ‘पार्टीले जिम्मेवारी दिएपछि उत्साह–न उत्साह केही छैन । दिएको जिम्मेवारी लिइयो ।’

यी हुन् माओवादीका २१ पदाधिकारी

माओवादीले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव, सात उपमहासचिव र नौ सचिव र एक कोषाध्यक्ष सहित २१ पदाधिकारी बनाएको हो । अध्यक्षमा यसअघि नै प्रचण्ड चयन भइसकेका थिए । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरा, महासचिवमा देव गुरुङ सर्वसम्मत रूपमा चयन भएका छन् । यस्तै उपमहासचिवमा  गिरिराजमणि पोख्रेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृकाप्रसाद यादव छन् । यस्तै सचिवहरूमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की छन् । कोषाध्यक्षमा पार्टी कार्यालय सचिव श्रीराम ढकाललाई बनाएको छ । यस्तै पार्टी केन्द्रीय समिति ३४१ सदस्यीय बनाए पनि नामावली सार्वजनिक गरिएको छैन । पोलिटब्यूरो १२५ जना र वैकल्पिक पोलिटब्यूरो ३१ जनाको बनाइएको हो । यस्तै स्थायी समितिमा बस्ने ४३ जनाको फाइनल गरिएको छ ।  आइतबार सबै प्राविधिक विषय मिलाएर मातहतका कमिटीमा सर्कुलर पठाइने प्रचण्डको सचिवालयले जनाएको छ । त्यसपछि मात्रै स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा बस्ने नेताको पद यकिन हुनेछ ।

शर्मा र पुनको प्रतिस्पर्धामा गुरुङलाई चिट्ठा !

माओवादीको गत पुस ११ गते महाधिवेशन सुरु भएदेखि नै सबैभन्दा बढी चर्चा महासचिव को बन्ने भन्नेमै थियो ।  महाधिवेशनबाटै पदाधिकारी टुङ्गो लगाउन जनार्दन शर्मा लगायत प्रायः सबैजसो शीर्ष नेताहरूले दबाब दिएका थिए । उता चीनमा उपचाररत वर्षमान पुनले तत्काल पदाधिकारी टुंगो नलगाउन प्रचण्डसहित आफू निकट नेताहरूलाई दबाब दिएका दिएका थिए । अन्त्यमा प्रचण्डले पार्टीका सिनियर नेता पुन र ओनसरी घर्ती देश बाहिर भएकाले उनीहरू फर्किए लगत्तै पदाधिकारी टुंंगो लगाउने बचन दिए । त्यसपछि महाधिवेशनबाट आफूलाई अध्यक्षमा अनुमोदन गराउँदै अपूर्ण केन्द्रीय कमिटी घोषणा गरे ।  त्यसपछि महाधिवेशन सकियो ।

पुन चीनबाट उपचार गरेर फर्किएपछि पदाधिकारी टुङ्गो लगाउन पार्टीका नेताहरूले निकै दबाब दिए । तर, स्थानीय चुनावपछि पदाधिकारी चयन गर्ने भनेर प्रचण्डले यो विषय त्यत्तिकै थाती राखे । स्थानीय चुनाव सकिएपछि महासचिवमा शर्मा र पुन सहित शक्तिबहादुर बस्नेत, पम्फा भुसाल गिरिराजमणि पोखरेल लगायत नेताहरूले इच्छा देखाएको भन्दै निकै प्रचार भयो ।  त्यसमा मुख्य दाबेदारको रूपमा शर्मा र पुनको नाम प्रचारमा थियो । यस्तै केन्द्रीय समिति बैठकले पनि पदाधिकारीको टुङ्गो लगाउन दबाब दियो ।

नेताहरूको दबाबपछि यहीबीचमा अध्यक्ष प्रचण्डले आकांक्षीहरुबीच छलफललाई तीव्रता दिए । प्रचण्डको छलफलका क्रममा महासचिवको प्रतिस्पर्धामा रहेका पुनले त अध्यक्ष प्रचण्डलाई सहज हुन्छ भने आफू छोड्न तयार भएको भन्दै भावुक अभिव्यक्ति दिए । ‘पार्टीको महाधिवेशन थियो । म चीनमा उपचाररत थिएँ । त्यतिबेला स्वास्थ्य क्रिटिकल थियो । राम्रो उपचार पाएर फर्किएँ’ पुनले छलफलका क्रममा प्रचण्डलाई भनेका थिए, ‘अध्यक्ष प्रचण्डलाई सहज हुन्छ भने महासचिव छोड्न तयार छु । पार्टीले जुन जिम्मेवारी दिन्छ लिन तयार छु ।’

त्यसपछि प्रचण्ड महासचिवमा शर्मालाई बनाउने मुडमा देखिएका थिए ।   त्यति नै बेला बजेटमा अनधिकृत व्यक्तिको प्रवेशका सन्दर्भमा छानबिन समिति गठन भएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिए । तर छानबिनबाट क्लिन चिट पाएपछि शर्मा अर्थ मन्त्रालय पुगे । शर्माको पुनः अर्थ मन्त्रालयमा प्रवेश भएपछि पार्टीभित्र पनि छलफलले नयाँ मोड लिएको बताइन्छ ।

नेताहरूका अनुसार प्रचण्डले पुन र शर्माको विकल्पबारे तीन–चार वटा मापदण्ड बनाएका थिए । त्यसमध्ये एउटा मापदण्डमा आकाङ्क्षीमध्ये वरिष्ठलाई दिने भन्ने भयो ।  ‘आकाङ्क्षी दुवै जनाबीच सहमति नजुटेपछि हामीले बनाएको नयाँ मापदण्डमा वरिष्ठतालाई आधार बनाऊँ भन्ने भयो,’ एक नेताले भने, ‘त्यसमा देव गुरुङलाई बनाऊँ भन्ने प्रस्ताव आउँदा कसैबाट पनि विमति भएन ।’

गुरुङ–प्रचण्डको आलोचकदेखि समर्थकसम्म !

महासचिव गुरुङ २०६९ मा मोहन वैद्यले पार्टी विभाजन गर्दा प्रचण्डलाई छोडेर गएका नेता हुन् । त्यतिबेला गुरुङको सबैभन्दा आलोचनाको तारो प्रचण्ड र बाबुराम भट्टराई हुने गरेका थिए । दोस्रो संविधान सभा चुनावमा गुरुङसहित वैद्य नेतृत्वको माओवादीले सशक्त बहिस्कार गरेको थियो । वैद्यहरूको विरोधकाबीच २०७२ साल असोज ३ गते संविधान सभाबाट संविधान घोषणा भयो । त्यसपछि वैद्य समूहबाट विद्रोह गरेर रामबहादुर थापाको नेतृत्वमा  गुरुङसहितका नेताहरू माओवादीमा समाहित भएका थिए ।

माओवादीमा समाहित भएपछि भने गुरुङले प्रचण्डको निकट भएर काम गर्दै आएका थिए ।  हाल गुरुङले संसदीय मोर्चामा पार्टी प्रमुख सचेतको जिम्मेवारी समेत निभाउँदै आएका छन् ।  शर्मा र पुन महासचिवको प्रतिस्पर्धामा उत्रिएपछि नयाँ जुक्ति निकाल्दै प्रचण्डले आफ्नो कमाण्डमा भएका गुरुङलाई महासचिव बनाएर पुरस्कृत गरेका छन् । गुरुङले महासचिवको रूपमा कस्तो भूमिका निर्वाह गर्छन् त्यो भने समयले देखाउने नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप