आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेर इतिहास रच्ने सम्भावना कति छ ?

शनिबार, ०४ भदौ २०७९, १९ : १०
शनिबार, ०४ भदौ २०७९

एक समय थियो जब बेलायतमा भारतीय मूलका मानिसहरूले विभिन्न प्रकारका भेदभावको सामना गर्नुपर्थ्यो । त्यो समुदायका कोही व्यक्ति एक दिन देशको प्रधानमन्त्री बन्लान् भन्ने कल्पना पनि गरिँदैनथ्यो । 

विपक्षी लेबर पार्टीका सांसद वीरेन्द्र शर्मा ७५ वर्षका भए र उनी ५५ वर्षअघि पञ्जाबबाट लण्डन आएका थिए । आफ्नो प्रारम्भिक दिनमा भएको भेदभावको सन्दर्भमा वीरेन्द्र शर्माले बीबीसी हिन्दीलाई भने ‘सन् १९६० को दशकमा घरका बाहिरी भागमा ‘भाडामा उपलब्ध छ तर एसियाली र अश्वेतहरूलाई होइन’ लेखिएको पाइन्थ्यो । 

क्लबका बाहिर ‘कुकुर, आइरिश, घुमन्ते र अश्वेतहरूलाई प्रवेश निषेध’ लेखिएको हुन्थ्यो । अङ्ग्रेजहरू भारतीयहरूलाई देख्दा ‘यी पहिले हाम्रा गुलाम थिए अहिले हामीसँगै बसेका छन् ’ भन्थे । 

तर अहिले बेलायतमा वीरेन्द्र शर्मा जस्ता भारतीय मूलका धेरै सांसद छन् । बोरिस जोन्सनको सरकारमा धेरै क्याबिनेट मन्त्रीहरू पनि भारतीय मूलका थिए । 

के त्यो भए बेलायतीहरू एक भारतीय राजनीतिज्ञ ऋषि सुनकलाई प्रधानमन्त्री बनाउने सोचमा पुगेका हुन् ? बोरिस जोनसनका मन्त्री रहेका सांसद ऋषि सुनक आज प्रधानमन्त्रीको दौडमा छन् । 

बेलायतको अर्थमन्त्री भइसकेका सुनक कन्जरभेटिभ पार्टीका महत्त्वपूर्ण नेता मानिन्छन् । प्रधानमन्त्री पदको दौडमा ४२ वर्षीय ऋषि सुनकले लिज ट्रससँग प्रतिस्पर्धा गरिरहेका छन् । 
ट्रस पार्टीका अनुभवी नेतृ हुन् । कन्जरभेटिभ पार्टीका १ लाख ६० हजार सदस्यहरूले बेलायतको अर्को प्रधानमन्त्री चयन गर्न यी दुईमध्ये एकलाई मतदान गर्नेछन् । दौडमा कसले जित्छ, सेप्टेम्बर ५ मा थाहा हुन्छ ।

त्यस्तोमा बेलायतको आगामी प्रधानमन्त्री भारतीय मूलको हुने सम्भावना कत्तिको छ ? यसको जवाफ पाउन बीबीसीले बेलायतको स्थलगत रिपोर्टिङ गरेको थियो । 

लन्डनबाट करिब सय किलोमिटर टाढा रहेको चेल्तेनहम सहर बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको गढ हो । लन्डन, बर्मिंघम, म्यानचेस्टर र लिभरपुलजस्ता ठूला सहरभन्दा फरक यी साना सहरमा विविधता कमै देखिन्छ । यो मुख्यतः श्वेतहरूको सहर हो ।

त्यही सहरमा भेटिएकी एक युवतीले ऋषि सुनकबारे भनिन् ,‘ उनी अर्थतन्त्रका लागि राम्रो हुनेछन् । एक अर्थशास्त्रीका हिसाबमा उनको स्थिति बलियो छ जस्तो लाग्छ ।’

ती युवतीका एक सहकर्मीले भनिन् ,‘ ऋषिका नीतिले उनीजस्ता धनी मानिसहरू बाहेक अरू कसैलाई मद्दत गर्दैन । त्यसैले म यिनमध्ये कसैलाई समर्थन गर्दिन । ’

अर्की एक महिलासँग बेलायती समाज गैर–गोरा प्रधानमन्त्रीका लागि तयार भएको हो भनेर सोधेको थिएँ ?

जवाफमा महिलाले भनिन् ,‘ म व्यक्तिगत रूपमा यसबारेमा सोच्दिनँ तर म आफै ऋषितिर झुक्छु ।’
मैले सहरस्थित बजारमा एकजना मान्छेलाई सोधेँ, यहाँको समाज अश्वेत प्रधानमन्त्रीका लागि तयार छ जस्तो लाग्छ भन्ने प्रश्न गर्दा भने ‘ म अरू कसैको बारेमा भन्न सक्दिन तर म तयार छु । सायद उनी चुनिनु राम्रै होला ।’

पाकिस्तानी मूलका मतदाताको समर्थन ऋषिलाई

बर्मिंघम बेलायतको दोस्रो ठूलो सहर हो । यहाँको जनसङ्ख्यामा विविधता छ । सहरमा भर्खरै सम्पन्न राष्ट्रमण्डल खेलकुदको सांस्कृतिक समारोहमा विविधताको अनुभूति भएको थियो ।

यहाँ पाकिस्तानी मूलका मानिसहरू धेरै छन् । के पाकिस्तानी मूलका मानिसहरू भारतीय मूलका ऋषि सुनकलाई प्रधानमन्त्रीका रूपमा हेर्न चाहन्छन् ? 

शुक्रबारको नमाज पढेर मस्जिदबाट बाहिर निस्किएका एक जना व्यक्तिले भने ,‘ समाज अहिले व्यक्तिको जात, छालाको रंग के हो वा कहाँबाट आएको हो भन्दा पनि उसको क्षमता हेर्ने स्थितिमा पुगिसकेको छ भन्ने मेरो आशा छ । ऋषि एक सक्षम व्यक्ति हुन् । उहाँ एक असल प्रधानमन्त्री हुनुहुन्छ भन्ने विश्वास छ ।’

अर्का एक व्यक्तिले भने ,‘ मलाई अल्पसङ्ख्यक भएकोले बेलायतको अर्को प्रधानमन्त्रीको उम्मेदवारको रूपमा ऋषि एक शानदार उम्मेदवार हो जस्तो लाग्छ ।’

पाकिस्तान प्रशासित कश्मीरको मिरपुर सहरबाट बेलायत सरेका अर्का एक व्यक्तिले भने ,‘ श्वेत व्यक्तिभन्दा म भारतीय मूलको वा एसियाली मूल व्यक्तिलाई समर्थन गर्छु । ऋषिको जितले धेरै परिवर्तन हुने अपेक्षा गरिन्छ ।’

ऋषि सुनक हिन्दु हुन् र धार्मिक पनि छन् । सन् २०१५ मा पहिलो पटक सांसद बनेपछि उनले भगवद्गीतामा हात राखेर शपथ लिएका थिए ।

भारतीय मूलको हुनुको बेफाइदा ? 

ऋषि सुनक १२ मे १९८० मा साउथह्याम्पटनमा जन्मिएका थिए । उनी त्यहीँ हुर्किए । उनका आमाबाबु अझै पनि यही सहरमा बस्छन् र उनकी आमा केही सम्म पनि सहरको चर्चित ओषधी व्यवसाय चलाउँथिन् । उनका पिता भने चिकित्सक हुन् । 

ऋषिको परिवार तत्कालीन ब्रिटिस उपनिवेश रहेको पूर्वी अफ्रिकाबाट साउथह्याम्पटन सरेका हुन् । उनको र उनको परिवारको वैदिक समाज ’हिन्दु मन्दिर’ सँग गहिरो सम्बन्ध छ ।

त्यस मन्दिरमा पुग्दा त्यहाँ ७५ वर्षीय नरेश सोनचातलालाई भेट भयो, जसले ऋषि सुनकलाई बाल्यकालदेखि नै चिन्छन् । 

‘ऋषि प्रधानमन्त्री बन्छन् जस्तो लाग्छ तर यदि उनले त्यो पद हासिल गरेनन् भने त्यो उनको छालाको रङ्गको कारण हुनेछ,’ सोनचालताले भने । 

मन्दिरका अध्यक्ष सञ्जय चन्दराणा हुन् र उनी ऋषिमाथि भेदभाव हुने कुरामा विश्वास गर्दैनन् । ‘यस देशमा कसको नीति राम्रो छ, कसको मनोवृत्ति सही छ, कसले यो देशलाई अगाडि बढाउँछ भन्ने कुरालाई हेरिन्छ । रंगले त्यति फरक पर्दैन ,’ चन्दराणाले भने । 

कन्जरभेटिभ पार्टीभित्रको समीकरण 

मतादातामाझ ऋषिको लोकप्रियता लिज ट्रसभन्दा बढी देखिए पनि पछिल्लो मतदान भने कन्जरभेटिभ पार्टीका दर्तावाल कार्यकर्ताले गर्नेछन् । जसको परिणाम फरक आउन सक्ने अपेक्षा गरिएको छ । कन्जरभेटिभ पार्टीभित्र युवा पुस्ता ऋषिको पक्षमा देखिन्छन् भने वरिष्ठ सदस्यहरू ऋषिप्रति फरक धारणा राख्छन् ।

हालसम्मको मत सर्वेक्षणमा लिज ट्रसको स्पष्ट अग्रता छ । तर पार्टीले दुई नेतालाई देशका विभिन्न सहरमा गराएको बहसमा भने पार्टी सदस्यको झुकावहरु लिज ट्रसभन्दा ऋषि सुनकतर्फ बढी देखिन्छ । 

ऋषिको चुनावी अभियान टोली लिजको टोली भन्दा बढी व्यवस्थित देखिन्छ । साथै ऋषिको चुनावी टिममा युवाहरूको सङ्ख्या बढी भएकाले उनको टिममा उत्साह पनि बढी छ । 

रिचर्ड ग्राहम ग्लुसेस्टर निर्वाचन क्षेत्रका कन्जरभेटिभ पार्टीका सांसद र ऋषि सुनकका घोषित समर्थक हुन् । हामीले उनलाई के ब्रिटिस नागरिक ऋषिको लागि तयार छन् भन्ने सोध्यौ ? जवाफमा उनले भने ‘म तयार छु र अरू धेरै पनि तयार छन् । ऋषिको पक्षमा कन्जरभेटिभ पार्टीका अधिकांश सांसदहरू छन् । र मेरो विचारमा देशभरका अधिकांश सदस्यहरू पनि ऋषिको लागि तयार छन् । उम्मेदवारको छालाको रंगले यसमा कुने भूमिका खेल्छ जस्तो लाग्दैन ।’

सुनकको टिमका अर्का एक सदस्यले भेदभावको कुरै नउठेको, मुख्य बहस उम्मेदवारको नीतिमा भइरहेको बताए । 

उनको चुनावी टिमका एक युवा सदस्यले भने ,‘ ऋषिको पृष्ठभूमि चिन्ताको विषय हुनेछ भन्ने मलाई लाग्दैन । महामारीको समयमा ऋषिले ल्याएको योजनाले लाखौं साना व्यवसायहरूलाई वित्तीय सहयोग प्राप्त भयो र लाखौँ मानिसहरू कामबाट निकालिनबाट बचे । यसले अर्थतन्त्रलाई डुब्नबाट बचायो । मानिसहरूलाई उसको पृष्ठभूमिभन्दा पनि कामका आधारमा मूल्याकंन गरिन्छ ।’

त्यहाँ लिज ट्रसको पक्षका मानिसहरू पनि थिए । एक जनाले लिजको पक्ष लिँदै भने ,‘ मेरो विचारमा लिजले वास्तविक कन्जरभेटिभ मुल्य बोक्छिन् । यो देशलाई अहिले यसैको आवश्यकता छ । ऋषिको नश्लिय पृष्ठभूमिसँग मलाई मतलब छैन । तर उनको बिलासी जीवनशैली आम जनताबाट कटिएको छ ।’

हामीले मार्सिया ज्याको नामकी सेवानिवृत्त महिला शिक्षिकालाई ऋषि सुनकको पृष्ठभूमिले उनको प्रधानमन्त्री चयनलाई केही फरक पार्छ की भनेर सोध्यौ ?‘ यो मेरो लागि सबै कुरा होइन । तर मतदानमा यसले पनि फक पार्‍यो । मेरो छनौट लिज हुन् ,’ मार्सियाले भनिन् । 

अहिले नभए सन् २०२४ मा

यस वर्षको जुलाईमा, बोरिस जोनसनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीको चुनावको पहिलो चरणमा आठ उम्मेदवार थिए । 

पहिलो चरणमा ब्रिटिस कन्जरभेटिभ सांसदहरूको मतदानबाट ऋषि र लिज छनोट गरिए । त्यसपछिको चरणमा पार्टीका १ लाख ६० हजार दर्तावाल सदस्यले मतदान गर्दै छन् । सो निर्वाचनको लागि मतदातालाई आकर्षित गर्न दुई उम्मेदवारहरु विभिन्न सहरमा बहस गरिरहेका छन् । 

मिडलसेक्स युनिभर्सिटीकी डाक्टर निलम रैना गैर–गोराका लागि बेलायती प्रधानमन्त्री बन्ने बाटो खुलेको बताउँछिन् । 
‘ तपाईंसँग प्रतिभा छ भने प्रधानमन्त्री पदको लागि ढोका खुलेको छ । तर अहिलेको लागि यो ढोका एक धनाढ्य भारतीयका लागि खुलेको छ ,’ नीलमले भनिन् । 

ऋषि सुनक प्रधानमन्त्री बने भने त्यो ऐतिहासिक क्षण हुनेछ । एक हिसाबमा उनको जितलाई सन् २००८ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाको जितसँग तुलना गर्न सकिन्छ ।

‘ विगत बीस वर्षदेखि चर्चामा रहेको विविधता र समावेशीकरणले साँच्चै काम गरिरहेको रहेछ भन्ने अर्थमा यो ऐतिहासिक हुनेछ । यदि ऋषिले जिते भने त्यो निक्कै ठूलो कुरा हुनेछ ,’ डा. निलमले भनिन् । 

तर कन्जरभेटिभ पार्टीका सदस्यहरूको मत भने विभाजित देखिन्छ । तर अहिले सम्भव भएन भने पनि सन् २०२४ को चुनावमा भारतीय मूलको व्यक्ति प्रधानमन्त्री बन्ने सम्भावनालाई नकार्न सकिँदैन ।

बीबीसी हिन्दीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप