माओवादीले सबै प्रदेशमा चुनाव लक्षित प्रशिक्षण चलाउने
नेकपा माओवादी केन्द्रले सात भौगोलिक दुइ गैर भौगोलिकसहित नौ प्रदेशमा चुनाव लक्षित प्रशिक्षण गर्ने भएको छ । आगामी भदौ सात गतेसम्म गठबन्धनको चुनावी तालमेलका विषयमा गम्भीर छलफल हुने भएकाले भदौ आठ गतेदेखि १७ गतेसम्म पार्टी प्रशिक्षण गर्ने भएको हो ।
पार्टीलाई चुनाव केन्द्रीत बनाउन राजनीतिक तथा वैचारिक प्रशिक्षण भदौ आठ गतेदेखि मधेस प्रदेशबाट सुरु गर्ने प्रवक्ता कृष्णबहादुर महराले बताए । यस्तै भदौ ९ गते गण्डकी प्रदेश, १० गते प्रदेश नम्बर एक, ११ गते लुम्बिनी प्रदेश, १२ गते बाग्मती प्रदेश, १३ गते उपत्यका विशेष प्रदेश, १५ गते सम्पर्क समन्वय समिति प्रदेश, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण गर्ने भएको छ ।
पार्टीलाई मंसिर ४ गतेको चुनावमा केन्द्रीत गर्न राजनीतिक तथा वैचारिक प्रशिक्षण गर्न लागेको हो । पार्टी प्रशिक्षणमा अध्यक्ष प्रचण्ड सहित नवनिर्वाचित पदाधिकारी प्रायः सबै सहभागी हुने भएका छन् । अरु सम्बन्धित प्रदेशका स्थायी समिति,पोलिटब्युरो र केन्द्रीय सदस्य अनिवार्य उपस्थित हुने भएका छन् ।