सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

लोसपाले प्रधानमन्त्री देउवालाई धेरै नपर्खने

शनिबार, ०४ भदौ २०७९, १५ : ११
शनिबार, ०४ भदौ २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पाँच दलीय गठबन्धनमा सहभागी हुने–नहुनेबारे प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयको पर्खाइमा रहेको छ । 

बिहीवार प्रधानमन्त्री देउवासँग नागरिकता विधेयकको विषयमा छलफल गर्न लोसपाका अध्यक्ष महन्थ ठाकुरलागयतका शीर्ष नेताहरू बालुवाटार पुगेका थिए । सो छलफलमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक पारित भएपछि गठबन्धनको विषयमा शुक्रवारसम्म टुङ्गो लगाउने आश्वासन दिएका थिए । 

तर प्रधानमन्त्री देउवाले हालसम्म कुनै निर्णय गर्न सकेका छैनन् । लोसपाका एक नेताले भने, ‘हिजो प्रधानमन्त्री देउवाको तर्फबाट लोसपाका अध्यक्ष ठाकुरलाई फोन गरेर गठबन्धनमा सामेल गराउने बारेमा सत्ता साझेदार दलहरुसँग कुराकानी भइरहेको र चाँडै नै केही निष्कर्षसहित तपाईंहरुसँग छलफल हुने जानकारी गराइएको छ ।’ 

प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका दलहरूलाई लोसपाको विषयमा कन्भिन्स गर्ने प्रयास गरिरहेका छन् । उनले लोसपाको विषयमा गठबन्धनमै छलफल गर्नुको सट्टा नेताहरूसँग छुट्टा छुट्टै छलफल गरी सहमति बनाउने प्रयासमा रहेको स्रोत बताउँछ । 

‘गठबन्धनको विषयमा प्रधानमन्त्री देउवाले के निर्णय गर्नुहुन्छ, त्यसको प्रतीक्षामा लोसपा रहेको छ,’ लोसपाका एक नेताले भने, ‘एक दुई दिनमा कुनै निर्णय नआए लोसपा आफ्नो ढंगले अगाडि बढ्छ ।’

यता लोसपा कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले भने, ‘मलाई लाग्छ, गठबन्धनभित्रै सिट संख्याको मात्र होइन कुन क्षेत्रमा कुन नेता लड्ने विषयमा टुंगो नलागेको कारण प्रधानमन्त्री देउवाले सायद डिसिजन लिन सकिरहनुभएको छैन ।’ 

कांग्रेसले त कुनै पनि हालतमा लोसपालाई गठबन्धनमा लिने भनिसकेको तर गठबन्धनमा लिनुभन्दा पहिले पार्टी सभापतिले चुनावी क्षेत्रको बाँडफाँटको टुंगो लगाउन चाहेको नेता शुक्लाले दाबी गरे । 

कांग्रेसले नै लोसपालाई पाँच दलीय गठबन्धनमा आउन प्रस्ताव गरेको थियो । ‘त्यही भएर लोसपा अन्य कुनै विकल्प गएको छैन । यदि यस्तै रहने हो भने दुई–तीन दिन भन्दा बढी समय पर्खन गाह्रो हुन्छ,’ उनले भने ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप