शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

६ लाख खर्चिएर डिजिटल बोर्ड, तारकेश्वरका अध्यक्ष र वडाध्यक्षको विवाद छताछुल्ल

शनिबार, ०४ भदौ २०७९, १४ : १२
शनिबार, ०४ भदौ २०७९

नुवाकोटको तारकेश्वर गाउँपालिकाको नेतृत्व आर्थिक अनियमितता र कमिसनको खेलमा लागेको आरोप लागेको छ । सोही गाउँपालिका अन्तर्गतका वडाध्यक्ष सूर्यमान श्रेष्ठ (गणेश)ले गाउँपालिका अध्यक्ष शिव अधिकारी एकपछि अर्को आर्थिक अनियमितता र भ्रष्टाचारजन्य कार्यमा लागेको आरोप लगाएका हुन् । 

स्थानीय निर्वाचनबाट एकै पार्टी नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा अधिकारी र वडा नम्बर ३ को अध्यक्षमा श्रेष्ठ विजयी भएका थिए । तर, निर्वाचित जनप्रतिनिधिको रुपमा काम थालेको ३ महिनामै श्रेष्ठले आफ्नै पार्टीबाट निर्वाचित अध्यक्षविरुद्ध सार्वजनिक रुपमा गम्भीर आरोप लगाएका हुन् । 

गाउँपालिका कार्यालयको एलईडी डिस्प्ले (डिजिटल) बोर्ड निर्माण, सरकारी गाडी, स्वास्थ्य सामाग्री, पालिका भवन लगायतमा गाउँपालिका अध्यक्षको नियत सफा नदेखिएको श्रेष्ठको दाबी छ । अध्यक्ष नियोजित भ्रष्टाचारमा लागेपछि एउटा स्वतन्त्र नागरिक र इमान्दार जनप्रतिनिधिको हैसियतले जनता सामू आफूले स्पष्ट कुरा राखेको श्रेष्ठले सामाजिक सञ्जालमार्फत बताएका छन् । ‘मेरो पाटी विरोधी आवाज होइन, भ्रष्टाचारविरुद्धको आवाज हो । हरेक कुराको हिसाब गर्नेछौँ, अब याद रहोस् सबै टिकाउ हुँदैन’, श्रेष्ठले भने । 

६ लाख खर्चिएर डिजिटल बोर्ड !
गाउँपालिकाले कार्यालयमा डिजिटल बोर्ड राख्नका लागि झण्डै ६ लाख खर्चिएको छ । जुन विषय सार्वजनिक भएपछि अहिले गाउँपालिकाका सरोकारवालाले चर्को विरोध गरिरहेका छन् । गाउँपालिकाले भ्याटसहित डिजिटल बोर्डमा ५ लाख ९६ हजार ६४० रुपैयाँ खर्चिएको हो ।

काठमाडौंको अनामनगरस्थित इनोभेटिभ मिडिया एण्ड मल्टिपल बिजनेस प्रालि मार्फत खरिद गरिएको बोर्डमा आर्थिक चलखेल भएको वडाध्यक्ष श्रेष्ठ लगायतको दाबी छ ।  श्रेष्ठले विज्ञापन प्रकाशन लगायतमा पनि उस्तै आर्थिक अनियमितता भएको आरोप लगाएका छन् । 

यस विषयमा गाउँपालिका अध्यक्ष अधिकारीले भने कुनै आर्थिक अनियमितता नभएको दाबी गरे । विज्ञापनका सम्बन्धमा उठेको प्रश्न पुरानो स्थानीय सरकारको विषय भएको र डिजिटल बोर्ड यही सरकारले खरिद गरेपनि त्यसमा आर्थिक अनियमितता हुन नसक्ने बताए ।

‘कुनै कम्पनीबाट बोर्ड खरिद गरिएको हो । त्यो अध्यक्षले गएर किन्ने कुरा पनि भएन । कर्मचारीले प्रक्रिया सम्मत ढंगले किनेको हो’, उनले भने, ‘प्रश्न उठेपछि मैले कम्पनीमा फोन गरेर सोधेको थिएँ । त्यति पर्छ भन्ने जानकारी आएको छ ।’

उनले गाउँपालिकाको विकासका लागि काम गर्दा केही व्यक्तिले पूर्वाग्रह राखेको गुनासो गरे । उनले आफू नेतृत्वमा आएपछि गाउँपालिकामा अस्पताल निर्माण, तामाङ संग्रहालय, गाउँपालिका भवन निर्माणको काम सुरु भएको बताए । यस्तै सडक ग्राभेलिङ, व्यवस्थित कर संकलन केन्द्र निर्माण लगायतका राम्रो काम गर्दागर्दै केही कुण्ठा बोकेका मान्छेहरुले आफ्नो आलोचना गरेको उनले बताए । उनले प्रक्रिया संगत ढंगले बोर्ड लगायतको काम भएकाले त्यसको भुक्तानी हुने प्रतिक्रिया दिए । 

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले १० लाखसम्मको कोटेसनमा सोझै खरिद गर्न सकिने प्रावधानअनुसार गाउँपालिकाले बोर्ड खरिद गरेको बताए । बोर्ड खरिदका लागि तीन वटा सप्लायर्समार्फत कोटेशन मागेर नियम संगत ढंगले प्रक्रिया अघि बढाइएको भन्दै बोर्डको बिल भुक्तानी हुन पनि बाँकी रहेको बताए ।

‘यो प्रश्न उठिसकेपछि हामीले सप्लायर्सलाई मूल्य समायोजन हुन सक्छ कि सक्दैन भनेर मौखिक रुपमा भनिसकेका छौँ’, उनले भने, ‘यो सबैले बुझ्ने कुरा हो, भोलि बजार मूल्य अनुसार नै बिल कायम गरेर भुक्तानी हुने हुन्छ । 

यस्तै सप्लायर्स कम्पनी इनोभेटिभ मिडियाका पदम सन्ज्यालले आफूले गाउँपालिकाको बोर्ड बनाउन ६४ हजारजति नाफा लिएको भन्दै यसमा कसैलाई कमिसन पनि नदिएको स्पष्ट गरे । उनले भने, हामीले बनाएको बोर्ड ३२ स्क्वायर फिटको हो । त्यसमा प्रतिस्क्वार फिट २ हजार मार्जिन राख्दा ६४ हजार नाफा रहेको छ । यो गुणस्तरीय बोर्ड भएकाले पनि महँगो भएको हो । यो सामान्य रातो स्कोलिङ बोर्ड जस्तो होइन ।’

यसको बजार रेट नै प्रतिस्क्वायर फिट १४ हजार देखि १६ हजार ५०० रुपैयाँ सम्म रहेको उनको भनाइ छ । आफूले पनि किनेर बेच्ने भएकाले थोरै नाफा खानु सामान्य भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप