शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भलिबल छाडेर नेपाली महिला फुटबल टोलीको पहिलो कप्तान बनेकी रमा

शनिबार, ०४ भदौ २०७९, १३ : ५५
शनिबार, ०४ भदौ २०७९

नेपालमा महिला फुटबल सुरुवात भएको सन् २०३८ सालदेखि हो । फिफाले सबै सदस्य राष्ट्रहरूलाई महिला फुटबल अनिवार्य गर्न निर्देशन दिएपछि नेपालमा पनि महिला फुटबलको जग बसेको हो । 

उक्त समय दक्षिण एसियाली क्षेत्रमा भारतबाहेकका देशले महिला फुटबल सुरु पनि गरेका थिएनन् । एसियाली क्षेत्रमा भने जापान, चीन जस्ता देशहरू अब्बल भइसकेका थिए । महिला फुटबल सुरु नगरेका राष्ट्रहरूलाई फिफा र एएफसीले दिने अनुदानमा कटौती गर्ने भएपछि एन्फा पनि महिला फुटबल सुरु गर्न कस्सियो । नेपालमा कमल थापाको अध्यक्षतामा भएको फुटबल संघले महिला फुटबलको सुरुवात गरेको थियो । तर महिला फुटबलको सुरुवात गर्न सहज भने थिएन ।

महिला फुटबल र रमाको फुटबल करियर सँग–सँगै 

रमा सिंह महिला फुटबलसँग जोडिने नाम हो । तर उनको सुरुवात भने फुटबलबाट भएको थिएन । वि.सं २०३८ सालमा पद्म कन्या कलेजमा पढ्दै गर्दा ‘इन्टर कलेज’ भलिबल प्रतियोगिताका लागि टिमको आवश्यकता पर्‍यो । सानो छँदा रमाकी दुई दिदीबहिनी पुरुष साथीहरूको सर्कलमा पर्थिन् । त्यहीँबाट उनीहरूले जे खेल्थे रमा पनि त्यसैमा सामेल हुन्थिन् । उनीहरूको सङ्गतले नै रमालाई खेलप्रति रुचि जगायो । भलिबल राम्रोसँग खेल्ने भएका कारण रमा टिममा परिन् । उनी सामेल भएको पद्म कन्या कलेजको भलिबल टिमले प्रतियोगिता पनि जित्यो । 

सोही वर्ष फागुन महिनाको कुरा हो । त्यो समयमा एएफसीले राष्ट्रिय महिला फुटबलको पनि विकास गर्नु पर्छ भन्नेमा जोड दिन थाल्यो । महिला फुटबल नभएको सङ्घहरूलाई दिने सहायतामा कटौती गर्ने भन्यो । 

दबाब बढेपछि फुटबल संघका अध्यक्ष थापाले महिला फुटबल सुरु गर्न लागेको कुरा रमालाई सुनाए । फुटबल निकै प्रख्यात भएको समयमा रमाले पनि त्यसमा रुची देखाइन् । ‘फिफा, एएफसी हुँदै एन्फासम्म महिला टोली बनाउने कुरा आयो । त्यो बेला कमल थापा फुटबल संघको अध्यक्ष हुनुहुन्थ्यो । उहाँले मलाई यसबारे कुरा राख्नुभयो । त्यसपछि हामीले हाम्रो भलिबल टिमका केही खेलाडी अनि अन्य कलेजका खेलाडी मिलेर टिम तयार पार्‍यौँ,’ रमाले पुराना दिनलाई स्मरण गरिन् । 

काठमाडौँमा एक टिम तयार भएपछि । लाहुरेहरू धेरै हुने ठाउँ धरान र पोखरामा टिम तयार पार्ने योजना बन्यो । त्यो समयमा धरान, पोखरा र काठमाडौँ गरी तीन टिम तयार भए । 

यसरी तयार भयो पहिलो नेपाली राष्ट्रिय महिला फुटबल 

काठमाडौँ, पोखरा र धरानलाई प्रतिस्पर्धामा राखेर खेलाडी छनोट गरियो । सबै टिमबाट खेलाडीहरू छनोट भएर राष्ट्रिय टिममा आए । पहिलो राष्ट्रिय टोलीमा १६ जना खेलाडी प्रतियोगिताका लागि छनोट भएका थिए । 

‘पहिलो टिमको लागि छनोट सहज भने थिएन । जम्मा तीन टिमबाट खेलाडी छनोट भएका थिए,’ रमाले भनिन् । 

एन्फाले दार्जिलिङबाट टिमलाई बोलाएर नेपाली महिला फुटबल टोलीसँग पहिलो प्रदर्शनी खेल गराएको थियो । महिला फुटबल टोलीको पहिलो खेलमा दर्शकको बाक्लो उपस्थित भएको रमा सम्झन्छिन् । ‘राष्ट्रिय टोलीको पहिलो खेल दार्जिलिङ–११ सँग थियो । पहिलो खेल हामीले जितेका थियौँ । त्यो बेला दर्शकको घुइँचोले झनै हौसला दिएको थियो,’ रमाले भनिन् । 

पहिलो अन्तर्राष्ट्रिय खेल नै एएफसी महिला च्याम्पियनसिप

नेपाली महिला टोलीले सन् १९८६ पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनायो । नेपालले पहिलोपटक एएफसी महिला च्याम्पियनसिपमा भाग लियो । 

हङकङ भएको प्रतियोगिताको नेपालले पहिलो प्रतिस्पर्धी नै आयोजकलाई पायो । डिसेम्बर १४ तारिखमा भएको खेलमा नेपाल हङकङसँग १–० ले पराजित भयो । त्यसपछि नेपालले प्रतियोगिताका अन्य खेलमा पनि हारको नतिजा बेहोर्‍यो ।

नेपाल दोस्रो खेलमा थाइल्यान्डसँग ५–० हार्दा अन्तिम खेलमा इन्डोनेसियासँग ६–० गोलले हार्‍यो । नेपाली टोलीलाई त्यो समय प्रतियोगितामा सहभागिता जनाउनु  नै ठूलो कुरा थियो । 

तर, महिला फुटबलले प्रतियोगितामा खाएको १२ गोलको आलोचना हुन थाल्यो । महिला टोली नेपाल फर्कँदा रमालाई पहिलो प्रश्न थियो – १२ गोल खाएको विषयमा के भन्नु हुन्छ ? 

‘टिम कुन स्तरको हो, कसरी तयार भयो, अनि हामीले कस्तो तयारी गरेर खेल्यौँ भन्ने कुरामा कसैले चासो राखेनन् । तर, १२ गोलको चर्चा धेरै भयो,’ रमाले भनिन् । 

अहिले नेपाली महिला टोलीको स्तरमा केही परिवर्तन भए पनि नेपालले धेरै फड्को मार्न नसकेको रमा बताउँछिन् । महिला फुटबलमा एसियाली मुलुकमध्ये चीन, जापान र कोरियाको स्तर बढ्दै गए पनि अन्य देशको अवस्थामा खासै परिवर्तन नआएको उनको बुझाई छ ।

‘हामीले २०३९ सालमा महिला फुटबल खेल्न सुरु गर्दा दक्षिण एसियाली क्षेत्रका धेरै देशको अवस्था १९/२० नै थियो । एसियाली देशको कुरा गर्दा जापान, चीन र कोरिया पहिले पनि बलियो थिए अहिले पनि बलियो नै छन्,’ उनले भनिन् । 

रमाले २०३९ सालमा फुटबलको यात्रा सुरु गरेकी थिइन् । उनले २०४४ साल सम्म फुटबल खेलिन् । ‘भारतको लखनउमा अल इन्डिया प्रतियोगिता थियो । त्यहाँ मैले आफ्नो अन्तिम खेल खेलेँ,’ उनले भनिन् । रमाले आफ्नो करियरमा एसियन गेम्स, भारतमा दुई प्रतियोगिता खेलिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप