शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘सम्हालिन्छ कहिले मन’ बलिउड भन्दा कम छैन – निर्देशक थापा

शनिबार, ०४ भदौ २०७९, ११ : ५७
शनिबार, ०४ भदौ २०७९

रोमान्टिक फिल्म बनाउन माहिर निर्देशक हुन् सुदर्शन थापा । केही हिट फिल्म समेत दिएका उनका अधिकांश फिल्म रोमान्टिक नै छन् । 

पुराना र नयाँ दुबै कलाकार राखेर फिल्म बनाउँदै आएका उनी निर्देशित पछिल्लो फिल्म ‘सम्हालिन्छ कहिले मन’ १७ भदौबाट रिलिजको तयारीमा छ । फिल्मको रिलिज मिति नजिकिदै गर्दा उनी अहिले फिल्मको प्रचारप्रसारमा ब्यस्त छन् ।

यही सिलसिलामा रातोपाटीसँग पनि उनको भेट भएको थियो । भेटमा फिल्म ‘सम्हालिन्छ कहिले मन’ ले नेपाली फिल्म उद्योगमा नयाँ ट्रेन ल्याउने उनले दाबी गरे । गायक सुगम पोखरेलले दुई दशक अघिको चर्चित गीत ‘सम्हालिन्छ कहिले मन’ बाट उनले फिल्मको नाम राखेका हुन् । ‘सम्हालिन्छ कहिले मन’ एउटा ब्रान्ड भएकोले आफुले फिल्मको नाम राखेको उनी सुनाउँछन् ।

‘हिजो गीतका रुपमा यसले प्रशंसा पायो र सबैको जिब्रोमा झुन्डियो । अव फिल्मको रुपमा प्रशंसा पाउनेछ’ थापाले भने ‘फिल्मको ट्रेलर र यसमा समावेश गीतहरू सामाजिक सञ्जालमा भाइरल छन् । त्यसले फिल्मको बिषयमा कौतुहलता त पक्कै जगाएको छ ।’ सम्हालिन्छ कहिले मन त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको उनले खुलाए । थपे ‘फिल्मको स्टोरी मात्रै होइन । स्टोरीलाई गरिने भिजुअल प्रेजेन्टेशन समेत दर्शकले अहिलेसम्मकै फरक पाउनुहुनेछ ।’

थापाको फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनाम तोप्देनको मुख्य भूमिका छ । त्यस्तै सरोज खनाल, धिरेन शाक्य, गौरी मल्लजस्ता दिग्गज कलाकारले समेत फिल्म अभिनय गरेका छन् । फिल्ममा दुई पुस्ताका कलाकारको  जमघटको विषयमा उनी भन्छन् ‘कथाले मागेको कलाकार फिल्ममा दिने प्रयास हाम्रो छ । निर्माणका हिसावले पनि हामीले कुनै कसुर छाडेको छैन ।’ कुनै हालतमा बलिउडका हिट फिल्मभन्दा हामी कम हुनुहुँदैन भनेर फिल्म बनाएको उनले सुनाए ।

फिल्मको ट्रेलर र केही गीत सार्वजनिक भएका छन् । जसले फिल्म प्रति दर्शकको कौतुहलता बढाउन सफल देखिन्छ । ट्रेलर र गीतबाट कतिपय दर्शकले फिल्मलाई हलिउड शैलीमा बनेको समेत भनेका छन् । त्यसले फिल्मको ब्यवसाय हुनेमा उनी आशावादी छन् । फिल्मको छायांकन भने बेलायतमा भएको हो । फिल्म राम्रो भन्दा पनि नेपाली फिल्मको स्तर र बजार माथि उठ्छ भनेर उनले बेलायतमा खिचेका हुन् ।

६५ दिन बेलायतमा खिचिएको फिल्ममा त्यहाँका महँगा सहरमा छायांकन भएको छ । त्यो पनि फिल्मको सवल पक्ष मध्येको एक भएको बताउने उनी ‘सम्हालिन्छ कहिले मन’ नेपाली फिल्म मेकिङमा कोशेढुंगा साबित हुने दाबी गर्छन् ।

‘फिल्मको छायांकन, कन्टेन्ट मात्र होइन, स्क्रिप्ट, अभिनय र साउन्ड लगायत हरेक पक्ष सवल बनेको छ’  उनले आत्मविश्वास सुनाए, ‘मलाई विश्वास छ १७ भदौमा फिल्म रिलिज पछि सबैले नेपाली फिल्ममा नयाँ युग शुरू भयो भन्ने छन् । किनभने बलिउड फिल्म भन्दा मेरो फिल्म कम छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप