के प्रगतिवादी लेखनप्रति मदन पुरस्कारले पूर्वाग्रह राख्छ ?
मदन पुरस्कार गुठीले भर्खरै ०७८ को मदन पुरस्कारका लागि छानिएका आठ कृति सार्वजनिक गरेको छ । छनोट प्रयोजनका लागि आफूलाई दुई सय ९९ कृति प्राप्त भएको, यीमध्ये आठ कृति छनोट गरिएको र छानिएकामध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष ०७८ को मदन पुरस्कार दिइने गुठीले जनाएको छ ।
वर्ष ०७८ का लागि छानिएका कृति हुन्– डा. नवराज लम्सालको ‘अग्नि’, डा. दामोदर पुडासैनी ‘किशोर’को ‘ग्रीष्मको नीलो बतास’, बसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, प्रा. नीलमणि ढुङ्गानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सती ः इतिहास र मीमांसा’ र पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ ।
नेपाली कृति (आख्यान वा गैरआख्यान)लाई दिइने पुरस्कारमध्ये मदन पुरस्कार सर्वाधिक चर्चित छ । पछिल्लो समय, यस पुरस्कारको छनोट सूचीमा परेका कृतिले चर्चा पाउन थालेका छन् ।
मदन शमशेरको सम्पत्तिबाट स्थापित र दीक्षित परिवारद्वारा सञ्चालित यस पुरस्कार २०१३ सालदेखि दिन थालिएको हो । २०७७ सम्म आइपुग्दा यस पुरस्कारबाट ७४ कृति पुरस्कृत भएका छन् । वामवृत्तमा सुनिन्छ, यो पुरस्कार प्रगतिशील वा वामपन्थी लेखकका लागि अलि अनुदार छ ।
लेखक तथा वाम बुद्धिजीवी खगेन्द्र संग्रौलाको विचारमा, सामान्यतः प्रगतिशील वा वामपन्थीका रूपमा चिनिएका कृतिकार मदन पुरस्कार पाउन लायक ठहरिँदैनन् । ‘यो मदन पुरस्कारको दृष्टि र प्रवृत्तिबाट निर्मित वामपन्थी बुझाइ हो । यदाकदा अपवाद होलान् तर सामान्यतः चिन्तन र सिर्जनाको वामपन्थका लागि मदन पुरस्कारको द्वार बन्द छ,’ संग्रौला भन्छन्, ‘यस पुरस्कारले यथास्थितिको अनुमोदन गर्छ ।’
यस पुरस्कारले पुरस्कृत पात्र वा कृति चयनमा जोखिम उठाउन डराउने संग्रौला बताउँछन् । उनको बुझाइमा, यस पुरस्कार कहिलेकाहीँ प्रगतिशील विचारधारा र विद्रोहलाई बदनाम गर्न नग्न रूपमा उभिएको पनि छ । ‘खलंगामा हमला एउटी नर्सको डायरीलाई उदाहरण मान्न सकिन्छ । ज्ञानीहरु भन्छन्— यो बिल्कुल प्रायोजित लेखन हो, जसको प्रयोजन हो– विद्रोही र विद्रोहलाई बदनाम गर्नु,’ संग्रौला भन्छन्, ‘यो आशंका वा आरोपलाई पुष्टि गर्ने मूर्त सबुत छ÷छैनन्, तथापि पुरस्कृत कृतिको प्रकृति र प्रवृत्तिले स्वभावतः यस्तो आशंका जगाउँछ ।’
मदन पुरस्कार पुस्तकालयका कर्मचारी राजीव सिंहका अनुसार, यो पुरस्कार नितान्त नेपाली भाषामा लेखिएको मौलिक र उच्च कोटिको ग्रन्थलाई दिइन्छ । ‘वर्षभर लेखिएका र गुठीमा दर्ता हुन आएका साहित्य, ज्ञान–विज्ञान, विकास–उन्नति जुनसुकै विषयको उत्कृष्ट कृतिले यो पुरस्कार पाउँछ,’ उनी भन्छन्, ‘तर विचारधाराको कसी बनाइँदैन । प्राप्त पुस्तक समितिले अध्ययन गर्छ । विभिन्न पाठकको प्रतिक्रिया बुझ्छ । अनि उत्कृष्ट ठहरिएको कृतिलाई पुरस्कार दिने गरिएको छ ।’
नेपाली साहित्यमा पुरस्कार दिने प्रचलन सुरु नै नभएको, एक प्रकारले खडेरीको अवस्थामा स्थापना भएको र निजी क्षेत्रको सबैभन्दा बढी धनराशिको पुरस्कार भएकाले यो पुरस्कार बढी चर्चित हुन पुगेको बताउँछन्, अखिल नेपाल लेखक संघका अध्यक्ष डा. धनप्रसाद सुवेदी । ‘सुरुसुरुमा यो पुरस्कार राम्रै कृतिहरूलाई पनि दिइएको पाइन्छ,’ डा. सुवेदी भन्छन्, ‘वैचारिकता एकातिर छ, साहित्यिक मूल्यका दृष्टिले हेर्दा केही राम्रै सिर्जनाले र केही खोजमूलक कृतिले यो पुरस्कार पाएका छन् । पछिल्लो समय भने त्यो स्तरलाई कायम गरेको देखिँदैन ।’
वैचारिक दृष्टिले हेर्दा प्रगतिशील खेमाबाट साहित्य लेख्ने गोपालप्रसाद रिमाल (आमाको सपना), रमेश विकल (नयाँ सडकको गीत), मोदनाथ प्रश्रित (मानव) जस्ता सीमित स्रष्टाका कृतिले मात्रै यो पुरस्कार पाएको देखिन्छ । ‘यसबाट पनि यस पुरस्कारको वैचारिक पक्षधरता प्रस्ट हुन्छ,’ डा. सुवेदी भन्छन् । पुरस्कारको पृष्ठभूमि र उद्देश्य नै फरक रहेकाले प्रगतिवादी लेखकले यसको अपेक्षा गर्नु उचित नहुने उनको बुझाइ छ । ‘कम्युनिस्ट विचारधारालाई विद्रूपीकरण र अवमूल्यन गरेका कति कृतिलाई यो पुरस्कार दिइएको छ,’ उनी भन्छन्, ‘पल्पसा क्याफे, खलंगामा हमला आदि यसका उदाहरण हुन् । दमिनी भीर उपन्यासले पनि कम्युनिस्ट विचारधाराप्रति वितृष्णा व्यक्त गरेको छ ।’
माक्र्सवादी समालोचक गुणराज लोहनीका अनुसार, नारायण वाग्लेको ‘पल्पसा क्याफे’, महेशविक्रम शाहको ‘छापामारको छोरो’ र राधा पौडेलको ‘खलङ्गामा हमला एउटी नर्सको डायरी’ जनयुद्धलाई मात्रै आधार बनाएर रचिएका कृति हुन् । प्रगतिवादी कोणबाट हेर्दा विरोधी वैचारिक धाराको कृतिलाई यो पुरस्कार दिइएको देखिन्छ ।
मदन पुरस्कार पाएपछि लेखक स्थापित हुन्छ भन्ने पनि धारणा र मान्यता छ । समालोचक डा. सुकुम शर्मा भने मदन पुरस्कार पाउने सबै कृति स्तरीय नहुने धारणा राख्छन् । ‘सत्यमोहन जोशी, शङ्कर लामिछाने, पारिजात, ध्रुवचन्द्र गौतम जस्ता धेरै लेखकले यो पुरस्कारको गरिमा बढाएका छन्,’ डा. शर्मा भन्छन्, ‘यो पुरस्कार नपाएका कतिपय लेखकले यो पुरस्कारबाट पुरस्कृत कृतिभन्दा उत्कृष्ट कृति लेखेर आफ्नो युग बनाएका छन् ।’
मदन पुरस्कार गुठीको आफ्नै मान्यता वा विचारधारा रहेको र त्यससँग बाझिने विचारधारा राख्ने कृतिलाई यो पुरस्कार नदिएको पाइएको डा. शर्माको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायीको अघिल्लो वर्षको भुक्तानी गरिसक्यौँ : अर्थमन्त्री पौडेल
-
नागा चैतन्यसँग सम्बन्ध विच्छेदपछि यी निर्देशकसँग डेट गर्दैछिन् सामन्था ?
-
राष्ट्रियसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
-
जसपा बैठकमा बिषयगत छलफल
-
अहिले टौदहलाई फोटोजेनिक बनाइएको छ !
-
ट्रम्पले धेरै बोल्दा समस्यामा ह्वाइट हाउसका सोनोग्राफर