बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

समाज रूपान्तरणको आलोकः अग्नि महाकाव्य

शनिबार, ०४ भदौ २०७९, ०७ : ३९
शनिबार, ०४ भदौ २०७९

तर्क तथ्य र मधुर भावहरुको गुञ्जन ‘अग्नि’ महाकाव्य कवि नवराज लम्सालको तेस्रो महाकाव्य कृति हो । काव्यले जातीय विभेदका घटना उठान गर्दै मानवताको आलोक बालेको छ । सामाजिक विभेदको चक्रव्यूहबाट आजीवन आजाद हुन नसकेका छेलाङी पात्रको दुःख–पीडा छताछुल्ल छ काव्यमा । 

कर्मठ र इमान्दार कोपभाजनमा पर्छन्, इतिहासमै बिलाउँछन्, तिनै पात्रहरूको उत्खनन गर्ने ध्येय महाकाव्यको छ । ४१ सर्गमा बिस्तारित महाकाव्यले तरवारसँग गाँसिएको नेपाली वीरताको गौरवगाथा शिरोपर गरेको छ । जेठी तरवारको सन्दर्भले मकवानपुर, गोरखा, नुवाकोट आक्रमण, शिवपुरीगढीको विजयलगायत व्यापक ठाउँ, परिवेश समेटेको छ । निम्नवर्गीय पात्रको नायकत्व वरण गरेको काव्य उच्च मानवताको गर्विलो आवाज हो ।

छेलाङीका पुर्खा ठुले कामी, निरङ्कुश सत्ताको दुर्दान्त झेल्न विवश छन् । आफ्नो श्रम शिल्पमा गर्व गर्न नपाएको उनको पीडा अन्ततः मृत्युमा रूपान्तरण भएको घटना मर्मस्पर्शी लाग्छन् । सत्ताको सेपमा कठ्याङ्ग्रिएर जीवन समापन गरेका र संघर्ष गर्दै गरेकाहरुको यथार्थ काव्यमा उजागर छ । जात, धर्म, पेसा, संस्कार, संस्कृति र भूगोलभन्दा माथि छ मानवता । मानवतामा आँच आउन नदिन यी सम्पूर्ण भुल्न तयार छन् कवि । सम्पूर्ण मानवप्रति सदा सद्भाव र समताले हेर्ने ज्योतिर्मय आँखाको खोजी काव्यले गरेको छ । 

जेठी तरवारका स्रष्टालाई शासकहरूले गरेको अपमानको घटना त प्रतिनिधिमात्र हुन् । मानव सभ्यताको सुरूदेखि कति शिल्पीहरूलाई जन्मायो होला आरनले ? समाजले त्यसको लेखाजोखा गरेन र मूल्यवोध पनि । विभेद, घृणा र तिरस्कारको नजरले हेरिरह्यो सधैँ । समृद्धिको भर्याङ चढ्न राज्यले कर्मवीरहरू उपेक्षित हुने इतिहास, परम्परालाई सच्याउनुपर्ने उद्घोष हो महाकाव्य  । 

गतिवान समयले कयौँ खुड्किला पार गरिसक्दा पनि उस्तै छ आरनको कथा । तिनको सुस्केरा, अभाव, गरिबी र अशिक्षा । सधैँ आगोको साथमा रहेर पनि उज्यालो नहुँदो रहेछ जीवन । आदिमदेखि नै शासकीय त्रासमा जीवन गुजारेका पुर्खाहरूको दुःखान्त कथा छ, उनीहरूको स्मरणमा । भोको पेट, नाङ्गो शरीर पसिना बगाउँदै आगोछेउ भरेका कयौँ मनोहारी शिल्पले उजेलिएका दरबार, मन्दिर, भवन, समाजका अनगिन्ती संरचना सुन्दर सुन्दर छन् तर पनि तिनका घरआँगनी र अनुहारमा खुशीको आभा कहिल्यै सल्बलाउन सकेन । सुन्दर बन्न सकेन जीवन । 

उनैका शिल्प निर्माण सामग्री उपभोग गरेर दैनिकी चलाउने समाज कहिल्यै उदार बनेन तिनका खातिर । विभेदको जञ्जीरले बाँधेर अँध्यारोमै लुकाइराख्यो राज्यले । संरक्षण र सम्बद्र्धनको अभावमा उनीहरूको पुख्र्यौली पेसा पनि धरापमा छ । गति चाहिन्छ, जीवित रहन । शिल्पको जग हो आरन सेलाउनु हुन्न । समाज र सत्ताको चिन्तन र चासोको अभावमा नयाँ पुस्ताको उत्साह, अभिरूचि हराइसकेको वर्तमान अवस्थालाई दृष्टिगोचर गर्दै कवि त्यसलाई बचाउन प्रत्येक नागरिकलाई कर्तव्यवोध गराउँछन् कवितामा । 

आरन सकिएको दिन

देशको एउटा संस्कृति सकिने छ 

सकिने छ वीरताको जग

र, घरेलु इन्जिनियरिङको युद्धकालीन निशानी ।  

पुरातन संरचनाका अनेकौँ रङ्गीन रूप आरनको कौशल हो । बहुसंस्कृति नै हाम्रो पहिचान हो, बहुसंस्कृतिको एक हिस्सा हो आरन । थुङ्गा खसेपछि कसरी सुहाउँछ वगान । नरहे आरन रहँदैन हाम्रो सभ्यताको बलियो धरोहर । बलवान समयसँग स्वर मिलाउँछन् कवि र सीमान्तकृत वर्गको कर्म कुशलतामा सगर्व सम्मान गर्छन् । उनीहरुका कला शिल्पहरु झ्याङ्गिँदै जाऊन्, कामना गर्छन् काव्यमा । 

मानवीय सद्भावनामा जब धमिलोपन आउँछ, तब स्वयम् मान्छे नै प्रश्न बन्छ मानवताका खातिर । सामाजिक विभेदका अटुट श्रृंखलामा जेलिँदै जेलिँदै पुर्खादेखि सन्ततिसम्मको भविष्य आलोकित बन्न नसकेको विदीर्ण परम्पराका प्रतिनिधि पात्र हुन्– छेलाङी । मकवानपुरका राजा हेमकर्ण सेनको शासनकाल (१७९०–१८१६) मा उनकै निर्देशनमा ठुले कामीले बनाएका हुन् जेठी तरवार । निर्माण शिल्पमा पारङ्गत ठुले कामीको शिल्पमूल्य पहिचान गर्न असमर्थ रहे राजा । स्रष्टाले अपमानित हुनुप¥यो राजसभामा । सङ्कटमा हात्ती बचाउँदा जेठी तरवारको मूल्य बोध गरेका राजाले पश्चाताप गर्दाका क्षण ठुले कामी रहेनन् संसारमा । अपमान, पश्चाताप, हर्ष, विष्मात्, विजय, पराजय, प्रेम, सद्भाव, युद्ध, मानवता, निरङ्कुशताजस्ता सान्दर्भिक भाव प्रवाहको गाम्भीर्यले ओजश्वी छ महाकाव्य । छेलाङीको संघर्ष, सघन पीडा, रोदन, पुर्खाहरूलाई शासकले गरेको अपमान र वर्तमान संघर्षले उनीहरू बाँचेको जनजीवनको यथार्थ उद्घाटन गरेको छ । 

समय गतिवान छ । विविध क्षेत्रमा हरेक दिन नवपरिष्कार, परिवर्तनले चरमचुली चुमिसकेको भए पनि युगको उज्यालोले आरनको कालो भित्तोलाई अझै स्पर्श गर्न सकेको छैन । अभाव, संकट, विभेद, घृणा, तिरस्कारको सामना गर्दागर्दै जीवनको लामो यात्रा गरेका छेलाङीको हृदयस्पर्शी कथा आम सीमान्तकृतहरूको पनि कथा हो । 

सामाजिक विभेदका अनगिन्ती अध्याय, जीवन बाँच्न गरेको संघर्ष, दुःख, पीडा पिएर काटेका अनेक कहालीलाग्दा घुम्ती र मोडलगायत विविध अनुभूतिहरूको संगालो छेलाङीको जीवन आवाज बनेर सुसाउँदा कविका भाव मुखरित हुन्छन्ः 

जाति र संस्कृतिभन्दा बढी 

संवेदनामा छ बहुलता

मलाई छेलाङीको आँखा हुन मन लाग्यो

छेलाङीको मन हुन मन लाग्यो

र, केही लेख्नुअगाडि आफै 

छेलाङी हुन मन लाग्यो । 

छेलाङीको स्वरमा विडम्बना छ । आँखाभरी आँसु र मनभरि भनेर नसकिने संघर्षका कथा । तिनै कर्मशीलहरूका हृदय भरिएका छन् सद्भावले । दुःखै–दुःखको पहाड शिरोधार्य गरेर जीवन बाँचेको भए पनि छेलाङीको सन्तोषको आर्जन हो आरनको शिल्प । पुर्खा परम्परादेखिको कर्ममा गर्व गरेको कर्मठ स्वाभिमानी स्वर प्रस्फुटित छ काव्यमा । 

जुत्ता सिएको, कपडा सिएको

थिची खलाँती पसिना पिएको ।

समाज र राज्यले सीमान्तकृत वर्गमा गरेको शोषण, दमन, धम्की, त्रासजस्ता चरम् मानवीय हिंसाका भाव, सन्दर्भ प्रस्तुत गर्दै त्यस्ता अमानवीय आचरणहरूको भत्र्सना काव्यले गरेको छ । श्रम, सीप र कलाको अवमूल्यन भएपछि कसरी बाँच्छन् स्रष्टा ? सदियौँदेखि वर्गीय विभेदको जञ्जीरमा बाँधिएकाहरूप्रति हित चिन्तनाको आलोक प्रज्ज्वलन गरेको छ काव्यले । इतिहासमा सीमान्तकृत वर्गको भूमिका र योगदानलाई खोजेर पुनर्लेखन गर्नुपर्ने र समतामूलक समाजको सन्धान काव्यको अभीष्ट हो ।  

उस्तै हुन् सबै मानव । बग्ने रगत, फेर्ने श्वास उही, उस्तै संवेदना । टेक्ने माटो, हिँड्ने बाटो, उही धर्ती । मान्छेलाई विभेद गर्ने आधार के हो ? जात कि आचरण ? अनेक प्रश्न छन् काव्यमा । विभेद अज्ञानको पराकाष्ठा हो । खुलेपछि चेतना देखिन्छ सर्वत्र उज्यालो । ननिभ्ने उज्यालो हो चेतना । शासकीय चेतनाको अभावमा आलोकित हुँदैन भविष्य जनताको । सम्बृद्धिको गर्तमा पुग्दैन मुलुक पनि । 

संस्कृति हाम्रो स्पन्दन हो । समस्त जाति, धर्म, भाषा, पेसा, संस्कृतिका बहुआयाममा नै झल्किन्छ हाम्रो राष्ट्रिय पहिचान । पहिचान जोगाउन सबैलाई सम्मान गर्नुपर्ने कविको आग्रह छ । निर्माणको लागि शिल्पीघर हो आरन । दैनिक जीवन सञ्चालनको आवश्यकता पनि । उनैका शिल्पको उपयोग गरेर उनैलाई घृणा र तिरष्कार कस्तो हुन्छ जातको रंग ? कसले बनाएको हो जात ? समाजसँगका अनेक प्रश्न छन् छेलाङीका । छुवाछुत, द्वन्द्व, विखण्डनजस्ता विद्रुप पक्षहरूको उन्मूलन गरी शालीन, सभ्य समाज निर्माण चेतनाको विगुल हो महाकाव्य ।    

सीमानाको माटो र ढुंगामा धोएर नपखालिने रक्ताम्मे पाइला छन् पुर्खाका । प्रत्येक देशभक्त नागरिकलाई एकपटक आफ्नो पुर्खाले आर्जेको सीमाना भूमि टेक्न कविको आग्रह छ । जन्मेको देश छाडेर सधँै परदेश पलायन हुनेहरूको मन मुटुमा पनि भिजेको हुँदैन देशको ममता । काव्यमा प्रगाढ देशप्रेमको भावना छताछुल्ल छ । 

एकपटक सीमा नटेकेका गोडाहरू

व्यर्थ हुन्छन् बेकार हुन्छन्

र, सधँैभरि सीमा काटिरहने

खुट्टाहरूको पनि अर्थ छैन ।

सभ्यताको आयाम भन्नु अनेकथरी सिर्जना नै हुन् । नयाँपन हो सिर्जना, जसले हृदयलाई स्पर्श गर्न सकोस् । हृदयबाट बगेका सुन्दर भावना हुन् अथवा अक्कल, बल, विवेकले कुँदेका शिल्प नै किन नहुन् । आरन शिल्पको केन्द्र हो, मूल हो । पाइलामा पाइलामा अपरिहार्य छ आरनको शिल्प । भान्छाका भाँडावर्तन, कृषिका औजारहरू, देवीदेवताका मूर्ति, मठमन्दिर तमाम नवनिर्माणमा उनैको शिल्प सुहाना छन् । यद्यपि, समाज उनैलाई अछुत दर्जामा राखेर अमानवीय आचरण प्रदर्शन गरिरहन्छ । काव्यमा यिनै भाव, प्रसंग मुखरित छन् ।

जसले बनायो हतियार धार

त्यै धार टेकी उसैमा प्रहार ।

शिल्पी र सर्जक आभूषण हुन् राष्ट्रका । अमानवताको प्रदर्शन विवेकहीनताको द्योतक हो । राजाले सभामा हुत्याएर जेठी तरवार अपमान गरे  स्रष्टाको ।  ७५ वर्षका ठुले कामीले भोको पेट, नाङ्गो शरीर, ८० धार्नी फलाम पिटे, पसिनाका धारा बगाए । बदलामा निरङ्कुश सत्ताको चरम अमानवता झेल्न विवश बने । साधना शक्तिमा रूपान्तरण भएझैँ पिट्दा पिट्दै फलाम फलाम नरहेर इस्पात बन्यो र टलक्क टल्कियो तेजिलो, धारिलो फलाम काट्न सक्ने, खिया नलाग्ने तरबार, सानो आकारको जेठी तरवार । शिल्पको अपूर्व नमूना  । यद्यपि, राजा  ८० धार्नी फलामको थुप्रो देख्थे झल्झली खोज्थे । श्रमिकका आवाज सुन्ददैनन् सत्ताका तस्विरहरु । राख्दैनन् शिल्पको पारख गर्ने सामथ्र्य पनि । अज्ञानको घुम्टो ओढेर रिसको झोेकमा हृदयहीन बन्छन् र प्रदर्शन गरिरहन्छन् मुर्खताको । शासनसत्ताको निरङ्कुश प्रवृत्तिलाई काव्यले उजागर गरेको छः

सत्ता

आफैँ प्रश्न गर्छ

आफैँ उत्तर दिन्छ

आफँै मुद्दा हाल्छ

आफँै फैसला गर्छ

यै हो निरङ्कुशताको पूर्ण परिचय ।

आफ्नै श्रम, पसिना बेजोड कौशलले कुँदेका नवोदित शिल्प मन्दिरमा अनावरण गरेपछि हेर्न, टेक्न, पूज्न नपाउने, तीर्खा लाग्दा आफैले कुँदेका ढुंगेधाराबाट छङ्छङाउँदै बगेको सङ्लो पानी पिउन समाजसित अनुमति माग्नुपर्ने । सङ्लो हृदय लिएर पनि समाजका धमिला तर्कहरूको धारमा बारम्बार रेटिनु परेको सीमान्तकृतहरूको दुर्दशा अङ्कन गरेको छ काव्यले । उनैका इन्द्रेणी कलाले सिँगारिएर मुसुक्क मुस्कुराएको समाज उनैलाई निन्दा गर्दै आएको छ सदियौँदेखि । सामाजिक कृरीतिप्रति आलोचनात्मक प्रहार काव्यले गरेको छ । 

चार वर्णको आधार गुण कर्म हो

कृष्ण पुज्नेहरू नै कृष्णको विचार

बिर्सन्छन् किन ?

समस्या अज्ञानको अँध्यारो हो । मानव व्युँझनुपर्छ चेतनाको दीप्ति बालेर । चेतना आफैभित्रको उज्यालो हो । खुलेपछि चेतना यत्रतत्र सर्वत्र देखिन्छ उज्यालो । अनि खुल्छन् समदृष्टि पनि । अज्ञानताको जालो जेलिएको हुन्छ विभेदकारी आँखामा । सम्पूर्ण मानव जाति एउटै सरलरेखामा उभिएर समस्वरको मधूरवाणी श्रवण गर्ने सुनौलो दिन डाक्छन् कवि । 

व्युँझेर मान्छे जब तथ्य चिन्छ

सारा समस्या छिनमै सकिन्छ ।

सीमान्तकृत वर्गको विगतको यथार्थ वर्तमानको प्रतिविम्बन र भविष्यको खोजी महाकाव्यले गरेको छ । परम्परादेखि वर्तमानसम्मको विभेदकारी सामाजिक व्यवस्थाको अनुहार हो महाकाव्य । अनेकतामा एकता, वीरताको आर्जन हो सिंगो देश नेपाल । बहुलताको पहिचान बोकेर फर्फराउने चन्द्र–सूर्य अंकित  झण्डाझैँ  सुन्दर छैन जीवन बहुलताको एक हिस्सा सीमान्तकृत वर्गहरूको । 

भनाइ र भोगाइमा अन्तर छ आकाश–जमीनको । गौरवमय पुर्खाको इतिहासमा गौरव गर्न पाएका छन् कि छैनन् तमाम छेलाङीहरूलाई प्रश्न गरोस् राज्यले । काव्यको त्यही अपेक्षा छ र समयको पनि । मानवीय आचरण, व्यवहारमा झल्किनुपर्छ मानवता । विभेदकारी सामाजिक आचरणमा लाग्नुपर्छ पूर्णविराम, फेर्नु पर्छ दृष्टिकोण, मानव भएर मानवलाई हेर्ने आँखाहरू बन्नुपर्छ उदार । मानव भएर मानवबाटै कोही कसैले पनि हिंसा, विभेद सहनु नपरोस् । मानवले आफू भित्रको सृजना शक्ति कला र सीपद्वारा चिनाउन सकोस् आफूलाई र सिँगार्न सकोस् जीवन । जुनसुकै जाति, धर्म, लिंग, वर्ण र भूगोलको भए पनि उसले समाज र राज्यका लागि गरेको योगदानको कदर होस् । समभाव दर्शाउँदै सबैमा र कर्मठ, सिर्जनशीलहरूलाई सर्वश्रेष्ठ मान्छेको उपमा दिँदै कवि उच्च मानवताको भाव सुसेल्छन् ः

जान्दिन हिन्दू के हो ?

र, जान्दिन के हो बौद्ध, शिख र जैन 

यत्ति हो म त मान्छे चिन्दछु

मान्छे जान्दछु

मान्छे

पूर्ण सीपसहितको मान्छे ।

समस्त जीवनलाई रंग दिने आरन आफू भने रंगको खोजीमा गुज्रिरहेको छ सदियौँदेखि । नरोकियोस् भात–भान्छामा, तगारो नलागोस् पानी–पँधेरामा, विभेदका आँखा नहेरियोस् तमाम संघ, संस्थाहरुमा । सम्पूर्ण रूपमा उनीहरूप्रति गर्ने दुव्र्यवहार निरस्त होस् । युगचेतनाको त्यही सुन्दर रंग खोज्छन् कवि । 

परम्परा तोड, परम्पराको

बालेर आगो युग चेतनाको ।  

नेपाल एकीकरणमा होस् अथवा नालापानी, मलाउ, देउथल युद्धको लागि हतियार बनाउने शिल्पघर हो आरन । कति रंगीन शिल्प सजायो होला आरनले, कति महत्वपूर्ण कार्यहरूको निशानी बन्यो होला आरन । हतियार निर्देशनका लागि राजा महाराजा पुग्थे त्यही आरनमा, शासकहरू को गए, किन गए कहिले गए आरनमा त्यसको विस्तार वर्णन छैन इतिहासमा । कुनबेला कस्ता कालीगढ थिए, तिनको परिचर्चा छैन इतिहासमा । ओझेलमै रहिरहे सधैँ ती कालीगढहरू । वीरताको इतिहासमा उनीहरूले दिएको योगदान उल्लेख कतै छैन । हराएको इतिहास खोज्न चाहन्छन् कवि । 

आफ्नै हत्केलामा बालेर आफ्नै जिन्दगी

भन कसले भ¥यो 

युद्धका हरेक हतियारमा

चमकको पाइन ।

आरनमा निर्मित अनेकौँ फलामे शिल्पहरूसँग हातेमालो गर्दै उठेको हो कृषि सभ्यता । पूरा भएका हुन् दैनन्दिन जीवनका अनगिन्ती आवश्यकता । वर्तमान समयले मागेको छ, मनकामना र गोरखकालीका पूजारीहरूले खुकुरीमा साँध लगाउने आरनको कथा । पृथ्वीनारायण स्वयम् उपस्थित भएका जसवीर कामीको आरनको कथा, गोरखाली फौजलाई आधा रातमा शुभघाटबाट डुंगा तार्ने जलेवा माझीको परिचय । पूर्ण छैन इतिहास, पाना छुटेका छन् धेरै धेरै । युद्ध र विजय एकल व्याख्या होइन शासकहरूको । अनेक सशक्त तत्वहरूको सामथ्र्य र समायोजन हो । सबैको भूमिका र योगदानको लेख्नुपर्छ इतिहास स्वर्णअक्षरमा र गाउनु पर्छ गाथा चराचर कविको आह्वान छ सबै सबैमा ।

भुङ्ग्रोमा हत्केला पोलेर

जलाएर आँखीभुइँ

युद्धको प्रसाधन बनाउनेको

इतिहासै नहुने देश हो र यो  

कथाको फेदमा पुगेर अपूर्ण इतिहास लेख्ने अध्येताहरूलाई प्रश्न गरेको छ काव्यले । नुवाकोट युद्धमा दलमर्दन शाहले शंखमणि रानालाई काटेको जेठी तरवार, शिवपुरीगढी कब्जा गर्न कान्तिपुर युद्धमा प्रयोग भएको जेठी तरवार आज न गोरखामा भेटिन्छ, न मकवानपुरमा पनि । त्यही शक्तिशाली हतियारको खोजी गरेको छ काव्यले । हतियारबिना कसरी सम्भव हुन्छ युद्ध ? 

हतियार र वीरता एकअर्काका पूरक हुन् । नालापानी, देउथलको युद्धमा प्रयोग भएका हतियार खुँडा, खुकुरी, भाला, तरबार बनाउने कालीगढ को को थिए ? युद्धका लागि कति संख्यामा हतियार प्रयोग भएको थियो ?  ती हतियार ककसले बनाएका थिए ? तिनको चर्चा इतिहासमा छैन । लेखिँदा वीरताको गाथा किन लेखिएन हतियारको ? हतियारको इतिहासबिना कसरी पूर्ण हुन्छ वीरताको इतिहास ? राष्ट्रका गौरव हुन् शिल्पी र स्रष्टा । सम्मान गर्नुपर्छ राज्यले । सगौरव पुर्खाको वीरगाथा गाइरहँदा इतिहासका पानामा कतै भेटिँदैनन ठुले कामी । काव्यले शिल्पी र स्रष्टा दुवैको खोजी गरेको छ । 

आज हतियार पनि छैन

र, हतियार निर्माताको इतिहास पनि छैन

कसले लेख्ने हो यो कथा 

कसरी लेखिने हो ?     

श्रम, सीप नै सिंगार हो जीवनको । संघर्षका पाठ नै प्रेरणाका मूल हुन् । कला, सीप र क्षमताको पारख गर्न सक्ने क्षमता समाजसँग भइदिएको भए कर्मठ र इमान्दारहरू किन अन्यायको खाडलमा पर्नुपथ्र्यो र ? कर्म नै शक्ति हो अनेक सम्भावनाको । कर्मले महान बनेका व्यक्तित्वको चर्चा गरेको छ काव्यले । 

वेदका रचयिता व्यासको जात कसैले जान्दैन । ऋषि आश्रमकी दासीको छोरा हुन् महात्मा विदुर । घोडीबाट जन्मिएका मानिन्छन् स्वर्गका वैद्य कहलाउने अश्विनीकुमार । संस्कृतका आदिकवि वाल्मीकि जातले शुद्र मानिन्छन् । यद्यपि, सर्वत्र पुजनीय छन् । जात, धर्मलाई माथ गर्छ कर्मले । स्वयम् देवादिदेव महादेवको कुनै जात छैन । कल्याणका अवतार राम, कृष्ण, बुद्ध जसले मानवलगायत सबै पशुप्राणी, समस्त सृष्टिप्रति नै प्रपञ्च दृष्टि राखे । आफ्ना महान कर्मले पुज्य बनेका विशिष्ट पौराणिक पात्रहरूको प्रसंग उल्लेख गर्दै कवि कर्मकै गरिमा गान गर्छन् काव्यमा । 

धार्मिक युद्धहरूको के अर्थ 

धर्मरेखा पनि कर्मरेखा नाघेर कसरी

जाला र टाढा ?

समाजकै सेवामा सदियौँदेखि श्रम, पसिना बगाएकाहरू नै राज्यको अवसरबाट ओझेल परेका छन् । देशको सीमानाभित्र बास बसेकै आधारमा नागरिक भन्न वाध्य हुनु परेको विडम्वनापूर्ण नियति छ उनीहरूको । मन्दिरको ढोकामा रोकिन्छ, पानीपँधेरामा रोकिन्छ, पाठपूजाको मण्डपमा रोकिन्छ । शोषण, दमन, अन्याय, अत्याचार, छुवाछूतजस्ता सामाजिक विद्रुप धारणाबाट थङ्थिलिएका आवाज प्रस्तुत् छन् कवितामा । 

हो नागरिकता मेरै हो

नागरिकतामा टाँसिएको 

दुईकान देखिने तस्बिर पनि मेरै हो

बाँकी मेरो भन्नु के छ र ?

मान्छेको दर्जा छुट्याउने अनेक मापदण्ड छन् समाजसँग । क्षणक्षणमा बदलिने दृष्टिकोण पनि । शिक्षाले पनि नखुल्दो रहेछ चेतना । शिक्षितको संख्या त बढ्दो छ दिनानुदिन तर समाज किन विभेदरहित छैन ? अज्ञान हटाउन खुल्नुपर्छ अभ्यन्तर दृष्टिचेतना । शिक्षा र चेतना फरक कुरा हुन् । शिक्षितहरूको जमात् नै काफी छ विभेदका परम्परालाई सघाउन । शिक्षित मुर्खहरू उत्पादन गर्ने थलो बनेका छन् शैक्षिक संस्थाहरू । तिनैको उदेकलाग्दो गर्जना गर्ने थलो बनेको छ समाज । समाजिक कुरीतिहरूलाई शिक्षाले पनि सुधार्न नसकेको, स्वार्थ खातिर मान्छेहरूले दिनानुदिन सद्भाव र मानवतालाई भुल्दै गएको भाव काव्यमा प्रस्तुत छः

एकै कसरी होला रक्षा र प्रतिरक्षा

दीक्षितले झैँ 

शिक्षितले देख्दैन ज्ञानको आँखा र त 

फरक छन् शिक्षा र दीक्षा  

सीमान्तकृत वर्गका जीवन भोगाइका यथार्थ अनुभूति अनेकौँ कठिनाइका दर्दनाक भाका पर्गेल्दै समाज सत्ताको शासनरूपी जञ्जीर चुँडालेर उनैका उपरमा समानता र स्वतन्त्रताको शीतल चौतारी खोजी गरेको छ काव्यले ।

अधिकारको झण्डा

मूलबाटोमा परेको दिन 

हामी आफै लेख्छौँ आफ्नो कथा 

र, टाढा टाढासम्म सुनिने गरी 

हामी आफै गाउँछौँ आफ्नो मुक्तिको गीत । 

झुपडीमा झर्दैनन् शासक र त जान्दैनन् उनीहरू आम छेलाङीहरूकोे कथा । भोको पेटको कथा, नाङ्गो शरीरको कथा, हरेक दिन बगाउने पसिनाको मूल्य । सदावहार सामाजिक तिरस्कार र शासन सत्ताको भुंग्रोमा आफ्नै श्रम सीपको अवमूल्यन सहेर पुर्खाले खेपेको अपमानका फेहरिस्तमा आफ्नो संघर्षको पीडा घोलेर रेटिँदै रेटिँदै बाँचेका छन् देशका एक जमात नागरिक हिस्सा । देशको नागरिकता खल्तीमा राखेर, झण्डाको छहारीमा रहेर गौरवान्वित ठान्दैनन् आफैलाई । खल्तीमा राखेको नागरिकता हेर्दै बारबार आफ्नै तस्विरप्रति पनि आशंकाको भाव उब्जन्छ उनीहरूमा । राज्यले गरेको थिचोमिचोका वावजुद् । 

जीवनभरिको कहालीलाग्दो संघर्ष, सुख र खुशीले पाइलो टेक्न नसकेको आरनको आँगनी, मानव भएर मानव जातिबाटै सहनु परेको हिंसा र विभेदका विरूद्ध तार्किक आलोचनाको प्रवल प्रवाह हो अग्नि महाकाव्य । हरेक तह र तप्कामा स्वार्थ र शक्तिको आड लिएर निरङ्कुशताको गर्जना गर्नेहरुलाई स्वाभाविक हो मानवताको पाठ जटिल लाग्नु । शासकहरूको प्रशस्ती गानले दबिएको सीमान्तकृतहरूको आवाजलाई काव्यले बुलन्द गरेको छ ।

सुमधुर भाषा शैली र भावहरूको प्रवाह हो अग्नि महाकाव्य र काव्य विधाकै नौलो प्रस्फुटन पनि महाकाव्य वर्गीय समताको आलोक हो । उच्च मानवताको गायन हो । आरन, आगो र औजार बोल्नु पर्छ इतिहासका पानामा । छुटेका छन् सीमान्तकृतहरूकोे भूमिका । शक्तिशाली हतियार र तिनका स्रष्टाको योगदान । अपूर्ण इतिहासलाई सच्याउनुपर्ने कविको आह्वान छ । शासकहरूको निरङ्कुश प्रवृत्तिको प्रतिविम्बन हो महाकाव्य । 

व्यापक समय र परिवेशलाई समेटेको काव्यमा दलित समुदायको पुर्खादेखि वर्तमान सन्ततिहरू समेतको भोगाइ र अनुभूति विन्यास गरिएको छ । अनेक भावसन्दर्भमा प्रयोग गरिएका अप्रचलित मिथकीय सन्दर्भहरूले कतिपय पंक्तिहरू दुर्बोध्य बनेका छन् । निम्नवर्गीय पात्र छेलाङी र उसको तार्किक प्रवाहमा भने त्यति तालमेल देखिन्न । दलित समुदायका पुर्खाहरू बाँचेको जस्तो कहालीलाग्दो जीवन, छेलाङीको जस्तो कठोर संघर्ष उनका सन्ततिहरूले झेल्नु नपरोस् । राज्य ब्युँझियोस् उनीहरूका खातिर । 

समय आफै दृष्टान्त हो परिवर्तनको । उत्थानको दैलो क्रमशः खुल्दैछ । चाडै काँचुली फेरोस् समाजले । युगचेतनाको पहारिलो घाम अग्नि महाकाव्यले विभेदकारी सामाजिक परम्पराका बन्धन चुँडालेर मानवताको सुन्दर रङ्ग सबैमा बाँडेको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप