दुई लघुकथा
पाउ छेदन
“प्रभु शरणमा परेँ ।” सेवक पाउमा लम्पसार पर्यो । प्रभु प्रसन्न हुनु भयो । सेवकले गाएका स्तुति गानले प्रभु प्रफुल्लित हुनु भयो । सेवकले पाउ मुसारिरह्यो, प्रभुलाई आनन्द लाग्यो । प्रभुले आशीर्वाद दिइरहनु भयो ।
प्रभुको कृपाले सेवकको भाग्य चम्किँदै गयो । उसले पनि आफ्ना सेवक बनाउँदै गयो । प्रभु पनि सेवकले गरेको पाउ पूजनमा लट्ठिन थाल्नु भयो ।
एक दिन सेवक आएन । प्रभुलाई छटपटी हुन थाल्यो । प्रभु उभिन खोज्नु भयो तर सक्नु भएन । प्रभुले आफ्नै पाउतिर एक नजर लगाउनु भयो । सेवकले त प्रभुको पाउ छेदन गरिसकेको रहेछ ।
ममताको गहिराई
आफू ढोका अगाडि नै ओर्लेर चालकलाई गाडी पार्किङ गर्न लगाएँ । श्रीमती ब्रिफकेश समात्न आइपुगिन् ।
उनले ब्रिफकेश हातमा लिंदै सोधिन्, “किन फोन नगरिस्या ? ढिलो आइस्यो नि आज ।”
“हाम्रो प्रोजेक्टको प्रिजेन्टेसन थियो, फोन गर्न पनि भ्याइन । अहिले साँझ मन्त्रीज्यूसँगको डिनर मिटिङ थियो ।” मैले सबै बताएँ ।
भित्र पसेको गाउँबाट आमा आउनु भएको रहेछ । ढोग गरेँ ।
“हरे, यसबेला बल्ल घर आउन पाउँदो रहेछ मेरो बाबु ।” आमाले दुःखमनाउन गर्दै भन्नु भयो ।
“हजुरको छोराले आज मन्त्रीज्यूसँग बसेर भुजा ज्यूनार गरेर आउनु भएको रे,” बुहारीले आमाले बुझ्ने गरेर भनिन् ।
बुहारीको कुरा आमाले कति बुझ्नु भयो, थाहा भएन । म फ्रेश भएर सोफामा बसेर ल्यापटप खोल्न थालेँ ।
आमा मेरो छेउमा आएर बस्नु भयो र सोध्नु भयो, “बाबु आज तँलाई भात खान त दिए ?”
मेरा ल्यापटप खोल्न अगाडि बढेका हात रोकिए । मेरा आँखाले एकोहोरो आमाको आँखामा ममताको समुद्रको गहिराई नापिरह्यो । त्यसो त यसको चौडाइ त मलाइ पहिला नै थाहा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलरको भाउ बढ्यो, कसको कति ?
-
च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
-
च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
-
फेयेनुर्डले अंक खोस्दा पेप ग्वार्डिवलाको म्यान्सिटीलाई कष्ट
-
लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले उठायो घरेलु मैदानको फाइदा