शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई लघुकथा

शनिबार, ०४ भदौ २०७९, ०७ : ००
शनिबार, ०४ भदौ २०७९

पाउ छेदन

“प्रभु शरणमा परेँ ।” सेवक पाउमा लम्पसार पर्‍यो । प्रभु प्रसन्न हुनु भयो । सेवकले गाएका स्तुति गानले प्रभु प्रफुल्लित हुनु भयो । सेवकले पाउ मुसारिरह्यो, प्रभुलाई आनन्द लाग्यो । प्रभुले आशीर्वाद दिइरहनु भयो । 

प्रभुको कृपाले सेवकको भाग्य चम्किँदै गयो । उसले पनि आफ्ना सेवक बनाउँदै गयो । प्रभु पनि सेवकले गरेको पाउ पूजनमा लट्ठिन थाल्नु भयो । 

एक दिन सेवक आएन । प्रभुलाई छटपटी हुन थाल्यो । प्रभु उभिन खोज्नु भयो तर सक्नु भएन । प्रभुले आफ्नै पाउतिर एक नजर लगाउनु भयो । सेवकले त प्रभुको पाउ छेदन गरिसकेको रहेछ ।

ममताको गहिराई

आफू ढोका अगाडि नै ओर्लेर चालकलाई गाडी पार्किङ गर्न लगाएँ । श्रीमती ब्रिफकेश समात्न आइपुगिन् । 

उनले ब्रिफकेश हातमा लिंदै सोधिन्, “किन फोन नगरिस्या ? ढिलो आइस्यो नि आज ।” 

“हाम्रो प्रोजेक्टको प्रिजेन्टेसन थियो, फोन गर्न पनि भ्याइन । अहिले साँझ मन्त्रीज्यूसँगको डिनर मिटिङ थियो ।” मैले सबै बताएँ । 

भित्र पसेको गाउँबाट आमा आउनु भएको रहेछ । ढोग गरेँ । 

“हरे, यसबेला बल्ल घर आउन पाउँदो रहेछ मेरो बाबु ।” आमाले दुःखमनाउन गर्दै भन्नु भयो । 

“हजुरको छोराले आज मन्त्रीज्यूसँग बसेर भुजा ज्यूनार गरेर आउनु भएको रे,” बुहारीले आमाले बुझ्ने गरेर भनिन् । 

बुहारीको कुरा आमाले कति बुझ्नु भयो, थाहा भएन । म फ्रेश भएर सोफामा बसेर ल्यापटप खोल्न थालेँ । 

आमा मेरो छेउमा आएर बस्नु भयो र सोध्नु भयो, “बाबु आज तँलाई भात खान त दिए ?” 

मेरा ल्यापटप खोल्न अगाडि बढेका हात रोकिए । मेरा आँखाले एकोहोरो आमाको आँखामा ममताको समुद्रको  गहिराई नापिरह्यो । त्यसो त यसको चौडाइ त मलाइ पहिला नै थाहा थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप