साहित्य

‘माधवी’कै कारण पनि मदनमणिलाई सम्झनै पर्ने हुन्छ’

person explore access_timeभदौ ४, २०७९ chat_bubble_outline0

मदनमणि दीक्षित नेपाली साहित्य क्षेत्रमा ‘माधवी’ (२०३९) उपन्यासबाट सर्वाधिक चर्चित व्यक्तित्व हुन् । १९७९ फागुन ६ गते काठमाडौंको गैरीधारामा जन्मिएका उनले यस उपन्यासमा उत्तरवैदिककालीन समाजको चित्रण गरेको पाइन्छ । पत्रकारिता क्षेत्रमा पनि लामो समय समर्पित उनलाई समीक्षा (२०१६–२०५२) पत्रिका प्रकाशनका विषयलाई लिएर तत्कालीन सरकारले नौ पटकसम्म प्रतिबन्ध लगाएको थियो । 


‘रूपरेखा’ (२०१९) मा ‘कसले जित्यो, कसले हार्‍यो ?’ शीर्षकको कथा प्रकाशित गरी सार्वजनिक साहित्यमा प्रवेश गरेका उनी उपन्यास, निबन्ध र कथा सिर्जनामा बढी चर्चित रहे । 



सम्पूर्ण जीवन साहित्य क्षेत्रमै बिताएका उनका अन्य मुख्य कृतिहरूमा चरैवेति, त्यो युग, हाम्रा ती दिन, म रुँदै बिर्सन्छु, बर्लिन डायरीका पाना, लाखौँ शिशुहरू लिफ्ट मागिरहेछन्, मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ, कसले जित्यो कसले हार्‍यो ? दश लाख हिरोसिमातिर, ग्यास च्याम्बरको मृत्यु, जीवन महाअभियान, ऋग्वेद : केही प्रमुख सूक्त आदि छन् । पूर्वीय मिथकमा आधारित रहेर यस्तो गहन उपन्यास लेख्ने दीक्षितको २०७६ साउन ३० गते कालिकास्थानस्थित आफ्नै निवासमा निधन भएको थियो । 



आजीवन नेपाली साहित्य सिर्जनामा लागेका दीक्षित विविध पुरस्कारबाट सम्मानित पनि भए । माधवी उपन्यासका लागि २०३९ सालमा मदन पुरस्कार र साझा पुरस्कार प्राप्त गरे । राष्ट्रिय पत्रकारिता पुरस्कार, भानुभक्त पुरस्कार, लेखनाथ साहित्य पुरस्कार, भूपालमानिसंह कार्की पुरस्कार, नइ सुकीर्ति पुरस्कार, देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, पद्मश्री साधना सम्मान, राष्ट्रिय कलाश्री सम्मान आदिबाट समेत सम्मानित भए । 

प्रस्तुत छ, विशिष्ट स्रष्टा मदनमणि दीक्षितबारे केन्द्रीत रही उपप्राध्यापक डा. दुर्गाबहादुर घर्तीसँग रातोपाटीका लागि शिखर मोहनले गरेको सङ्क्षिप्त कुराकानी :

यहाँले मदनमणि दीक्षितलाई कसरी चिन्नुहुन्छ ? 

मदनमणि दीक्षितले जागिरे जीवनको आरम्भ शिक्षण पेसाबाट गरेका र उनलाई माड्साब भनिने भए पनि उनी मूलतः पत्रकार र साहित्यकारका रूपमा परिचित छन् । उनले पत्रकारिता २०१४ सालदेखि सुरु गरेका हुन्, ‘हालखबर’ दैनिकको सम्पादक भएर । त्यहाँ उनले दुई वर्ष काम गरे  । अनि २०१६ सालमा आफ्नै पत्रिका ‘समीक्षा’को प्रकाशन आरम्भ गरे, २०५२ सालसम्म त्यसले निरन्तरता पायो । 

दीक्षितका तीनओटा कथासङ्ग्रह, एक दर्जन जति लेखनिबन्धसङ्ग्रह, तीनओटा उपन्यास र ‘मेरी नीलिमा’ शीर्षकको निबन्ध र आख्यान मिश्रित उपन्यास समकक्षी एकालाप प्रकाशित छन् ।  

उहाँलाई नेपाली साहित्यानुरागीहरूले सम्झनै पर्ने किन ?

उनका कथा र उपन्यास दुवैमा हार्दिक कोमलता, कारुणिकता, काव्यात्मकता एवं दार्शनिक स्पर्शको प्रस्तुति पाइन्छ ।  दीक्षित नेपाली आख्यानको कुशल शिल्पी हुन् । उनका ‘कसले जित्यो कसले हार्‍यो’, ‘ग्यास च्याम्बरको मृत्यु’ र ‘जेन्डा’ कथासङ्ग्रह; ‘माधवी’, ‘त्रिदेवी’ र ‘भूमिसूक्त’ उपन्यास प्रकाशित छन् । ‘माधवी’ संरचनागत आयाम विस्तार र विषयवस्तुगत व्यापकताका दृष्टिले नेपाली भाषामा लेखिएका उपन्यासमध्ये सबैभन्दा ठूलो उपन्यास हो । माधवीकै कारण पनि उनलाई सम्झनै पर्ने हुन्छ । ‘ग्यास च्याम्बरको मृत्यु’ कथा लोकप्रिय कृति हो ।  उनका अन्य उपन्यास पनि ठूलो आकारका छन् । 

नेपाली साहित्यमा मदनमणि दीक्षित कस्ता विचारधारा र प्रवृत्तिका साहित्यकार हुन् ?

दीक्षित दर्शनशास्त्रका अध्येता र वामपन्थी राजनीतिमा सक्रिय व्यक्ति हुन् । उनको अध्ययनबाट प्राप्त ज्ञान र आस्थाका रूपमा ग्रहण गरेको मार्क्सवादी विचारले उनका कृतिमा पनि प्रवेश पाएका छन् । 

‘माधवी’ उपन्यासमा मार्क्स र एङ्गेल्सले प्रस्तुत गरेका समाज विकासको चरण, वर्ग सङ्घर्ष, अतिरिक्त मूल्य सिद्धान्तजस्ता कुरालाई आख्यानीकरण गरिएको छ । ‘त्रिदेवी’ले नेपाली समाजमा नारीले भोग्नु परेको सामाजिक, सांस्कृतिक, आर्थिक एवं मनोवैज्ञानिक समस्या प्रस्तुत गरिएको छ । ‘भूमिसूक्त’ उपन्यासमा आदिम नारीसत्ता र त्यसको विरोध गरी जन्मेको पुरुष सत्तालाई देखाइएको छ ।  

माधवी उपन्यासमा नारीवादी दृष्टिकोण कस्तो छ ? 

वास्तवमा ‘माधवी’ नारीकेन्द्रीत उपन्यास हो । उपन्यासकी प्रमुख पात्र अहिच्छत्र जनपदकी माधवी वारुणी महामाया गणिका बनाइएकी र वरुणबलिमा दासपुत्रलाई जिउँदै अग्निदाह गर्नुपरेको, हलिमकको तान्त्रिक अभिचार सहनु परेको, पछि  गालवको गुरुदक्षिणाका लागि ‘एक घोडा र एक छोराका रूपमा केशशुल्का नारीका रूपमा हिँड्नुपरेको, अहिच्छत्रकै दासशालाकी सारिका मालिकको कामुकताबाट बच्न सङ्घर्ष गर्नुपरेको प्रसंग छ ।

त्यस्तै, मण्डक जनपदको सुपर्ण नागजेयकी पत्नी जवा हरण गरेर ल्याइएकी र अतिथिलाई सहसय्यागामिनी भएर सत्कार गर्न विवश, चौलामाताको वनायु जनपद आदिम साम्यवादी अवस्थामा रहेको, हर्यश्वको भूमिगत दासशालामा पुरुषहरूका साथ राखिएकी चर्ममुटिकाको पीडी, विना अपराध श्रापित हुनुपरेको भल्लाक्ष र उसकी पत्नी गिरिका, मन्त्रद्रष्टा भएर भए पनि सम्मान पाउन नसकेकी घोषा, बाटधान नामको हाटमा स्वर्ण मुद्रामा बेचिएकी किशोरी आदि पात्रले नारी उत्पीडनको कथा भन्छन् । 

माधवीका माध्यमबाट नारीको श्रेष्ठता र महत्ता देखाउनु यस उपन्यासको मुख्य उद्देश्य हो ।  

एमएको पाठ्यक्रममा पनि समावेश भएको छ माधवी । यसले समाजलाई के शिक्षा दिन्छ ? 

‘माधवी’ उपन्यासमा एकातिर उत्तरवैदिक काल अर्थात् ऋग्वेदपछिको कालको समाजको पुनर्निमार्ण गर्ने प्रयत्न गरेको छ भने अर्काेतिर मार्क्सको समाज विकासको स्वरूप प्रस्तुत गरेको छ । यसमा भारतको उत्तरवर्ती क्षेत्र र नेपालको केही क्षेत्रको समाजशास्त्रीय आधारमा चित्राङ्कन गर्नुका साथै मानिसको शाश्वत मनोवृत्तिको उद्घाटन पनि गरेको छ । 

यो महाभारतको मिथकमा आधारित भए पनि मिथकको पुनरावृत्ति होइन, त्यसको पुनर्निर्माण हो । मिथकको सहारामा यसले अर्कै जीवनदृष्टि प्रस्तुत गरेको छ, उपन्यासलाई हेर्ने बहुलवादी ढोका खोलेको छ ।  यसले बहुल शिक्षा दिन्छ ।

उनका अन्य कृतिमा माधवी प्रवृत्ति पाइन्छ ?

दीक्षित मार्क्सवादी चिन्तनलाई मूल आधार बनाउने भएकाले उनको कृतिमा वैचारिक दृष्टिमा त्यति भिन्नता पाइँदैन । तर विषयवस्तु पृथक् छन्, घटना पृथक् छन् । मार्क्सवादी चिन्तन पनि एउटै अवधारणामा सीमित छैन । आधार र अधिरचनाको स्वरूप पृथक् भए पनि प्रक्रिया त उस्तै हुन्छ ।  

उनका लेखनगत खास विशेषता चाहिँ के छन् ?

दीक्षितका लेखनिबन्ध पठनीय छन् । तिनले वैदिक वाङ्मयका विभिन्न विषय र चिन्तनबारे जानकारी दिन्छन् । दीक्षितले प्राचीन वाङ्मयका आधारमा नवीन विचार पनि प्रस्तुत गरेका छन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।