शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्जला व्रत बसी अष्टिम्की मनाउँदै पश्चिमा थारु (तस्बिरसहित)

शुक्रबार, ०३ भदौ २०७९, २१ : ४५
शुक्रबार, ०३ भदौ २०७९

हिन्दु धर्मवलम्वीहरूले विभिन्न मठ मन्दिरमा पूजाआजा गरी शुक्रबार भगवान श्रीकृष्णको जन्मोत्सव मनाइरहँदा पश्चिमा थारु समुदायले भने अष्टिम्की पर्व मनाइरहेका छन् । सुर्खेतदेखि पश्चिम कञ्चनपुर जिल्लासम्म बासोबास गर्दैआएका थारु समुदायले अष्टिम्की पर्व हर्षोल्लासपूर्वक मनाइरहेका हुन् ।

पृथक मौलिक चालचलन तथा संस्कृति बोकेको आदिवासी थारु समुदायमा २ दिन अष्टिम्की पर्व मनाइने गरिन्छ । पर्वमा खासगरी, महिलाहरूले अघिल्लो राति (विहिबार) भिनसर्या भात (दर) खाई आज (शुक्रबार) दिनभरी निर्जला व्रत बसेका छन् । व्रतालु महिला तथा युवतीहरू साँझपख घरको भित्तामा कोरिएको विभिन्न पौराणिक चित्रमा टिक्ने अर्थात पूजा गर्ने गर्दछन् । टिक्ने काम सम्पन्न भएपछि लगिएका फलफूलहरू आपसमा बाँडेर खाने प्रचलन रहेको थारु लोक संस्कृतिविद् अशोक थारु बताउँछन् । उनका अनुसार अष्टिम्कीको उत्पत्ति ‘अष्टमीटिका’बाट भएको हो ।

भगवान श्रीकृष्णलाई थारु भाषामा ‘कान्हा’ भनिन्छ । अष्टिम्की’को अर्थ भदौ महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकोले उनको टीका लगाउनु हो । ‘कान्हा’को जन्मदिनलाई थारु महिलाहरूले विशेष रुपमा मनाउने हुनाले यस दिनलाई थारु समुदायमा अष्टिम्की भनिने प्रचलन रहिआएको संस्कृतिविद् थारूले जानकारी दिए । अष्टिम्कीमा ‘कान्हा’ को जीवनीलाई भित्तामा चित्रको माध्यमबाट कोरेर चित्रण गरिन्छ । यसरी कोरिएको चित्रमा धुमधामसँग टीका, फलफूल, जल अर्पण तथा दीप प्रज्वलन गरी पूजा गरिन्छ । 

कसरी बनाइन्छ अष्टिम्की ?
व्रतालु महिलाहरू आज अष्टिमकीको पहिलो दिन बिहानै गाउँको भलमन्सा वा बडघरको बहरी अर्थात बैठक कोठाको उत्तरपत्तिको भित्तामा लिपपोट गरी चुनले रंगाई श्रीकृष्ण भगवानको चित्रलाई विशेष रुपमा सजाउँछन् । श्रीकृष्णको दाहिनेपत्ति सूर्य र बाँयापत्ति चन्द्रमाको चित्र बनाइन्छ । दोस्रो लाइनमा सात भाइ कौरवहरूको चित्र बनाउने गरिन्छ । त्यस्तै, तेस्रो भागमा दुलाहादुलही, दुलहीलाई पठाउन जाँदा अवस्थाको ‘डोली’, दुलाहालाई पठाउन जाँदा अवस्थाको ‘डोला’, माछा, गंगटा, बाघ, हात्ती, मंयुर, सर्प, बिच्छी, गाईलगायत विभिन्न चरा र जनावरको चित्र कोर्ने प्रचलन रहँदै आएको छ ।

यसरी श्रीकृष्ण भगवानको जीवनमा आधारित चित्र सजाई सकेपछि गाउँभरीका महिला तथा युवतीहरू परम्परागत लेहंगा, बिलाउज, चोलियालगायत पहिरनमा सजिएर लाइनवद्ध भएर अष्टिम्की टिक्न जाने बताउँछन् थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी । जुन अवस्था निकै रोचक र हेर्नलायक हुने बताउँदै संयोजक चौधरीले व्रतालु महिलाहरूले प्रसादको रुपमा काँक्रो, कुन्ढ्र्रु, आम्बालगायत फलफूल लैजाने उल्लेख गरे । जहाँ पूजा पश्चात लगिएका फलफूल बाँडेर खाने गरिन्छ । त्यस्तै, रातभरि त्यही पूजा कोठामा पृथ्वीको उत्पति, श्रीकृष्ण जन्म र लिला समेटिएको गीत गाउने समेत प्रचलन रहिआएको संयोजक चौधरीले बताए । अर्को दिनपनि विहानै व्रतालु महिलाहरूले अघिल्लो दिन झै टिक्ने गर्दछन् । तत्पश्चात अघिल्लो र पछिल्लो दिन टिक्ने क्रममा लगिएका विभिन्न पूजा सामग्री नजिकको नदी, खोलामा सेलाउन जान्छन् । त्यहाँबाटै उनीहरू नुहाएर घर फर्कन्छन् ।

उता, घरमा व्रतालु महिलाहरूका परिवारजनले भात, खरिया, फुलौरी, माछाको सुकुटी, तरकारी, आचारलगायत विभिन्न परिकार बनाएर तयार पारेका हुन्छन् । जुन परिकारलाई ती व्रतालु महिलाहरूले ‘फरहार’ गर्छन् । विभिन्न परिकारहरूको आधा भाग खानुभन्दा पहिलै टपरी तथा दुनामा छुट्याएर राख्नुलाई थारु समुदायमा फरहार भनिन्छ । फरहार पश्चातमात्रै व्र्रतालु महिलाहरूले खाना खान्छन् । यसरी फरहारको क्रममा दुना र टपरीमा छुट्याएर राखिएका परिकारलाई आफ्नो विवाहित चेलीबेटीहरूलाई अग्रासन (कोसेली) को रुपमा दिन जाने प्रचलन समेत रहँदै आएको छ । यसरी एकातिर, थारु समुदायमा अष्टिम्की पर्व असत्यमाथि सत्यको जीतको खुसियालीको रुपमा मनाइन्छ भने अर्कोतिर, विवाहित चेलीहरूलाई अग्रासन दिन जाने प्रचलनले समाजमा भाइचाराको भावना जागृत गर्दै आएको थारु बृद्धिजीवीहरूको कथन छ । पछिल्लो समय थारु वस्तीमा सार्वजनिक स्थलमा मनाइन थालिएको छ । कैलालीको धनगढी उपमहानगरपालिकास्थित थारु छात्रवास, जाइको देउथनुवालगायत स्थानमा मनाइने तयारी गरिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप