शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चर्चित टिकटक स्टार खमी लामेले इटालियन नागरिकता पाए

शुक्रबार, ०३ भदौ २०७९, १८ : ०९
शुक्रबार, ०३ भदौ २०७९

विश्वका सबैभन्दा चर्चित टिकटकर खबी लामे इटालीको नागरिक भएका छन् । उनका व्यंग्यात्मक, आवाजविहीन साना भिडियो क्लिपहरू विश्वभर चर्चित छन् । उनी टिकटकमा सबैभन्दा धेरै फलोअर भएका व्यक्ति हुन् । 
‘म गणतन्त्र इटालीप्रति बफादार हुने र संविधान तथा राज्यको कानून पालना गर्ने कसम खान्छु ,’ लामेले यस हप्ता ट्युरिन नजिक रहेको सहर चिभासोमा अधिकारी अघि शपथ खाँदै भने । लामेको परिवार उनी सानै छदा सेनेगलबाट इटाली सरेको थियो । उनको परिवार इटाली आउँदा उनी एक वर्षका मात्र थिए ।

पुरा नाम ‘खबाने सेरिग्ने लामे’ रहेका उनले सन् २०२० देखि टिकटक बनाउन थालेका थिए । महामारीको पहिलो लकडाउनमा उनले जागिर गुमाएपछि टिकटक बनाउन थालेका थिए । दुई वर्षको छोटो समयमा उनले विश्वव्यापी स्टारडम कमाइसकेका छन् । टिकटकमा हाल उनका १४.८ करोड फलोअर्स छन् र उनी टिकटकमा धेरै फलोअर्स हुनेमा पहिलो स्थानमा छन् । 

‘मेरो अनुहार र मेरो अभिव्यक्तिले मानिसलाई खुसी बनाउँछ,’ लामेले गत वर्ष न्यू योर्क टाइम्ससँगको वार्तामा भनेका थिए । उनले आफ्ना अनुहारमा व्यक्त हुने भावहरु ‘विश्वव्यापी भाषा’ भएकाले सबैले बुझ्ने बताए । 
नागरिकता लिएपछि उनले आफूलाई ‘गर्व महसुस भएको’ प्रतिक्रिया दिएका थिए । ‘नागरिकता लिनुअघि नै म आफूलाई इटालियन महसुस गर्थेँ । मलाई यो भन्दा अन्य अनुभव नै छैन, म सधैं यही मुलुकमा छु । तर शपथले थप ठूलो जिम्मेवारी महसुस गराएको छ ,’ लामेले भने । 

लामेले नागरिकता लिएपछि बोल्ने क्रममा इटालीमा आप्रवासीहरूका लागि नागरिकताको जटिल बाटो तर्फ पनि इंगित गरे । इटालीमा जन्मिएका आप्रवासीका सन्तानहरुले लगातार देशमा बसिरहे भने १८ वर्षपछि इटालीको नागरिकता पाउँछन् । तर लामेजस्ता अन्यत्र जन्मिएका मानिसहरूका लागि यो प्रक्रिया निकै जटिल छ । 
‘यति वर्षसम्म इटालियन संस्कृतिबीच हुर्केको व्यक्तिलाई नागरिकताको अधिकारबाट बन्चित गर्नु ठीक होइन । यो मैले आफ्नो लागि मात्र बोलेको होइन मजस्ता धेरैको पक्षबाट बोलेको हुँ ,’ उनले इटालियन दैनिक पत्रिका ‘ला रिपब्लिका’सँग भने । 
सीबीएसन्युजबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप