सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

रामेछाप एमालेमा टिकट लिन दर्जनको दौड : कैलाश र माधवको टक्कर !

शुक्रबार, ०३ भदौ २०७९, १६ : १४
शुक्रबार, ०३ भदौ २०७९

निर्वाचन मिति नजिकिएसँगै विभिन्न पार्टीका नेता कार्यकर्ताबीच टिकट हत्याउन रस्साकस्सी सुरु भएको छ । त्यसका लागि प्रमुख पार्टीका शीर्ष नेताहरु रिझाउन उम्मेदवारका आकांक्षीहरूले भए भरको शक्ति परिचालन गर्न थालेका छन् ।

सत्ता गठबन्धन एकातिर र नेकपा एमाले अर्कोतिर भएर चुनावी प्रतिस्पर्धा हुने निश्चित भएपछि अन्य जिल्लामा जस्तै रामेछापमा पनि कुन पार्टीबाट कसले टिकट पाउला भन्ने मात्रै नभई जित हारको आंकलन समेत हुन थालेको छ । एक निर्वाचन क्षेत्र रहेको रामेछापमा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यको टिकट हात पार्न झण्डै एक दर्जन नेता दौडमा रहेका छन् ।

को–को छन् दौडमा ?
२०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट माओवादीका श्याम श्रेष्ठ निर्वाचित भएको रामेछापमा यो पटक राजनीतिक समीकरण भिन्न छ । अघिल्लो निर्वाचनमा एकै ठाउँ भएका एमाले र माओवादी हाल फरक–फरक समीकरणमा छन् ।

माओवादी काँग्रेससँगको गठबन्धनमा छ भने एमाले त्यसको विपक्षमा । यस्तो अवस्थामा रामेछापबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको टिकट पाउन हत्याउन कमल चौलागाई, कैलाश ढुंगेल, माधव ढुंगेल, गीता कार्की, शान्तिप्रसाद पौडेल, प्रेम तामाङ, आनन्दप्रसाद श्रेष्ठ, पुरुषोत्तम कडरिया, रत्ना गौतम, इन्द्रप्रसाद तामाङ र नाम्गेल शेर्पा लगायत दौडमा छन् ।

चौलागाई एमाले पोलिटब्युरो सदस्य हुन् भने कैलाश, माधव र गीता केन्द्रीय सदस्य हुन् । गीता मनोनित केन्द्रीय सदस्य मात्रै हुन् । पौडेल प्रदेश सांसद र तामाङ पूर्व गाविस अध्यक्ष तथा हाल प्रदेश कमिटी सदस्य हुन् । त्यसैगरी श्रेष्ठ पार्टी अध्यक्ष र कडरिया सचिव हुन् । गौतम प्रदेश कमिटी सदस्य हुन् भने इन्द्र प्रदेश सदस्य र नाम्गेल शेर्पा संघका अध्यक्ष हुन् ।

टिकटको दौडमा रहेका चौलागाई पोर्टफोलियोमा सबैभन्दा अगाडि रहेपनि उनको टिकटमा रेश धीमा गतिमा छ । त्यसपछि दोस्रो र तेस्रो स्थानमा रहेका कैलाश र माधवबीच टिकटका लागि अन्तिम प्रतिस्पर्धा हुने रामेछाप एमाले नेता कार्यकर्ताको बुझाई छ । कैलाश र माधव दुवै एमाले अध्यक्ष ओली निकट मानिन्छन् ।

कैलाश २०४८ सालदेखि मैदानमा छन् भने माधव योपटक पहिलो चोटी संसदीय प्रतिस्पर्धामा उत्रिँदैछन् । नाताले कैलाश दाजु र माधव भाइ भएपनि यी दुईको उमेर बाबुछोरा सरह छ । उनीहरुको गाविस पनि एउटै हो । दुवै खाँडादेवी गाउँपालिकाका हुन् । २०४८ सालको संसदीय निर्वाचनमा टिकट पाएर पनि कमल चौलागाईंलाई छोडेका कैलाश ४९ मा गाविस अध्यक्षमा उठेर पराजित भएका नेता हुन् ।

 त्यस्तै ५१ र ५४ मा पनि उनले प्रतिस्पर्धा गरे भने ५४ मामात्रै गाविस अध्यक्ष जित्न सफल भए । सोही वर्ष जिविस सभापति समेत भएका उनी ५६ को संसदीय निर्वाचनमा चुनाव नै लडेनन् । ६४ र ७० मा भएका निर्वाचनमा उनी पराजित बने । २०७४ मा वाम गठबन्धनका बलमा प्रदेशसभा सदस्य जितेका उनी पछि प्रदेशको अर्थमन्त्री समेत भए । झण्डै ८ पटक चुनाव लडेका उनी २ पटकमात्र चुनाव जित्न सफल भएको अवस्थामा उनलाई चुनौती दिन माधव अग्रसर भएका छन् । युवा पुस्तामाझ परिचित माधव राष्ट्रिय युवा परिषदको उपाध्यक्ष समेत भैसकेका छन् ।

विद्यार्थी राजनीतिबाट पार्टी संगठनमा लागेका उनी अनेरास्ववियुको महासचिव हुँदै अध्यक्ष समेत भएर जिम्मेवारी निर्वाह गरेका कारण युवा पुस्ता माझ माधवको बढी क्रेज रहेको बताउनेहरू पनि उत्तिकै छन् । सालिन र भद्र स्वभावका माधव एमालेको तीन कार्यकालदेखि केन्द्रीय सदस्य निर्वाचित हुँदै आएका छन् ।

युवा परिषदमा रहँदा उनले गरेको काम र पेश गरेको कार्ययोजना पार्टीले नै स्वीकृत गरेर पार्टीको अंगको रुपमा मान्यता पाउनुका साथै देशभरका युवालाई नेतृत्व विकासमा सहयोग पुगेको माधवको दावी छ । एमाले अध्यक्ष ओली निकट एक नेता भन्छन्, ‘रामेछापबाट कैलाश र माधवमध्ये एकले प्रतिनिधि सभाको टिकट पाउने निश्चित छ । तर दुवैले अडान नछोडे र सहमतिमा नआए तेस्रो व्यक्तिको खोजी हुनेछ । त्यसबेला शान्ति पौडेललाई चिट्ठा पर्नसक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप