बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नवौं राष्ट्रिय खेलकुदको तयारी तीव्र पार्दै प्रदेश र विभागीय टोली

शुक्रबार, ०३ भदौ २०७९, १५ : ४६
शुक्रबार, ०३ भदौ २०७९

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुँदैछ । असोज २८ देखि कातिक ३ गतेसम्म हुने प्रतियोगिताका लागि सबै प्रदेशले छनोट थालिसकेका छन् । प्रतियोगिताका लागि विभागीय टोली पनि तयारी अवस्थामा छन् । दुई पटक मिति तोकेर सरेको प्रतियोगिता अब तेस्रो पटक तोकिएको मितिमै हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद्हरुले तयारी समय नपुगेको भनेपछि दोस्रो पटक प्रतियोगिता सरेको थियो । तर, प्रतियोगिताको तयारी भने अहिलेसम्म विभागीय टोली बाहेकले थालेका छैनन् । सबै खेलमा सहभागिता

जनाउने योजनामा बागमती प्रदेश

बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदका सबै स्पर्धामा सहभागिता जनाउने योजना बनाएको छ । प्रदेशका खेलाडीलाई ४५ दिनको बन्द प्रशिक्षणमा राख्ने योजनासमेत बनिसकेको छ । त्यसका लागि प्रदेशले भदौ १५ गतेसम्म खेलाडी छनोट गरिसक्ने  बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्य भण्डारीले जानकारी दिए ।

उनले अन्य प्रदेशको तुलनामा आफूहरुले धेरै पदक ल्याउने अपेक्षा गरेको हुनाले पनि प्रतियोगिताका लागि अहिलेदेखि नै तयारी थाल्ने र बन्द प्रशिक्षणमा राख्ने योजना बनाएको बताए । ‘प्रतियोगिताका लागि हामीले यही १५ गतेसम्म तयारी गरिसक्ने योजना बनाएका छौं । त्यसका लागि हामी तयारी अवस्थामा छौं । १५ गतेसम्म छनोट सकियो भने हामी खेलाडीलाई ४५ दिनको बन्द प्रशिक्षणमा राख्नेछौं,’ भण्डारीले रातोपाटीसँग भने ।

त्यस्तै बागमतीले पहिलो बागमती प्रदेश खेलकुदमा समावेशमध्ये ७ खेलका खेलाडीको प्रदेश छनोटको मापदण्ड तयार पारेको छ । बागमतीले प्रदेश खेलकुदमा समावेशमध्ये भलिबल, फुटबल, क्रिकेट, कराते, तेक्वान्दो, एथलेटिक्स र बक्सिङ खेलका खेलाडी छनोटको मापदण्डमा ६ आधार तयार पारेर अघि बढेको छ ।

पदक जित्ने सम्भावनाका खेलमा मात्र सहभागी हुने कर्णालीको योजना

राष्ट्रिय खेलकुद प्रतियोगितामा यो पटक बलियो बन्ने योजनामा रहेको कर्णाली प्रदेशले भदौ २५ गतेसम्म खेलाडी छनोट गरिसक्ने योजना बनाएको छ ।

नवौं खेलकुद प्रतियोगितामा पदक जित्न सक्ने प्रतियोगिताहरुमा मात्र सहभागिता जनाउने प्रदेश खेलकुद परिषद्को योजना छ । जसका लागि ११ खेललाई मुख्य प्रथामिकतामा राखेको प्रदेश खेलकुद परिषद्का सदस्यसचिव बीएम सञ्ज्यालले जानकारी दिए ।

‘प्रतियोगितामा धेरैभन्दा धेरै खेलमा सहभागिता जनाउने योजना बनाएका छौं । अहिले ११ खेललाई प्रथामिकतामा राखेका छौं । सबै खेलका लागि प्रदेशस्तरीय छनोट भदौ २५ गतेसम्म सक्नेछौं । त्यसपछि तयारी हुनेछ,’ उनले रातोपाटीसँग भने ।

कर्णाली प्रदेश नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सबैभन्दा कमजोर टोली थियो । कर्णाली प्रदेशले उक्त प्रतियोगितामा स्वर्ण पदक जित्न सकेको थिएन ।

विभागीय टोली एपीएफ २३ खेलमा सहभागी हुने टुङ्गो

विभागीय टोली एपीएफले हालसम्म २३ खेलमा मात्र सहभागिता जनाउने योजना बनाएको छ । अहिलेसम्म एपीएफले त्यसकै लागि तयारी थालेको छ ।

एपीएफका खेलकुद विभागका विजय केसीले दिएको जानकारी अनुसार अहिलेसम्म २३ खेलमा सहभागी हुने टुङ्गो लागेको छ । अवसर जुरेमा त्योभन्दा धेरै खेलमा सहभागिता जनाउन पनि सकिने उनले बताए ।

‘प्रतियोगितामा सहभागिता जनाउने हालसम्म २३ खेलको मात्र टुङ्गो लागेको छ । बाँकी खेलको विषयमा हामी छलफलमै छौं,’ उनले भने ।

आयोजक गण्डकी प्रदेशलाई धेरै सफलताको अपेक्षा

करिव ४० वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न लागेको आयोजक गण्डकी प्रदेश यतिबेला तीव्र तयारीमा लागेको छ । गण्डकी आयोजक भएका हिसावले भएका कारण नै प्रतियोगितामा धेरैभन्दा धेरै पदक ल्याउने तयारीमा छ ।

२०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना भएको थियो । सो प्रतियोगितामा गण्डकी प्रदेशले २९ स्वर्ण जितेको थियो ।

अहिले गण्डकी प्रदेशले धेरै खेलकुद प्रतियोगितामा सहभागिता जनाएर धेरै पदक जित्ने योजना बनाएको छ । आफूनै आयोजक भएको खेलमा धेरै स्वर्ण जित्ने योजना बनाएको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेज गुरुङले जानकारी दिए ।

‘हामी नै आयोजक भएका कारण प्रतियोगितामा धेरै पदक जित्ने योजना बनाएका छौं । ४० वर्षपछि यहाँ हुन लागेको प्रतियोगितामा हामीलाई उत्साहित पनि बनाएको छ । त्यसका लागि हामीले धरै प्रतियोगितामा सहभागिता जनाउने योजना बनाएका छौं,’ उनले रातोपाटीसँग भने ।

गण्डकी प्रदेशले नवौं खेलकुद प्रतियोगिताका कास्की बाहेकका जिल्लामा गर्ने योजना बनाएको छ । पौडी र क्रिकेट प्रतियोगिता भने काठमाडौंमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप