एक सय भन्दा बढीलाई रोजगारी दिएका मनोज : जसलाई कोरियाले दुःख गर्न सिकायो
दुःख के हो ? त्यो भोग्नेलाई थाहा हुन्छ । समयको महत्त्व कति हुन्छ, त्यो एक सेकेण्डको अभावमा पीडा भोगेकालाई थाहा हुन्छ । हो, बारा निजगढका मनोज भारतीलाई त्यही दुःखको भोगाई र समयको महत्व कोरियाले राम्रो पाठ सिकाएको छ । सायद नेपालमै बसेको भए उनले आफ्नो उडान यतिसम्म भर्न सक्ने थिएनन् । उनको उडानको गति असीमित बनिरहेको छ । निरन्तर एकपछि अर्को सफलता हात पार्दै आएका छन् ।
विदेशबाट फर्किएकाहरूले भन्ने एउटै कुरा हुन्छ– नेपालमा केही छैन, केही गर्न सकिदैन । तर, मनोजले यी सबै कुरालाई गलत सावित गरिदिएका छन् । ६ वर्ष दक्षिण कोरियामा पसिना बगाएर त्यसपछि नेपाल फर्किएका उनी भन्छन्, ‘कोरियाले दुःख गर्न सिकायो । त्यही सीप सिकेर नेपाल आएर दुःख गर्न थाले ।’
कोरिया बस्दा उनी कति दिन त रोएरै बिताए । त्यहाँ कामदारमाथि गरिने व्यवहार, दुःख सबै उनको मनमा अझै पनि ताजै छ । तर, अन्तिममा एकमुष्ट तलब आउँदा भने काम गर्न थप प्रेरणा मिल्थ्यो । त्यही भोगाइ अहिले नेपालमा व्यवहारमा परिणत गर्दै आएका छन् । अहिले उनलाई ‘हावामा पैसा उडिरहेको छ । त्यो टिप्न जान्नुपर्छ’ भन्ने भनाइ साँच्चै हो कि जस्तो लागिरहेको छ ।
काठमाडौंमा गार्मेन्ट पसल
कोरिया बसेर नेपाल फर्किएका मनोजले काठमाडौंमा गार्मेन्ट पसल खोले । अहिले त्यही गार्मेन्टबाट उनले एक सय जना भन्दा बढीलाई रोजगारी दिइरहेका छन् । २०३१ सालमा चितवनमा जन्मिएका मनोज २ वर्षको हुँदा उनको परिवार बाराको निजगढ बसाइँ सर्यो । विद्यालय शिक्षाको औपचारिकता एसएसलसी सम्मको पढाई गरेका मनोज व्यवसायमा भने निकै सफल उद्यमी भइसकेका छन् ।
काठमाडौंमा फिटवेल गार्मेन्ट प्रालि सञ्चालन गर्दै आएका मनोजले अहिले मासिक २० लाख भन्दा बढीको आम्दानी गर्छन्, त्यो पनि सबै खर्च कटाएर । साढे तीन लाख खर्च गरेर कोरिया पुगेका उनी सन् २०११ को डिसेम्बरमा नेपाल फर्किए ।
कोरिया बसाइँको क्रममा उनले सुरूमा कपडा उत्पादन गर्ने टेक्स्टाइल कम्पनीमा काम गरे । ६ महिना काम गरेपछि त्यो कम्पनी स्लो हुँदै गयो र उनले कम्पनी छोड्नुपर्ने भयो । त्यसपछि उनी नटबोल्ड बनाउने कम्पनीमा काम गर्न थाले । त्यहाँ पनि ६ महिना मात्र काम गर्न पाए । त्यसपछि उनी जहाज बनाउने कम्पनीमा काम गर्न थाले । त्यहाँ पेन्टिङ गर्थे ।
कोरिया जाँदा उनी सामान्य लेबरको रूपमा गएका थिए । जसले गर्दा उनले बढी दुःख पाए । तर, उनले हरेश खाएनन् । कोरिया जाँदा उनी ३३ वर्षका युवा थिए । १२ देखि १४ घण्टासम्म दैनिक काम गर्नुपथ्र्यो । त्यो बेला ६०÷७० हजार तलब हुन्थ्यो ।
६ वर्षको अवधिमा उनी मात्र एक पटक घर आए । फर्किने बेला उनले सोचिसकेका थिए– ‘अब नेपाल गएर केही न केही गर्नुपर्छ ।’कोरिया बसाइँको क्रममा उनी एक पटक अमेरिका घुम्न गएका थिए । १० दिनका लागि अमेरिका पुगेका उनलाई धेरैले उतै बस्न सुझाए । तर, उनी बसेनन् ।
कोरिया बस्दा उनलाई श्रम गर्नुपर्ने रहेछ, काम सानो ठूलो भन्ने हुँदैन, काम गरेरै सफल भइन्छ भन्ने सिकायो । त्यसैले, नेपाल आएको तीन महिनामै उनी व्यवसाय गर्नतिर लागे । त्यसका लागि ५ जना पार्टनर थिए । सबैले १०÷१० लाख रूपैयाँ लगानी गरे । र, ५० लाखको लगानीमा गार्मेन्ट उद्योग खोले ।
सुरूवाती व्यवसाय भएकाले थोरै थोरै काम आउँथ्यो । र, पनि ठिकै चलिरहेको थियो । त्यही बेला चीनबाट कपडा ल्याउने योजना बन्यो । तर, चीनबाट कपडा ल्याएपछि कम्पनी टाट पल्टियो । घाटामा गयो ।
‘चीनबाट जिन्स पाइन्टको कपडा लिएर आयौं । त्यो वास गर्दा कपडा घट्यो अनि घाटामा गयौं । त्यसपछि पार्टनरहरूले छोडे । तर, मैले हिम्मत हारिनँ । साथीहरूले छोडेपछि एक्लैले पैसा थपेर काम अगाडि बढाएँ ।’ मनोजले भने ।
जब उनी एक्लै अगाडि बढे, दिनप्रतिदिन सफल हुँदै गए । अहिले उनले १० करोडको हाराहारीमा लगानी गरिसकेका छन् ।
मासिक २० लाख भन्दा बढी आम्दानी
अहिले उनीसँग ८० वटा मेसिन छन् । मासिक २० लाख भन्दा बढी आम्दानी भइरहेको छ, त्यो पनि सबै खर्च कटाएर । रोचक कुरा त के छ भने विदेशबाट फर्किएकाहरू समेत उनको कम्पनीमा काम गरिरहेका छन् ।
उनको गार्मेन्टमा काम गर्नेहरूले ५० हजारदेखि १ लाख रूपैयाँसम्म मासिक तलब लिइरहेका छन् । उनलाई अचेल कामको भ्याई नभ्याई छ । उनले विदेशमा पनि सामान निर्यात गर्ने सोच बनाएका छन् । तर, अहिले त स्वदेशको माग नै धान्न सकिरहेका छैनन् ।
आफ्नै ब्राण्ड बनाउने सोच समेत बनाइरहेका उनको बानेश्वर, लोत्से मल, हलचोक र एनबीटीसी गरी चार ठाउँमा पसल छन् । अब उनको टार्गेट बुटवलतिर छ । बुटवलतिर उद्योग विस्तार गरेर विदेशबाट फर्किएकाहरुलाई जिम्मा दिने उनको सोच छ ।
सुरू सुरूमा उनलाई डिमाण्ड दिनेहरू डराउँथे । अहिले भने ‘मनोजलाई दियो भने समयमै पुरा हुन्छ’ भन्ने विश्वास दिलाइसकेका छन् । उनले धेरै वर्ष लेबरी गरेकाले होला गार्मेन्टमा काम गर्ने कामदारहरूको पीर मर्का बुझ्छन् ।
‘कामदारहरू खुशी भए मेरो काम राम्रोसँग चल्छ । म पहिला आफैं लेबरी गरेको हुनाले लेबरहरूसँग कसरी काम गर्नुपर्छ ? कसरी बस्नुपर्छ भन्ने हेक्का छ, त्यही अनुसारको व्यवहार गर्छु,’ उनले आफ्नो सफलताको राज बताए ।
गत वर्षको होलीमा गोरखा बु्रअरीले एक लाख होलीको टिसर्ट अर्डर गरेको थियो । त्यो उनले एक महिना अवधिमा बनाएर दिए । त्यस्तै चुनावमा एक महिनाको बीचमा ८० हजार थान म्यादी प्रहरीको ड्रेस बनाउने अर्डर आएको थियो, त्यो उनले समयमा पुरा गरे ।
उनले यो व्यवसायका लागि बैंकबाट लोन लिएका छन् । ‘१० करोड जति लोन छ । लोन थप पाइयो भने अझै विस्तार गर्ने योजना छ । मलाई लोन लिन डर लाग्दैन । किनकि कमाई हुन्छ भन्ने मलाई थाहा छ ।’ उनले भने ।
उनलाई छोरा र श्रीमतीले समेत काममा सघाउँछन् । यसरी उनलाई काम गर्न थप सहज भइरहेको छ । आफ्नो सफलताको पछाडि घर परिवारको ठूलो हात रहने उनको बुझाई छ ।
१० वर्ष अगाडि उनको आर्थिक हैसियत सामान्य थियो । अहिले उनी महँगा गाडी चढेर हिँड्छन् । त्यसको पछाडि उनको आफ्नो मिहेनत र दुःख हो ।
‘अरूले महँगा गाडी चढ्दा आफू सामान्य गाडी चढ्नुपर्ने अवस्था थियो । अहिले भने सोचेजस्तो गाडी चढ्न सक्ने हैसियत बनाएको छु । त्यो सबै मिहेनतको फल हो,’ उनले भने ।
सामाजिक कार्यमा उत्तिकै सक्रिय
उनले जति कमाउँछन्, त्यसको केही हिस्सा सामाजिक कार्यमा खर्च गर्छन् । त्यसको पछाडि प्रेरणाको स्रोत उनको आमा हुन् ।
‘५० लाख कमाइयो भने २५ लाख त सामाजिक कार्यमै खर्च गर्छु । त्यो भने मेरो इच्छा पनि हो । कोरिया बस्दा नै मैले भोलि राम्रो पैसा कमाएँ भने सामाजिक कार्य गर्छु भन्ने सोचेको थिएँ,’ उनी भन्छन्, ‘त्यसका लागि मेरो आमा नै प्रेरणा हो । आमाले पनि धेरै काम गर्नु हुन्थ्यो । पैसा नहुँदा पनि अरुको लागि, समाजको लागि दौडिरहनुहुन्थ्यो ।’
उनले गत असारमा मात्रै बाराका तीन पालिकाका १ हजार २ सय घरधुरीलाई झुल र पोलार ब्ल्याङ्केट सहयोग गरेका थिए । जसमा प्रति परिवार ३ थान झुल र १ थान पोलार ब्ल्याङ्केटसहितको राहत प्याकेट थियो ।
उनी आफ्नो सफलताको पछाडिको कारण ६ वर्ष कोरियाको बसाइँलाई दिन्छन् । भन्छन्,‘कोरियाले आफ्नै देशमा खोरिया फाँड्न सिकायो ।’
यसअघि समाचारको शीर्षकमा मनोज हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ-सम्पादक